logo

bar
logo
Advertisment
SKIP THIS

उद्योगलाई आयकर छुटका विषयमा विवाद

नयाँ पत्रिका काठमाडौं, १८ पुस | पुष १८, २०७४

उद्योगी भन्छन्– औद्योगिक व्यवसाय ऐनअनुरूप २० प्रतिशत छुट पाउनुपर्छ । सरकार भन्छ– आयकर ऐनबमोजिम नै कर 

उद्योगहरूले तिर्ने आयकरमा छुटका विषयमा सरकार र उद्योगीबीच विवाद भएको छ । औद्योगिक व्यवसाय ऐनको दफा २२ बमोजिम उत्पादनमूलक उद्योगहरूलाई आयकरमा २० प्रतिशत छुट दिने व्यवस्था छ । सो व्यवस्थाअनुरूप उत्पादनमूलक उद्योगले २० प्रतिशत कर छुट पाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । अघिल्लो वर्षको आयकर तिर्ने अन्तिम सीमा पुस मसान्त नजिकिँदै जाँदा उद्योगी र सरकारबीचको विवादले अन्योल सिर्जना गरेको छ ।

सो ऐनअनुरूप संसद्ले आयकर ऐनमा परिमार्जन नगरेकाले त्यो छुट तत्काल दिन नसकिने अर्थ मन्त्रालयको तर्क छ । औद्योगिक व्यवसाय ऐन र आयकर ऐनमा एकरूपता ल्याउन बाँकी रहेकाले अहिलेलाई आयकर ऐनअनुरूप नै कर उठाउने आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले बताए ।

सरकारले औद्योगिक व्यवसाय ऐनमा उत्पादनमूलक उद्योगलाई प्रोत्साहित गर्न आयकरमा २० प्रतिशत छुट हुने व्यवस्था गरेकाले उद्योगहरूले सोहीअनुसार नै आयकर तिर्ने नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले बताए । ‘कर कार्यालयहरूले कर छुट नहुने बताइरहेका छन्, तर औद्योगिक व्यवसाय ऐनमा भएका व्यवस्था अन्य कानुनले पनि काट्न नसक्ने भएकाले कुल आयकरमा २० प्रतिशत घटाएर हामी बुझाउँछौँ,’ उनले भने । ऐनको दफा ५४ मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि यस ऐनमा लेखिएजति कुरामा यसै ऐनबमोजिम हुनेछ भन्ने व्यवस्था छ ।

यस विषयमा अर्थ मन्त्रालयका राजस्वसचिव शिशिरकुमार ढुंगानासँग छलफल भएको वरिष्ठ उपाध्यक्ष गोल्छाले जानकारी दिए । ‘संसद्ले बनाएको कानुन सरकारले पालना गरेन भने सरकारको विश्वसनीयता नै रहन्न,’ उनले भने, ‘हामीले यही कुरा सरकारी अधिकारीलाई राखेका छौँ।’

औद्योगिक व्यवसाय ऐनमा कर छुट दिइएको विषयमा निजी क्षेत्रले चासो राखे पनि तत्काल उनीहरूले भनेअनुसार गर्न सकिने अवस्था नरहेको विभागका महानिर्देशक कार्कीले बताए । ‘यो विषयलाई सम्बोधन गर्नुपर्नेछ, यससँग अन्य विभिन्न ऐन–कानुनका विषयमा पनि आयकर ऐनसँग एकरूपता ल्याउनुपर्नेछ । तर, यी सबै विषयलाई आगामी आर्थिक ऐन (बजेट)मार्फत मात्रै सम्बोधन गर्न सकिने अवस्था छ ।

एक साताभित्र स्पष्टता
औद्योगिक व्यवसाय ऐनले उत्पादनमूलक उद्योगलाई २० प्रतिशत आयकर छुट दिएको विषयमा के गर्ने भन्ने विषयमा एक साताभित्र आन्तरिक राजस्व विभागले स्पष्ट पार्ने अर्थ मन्त्रालयका राजस्वसचिव शिशिरकुमार ढुंगानाले बताए । ‘निजी क्षेत्रका प्रतिनिधिसँग छलफल भयो, यस विषयमा चाँडै स्पष्ट पारिदिनुस् भनेर मैले आन्तरिक राजस्व विभागलाई भनेको छु,’ ढुंगानाले भने । आयकरसम्बन्धी विषयमा अन्तिम व्याख्या गर्ने अधिकार आन्तरिक राजस्व विभागको महानिर्देशकलाई भएकाले उहाँले गर्ने व्याख्याका आधारमा कर उठाइने उनले बताए ।

औद्योगिक व्यवसाय ऐन २०७३ को व्यवस्था
दफा २२ : यस ऐनअन्र्तगत दर्ता भएको उद्योगलाई देहायबमोजिमको आयकर छुट, सुविधा वा सहुलियत प्रदान गरिनेछ :
(क) उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको दरमा २० प्रतिशतले छुट हुनेछ ।
(ख) सडक, पुल, सुरुङ, रोपवे, रेल्वे, ट्राम, ट्रलिबस, विमानस्थल, औद्योगिक संरचना एवं पूर्वाधार कम्प्लेक्सजस्ता निर्माणमूलक उद्योगमा लगानी गरी सञ्चालन गरेमा सोबाट प्राप्त आयमा लाग्ने करको दरमा ४० प्रतिशतले छुट हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु