logo

bar

उल्झनको फर्स्टलुक प्रदर्शन, बेल्जियममा हुँदै छ प्रिमियर

नयाँ पत्रिका काठमाडौं, १८ मंसिर | पुष १८, २०७४

निर्देशक राजु अधिकरीले नयाँ वर्ष सन् २०१८ को अवसर पारेर सोमबार आफ्नो नयाँ फिल्म ‘उल्झन’को फस्र्टलुक पोस्टर सार्वजनिक गरेका छन् ।

उल्झनको प्रिमियरको चाँजोपाजो मिलाउनका लागि केही दिनअघि युरोप पुगेका निर्देशक राजुले ‘ह्याप्पी न्यु इयर’ भन्दै बेल्जियमबाट उल्झनको पोस्टरसहित नेपाल प्रदर्शन मिति ‘आउट’ गरेका हुन् ।

फेब्रुअरी ४ मा बेल्जियमको एन्टवर्पमा रेड कार्पेट प्रिमियर गरिने फिल्म नेपालमा भने चैत्र २ गतेदेखि प्रदर्शनमा आउनेछ । पोस्टरमा रजनी केसी, ध्रुव दत्त र बेनी ढुंगानालाई प्रस्तुत गरिएको छ ।

युरोपका साथै काठमाडौंका विभिन्न स्थानमा खिचिएको फिल्ममा रजनी, ध्रुव, बेनी, रामचन्द्र अधिकारी, तेजेन्द्र कँडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

त्रिकोणात्मक प्रेमकथामा रहेको उल्झन लक्ष्मण घिमिरे र निर्देशक राजु आफैँले खिचेका हुन् । बेल्जियम निवासी उल्झनका प्रमुख एक अभिनेता बेनीले आफूहरूले फिल्मलाई युरोपका विभिन्न देशमा प्रदर्शन गर्ने तयारी गरेको बताएका छन् ।

‘बेल्जियममा थुप्रै सो गर्दै छौँ,’ अनलाइन कुराकानीमा उनले भने, ‘हामी उल्झनलाई बेल्जियमका साथै स्पेन, हल्यान्ड, पोर्चुगललगायत युरोपका थुप्रै देशमा प्रदर्शन गर्नेछौँ । आफ्नो अभिनय कला त सबैलाई देखाउनुपर्यो नि !’

बेनी आफू उल्झनबाट निकै आशावादी रहेको बताउँछन् । बेल्जियमपछि लगत्तै उल्झनको लन्डनमा सो गरिने कार्यक्रम तय भएको निर्देशक राजुले बताए ।

प्रिमियर सोमा अभिनेत्री रजनी तथा अभिनेताद्वय ध्रुव र बेनी पनि उपस्थित हुने बताइएको छ । तेजेन्द्र कँडेल प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता नारायण ढुंगाना र निर्मातामा नवीन अधिकारी र हरिकृष्ण कार्की छन् । फिल्मको गीत तथा ट्रेलर केही दिनपछि सार्वजनिक गरिने निर्देशक राजुले बताएका छन् ।

तपाईको प्रतिक्रिया