logo

bar

…अनि बच्चा संवेदनहीन

नयाँ पत्रिका काठमाडौं, १८ पुस | पुष १८, २०७४

डा. आदर्श त्रिपाठी
साइक्याट्रिक्स
बच्चाले के काम राम्रोसँग गर्न सक्छ ? उसको रुचि केमा छ ? यस्तो विषयमा चासो नलिई अभिभावक आफ्नो बच्चा पढाइमा टपर भएको देख्न चाहन्छन् । यदि पढाइमा कमजोर भएमा अत्यन्त दबाब पनि दिन्छन् । पढाइमा कमजोर भए अरू थुप्रै सुविधाबाट पनि वञ्चित गर्न थाल्छन् । यसो गर्दा बच्चा निराश र कुण्ठित हुन थाल्छ र नकारात्मक परिणाम देखा पर्छ । दाबाबकै कारण बच्चा हिंस्रक पनि देखिन्छ वा भनौँ बच्चा संवेदनहीन बन्दै जान्छ । यस्तो परिस्थितिबाट बच्चालाई कसरी बचाउने त ? केही उदाहरणसहितको सामग्री :

उदाहरण १
१० कक्षा पढ्ने एक बालकले आमालाई नै हमला गर्‍यो । जसको कारण आमा गम्भीर घाइते भइन् । त्यसपछि उसको बाबा परामर्शदाताकहाँ पुगे । त्यसपछि मात्र पत्ता लग्यो कि बच्चाले आमामाथि हमला गर्नुको कारण । टेलिभिजन र मोबाइल गेमबाट उसले हिंसात्मक गतिविधि सिकेको रहेछ । त्यसैले बच्चालाई हिंसात्मक व्यवहार र वातावरणबाट जोगाउन आवश्यक छ । यदि बच्चाले स्कुलमा ग्याङफाइट, कुटपिटलगायतका हिंसात्मक गतिविधि गरेमा त्यस विषयमा ध्यान दिन जरुरी हुन्छ ।

उदाहरण २

उदहरण २ : यो सम्भव छैन कि हरेक बालबालिका पढाइमा टपर होस् । कुनै बच्चाले जुनसुकै काम गरेर नाम कमाउन सक्छ । तर, आफ्नो छोरालाई पढाइमा मात्र केन्द्रित रहन दबाब दिँदा दिल्लीमा एउटा दुःखद घटना भएको छ । एक डाक्टर परिवारले छोरालाई पनि डाक्टर नै बनाउन चाहन्थे । त्यसैले १२ कक्षा पढ्ने किशोरलाई पढाइमा अब्बल नम्बर लिनका लागि दबाब दिइरहन्थे । तर, पूर्वपरीक्षामा ती विद्यार्थीले लगातार खराब नतिजा ल्याए । एक दिन पढ्ने समयमा चित्र बनाइरहेको बाबुले देखे । अनि घरबाट निकालिदिए । जसले विद्यार्थीमा ठूलो मानसिक चोट पुग्न गयो । घर फर्केपछि उक्त विद्यार्थीमा एकल स्वभाव देखिन थाल्यो । केही समयपछि उसले मानसिक सन्तुलन नै गुमायो । जब साइकोलोजिस्टले उसको रुचिबारे अध्ययन ग¥यो अनि थाहा भयो, विद्यार्थी डाक्टर होइन, चित्रकार बन्न चाहन्थ्यो । र, निकै राम्रो चित्र पनि बनाउँथ्यो । तर, परिवारको डरले आफ्नो डरबारे खुल्न सकेको थिएन ।

उदाहरण ३

उदाहरण ३ : एक विद्यार्थी ११ कक्षामा फेल भयो । त्यसपछि अभिभावक र शिक्षकको बैठकमा उसलाई अपमानित गरियो । घरमा पुगेपछि उसको भाइले पनि निकै चिड्याउन थाल्यो । घरमा फेल भएको नतिजा सुनाउने पनि भाइ नै थियो । परिवारले पनि दुई भाइबीच तुलना गर्न थाले । जसका कारण दुईबीच विवाद बढ्दै गयो । एक दिन दाइले भाइको हात नै भाँचिदियो । यसमा झट्ट हेर्दा उक्त घटना झगडाको कारण हुन पुगेको हो । वास्तवमा त्यो होइन । त्यो घटना त दाइको मनमा भएको कुण्ठाको परिणाम हो ।

सबैले ध्यान दिऔँ
यदि बच्चामा तनाव वा रिस छ भने त्यतिवेला खेलकुद वा अन्य क्रियाकलापतर्फ लगाउनुपर्छ । यसो गर्दा बच्चा सकारात्मक दिशातर्फ उन्मुख हुन सहयोग पुग्छ ।
एउटै कुरा लिएर बच्चालाई पटक–पटक आलोचना गर्नु हुँदैन । यसो गर्दा बच्चा उकुसमुकुस हुन थाल्छ र मानसिक रूपमा असर पर्छ । नकारात्मक कुरा सोच्ने, अरू साथीजस्तो बन्न हरसम्भव प्रयास गर्ने, काममा केन्द्रित हुन नसक्ने देखिएमा परिवार सचेत हुन आवश्यक छ ।
१४ देखि १८ वर्ष उमेरसमूहका बच्चा अत्यन्तै संवेदनशील हुन्छन् । यो अवधिमा बच्चाले भावनाको सही पहिचान गर्न सक्दैन । त्यसैले बच्चालाई कुराकानी गर्ने र मनका कुरा राख्ने वातावरण सिर्जना गर्न आवश्यक हुन्छ ।
बच्चाका लागि आमाबाबु रोलमोडल हुन्छन् । त्यसैले प्यारेन्ट्सका गतिविधिले बच्चाको भविष्य निर्धारण गर्छ ।

बच्चालाई नगर्नुस्
सबैभन्दा पहिला बच्चा कुन कुरामा रचनात्मक छ भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ । उसको क्षमता पहिचान गरी त्यसअनुसार अगाडि बढाउनु परिवारको पहिलो कर्तव्य बन्छ ।

कसैले मात्र पढाइमा राम्रो गर्न जरुरी छैन भन्ने कुरा परिवारले बुझ्न जरुरी हुन्छ ।

यदि बच्चाले कुनै क्षेत्रमा उल्लेखनीय काम गर्न सकेन भने पनि निरुत्साहित गर्नु हुँदैन । यस्तो व्यवहारले बच्चा नकारात्मक सोच्न थाल्छ । बच्चालाई कुनै कुरामा अत्यधिक दबाब दिनु हुँदैन । यसो गर्दा बच्चा तनावग्रस्त बन्छ र नकारात्मक काम गर्न थाल्छ ।

अकस्मात् रिसमा आएर बच्चालाई अपाच्य र तुच्छ गाली गर्नु हुँदैन । र, बच्चालाई अरू कसैसँग तुलना पनि गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया