logo

bar

पर्फेक्ट इनर्जीले साढे १९ मेगावाटको मध्यत्रिशूली बनाउने

नवदीप अजनबी/नयाँ पत्रिका नुवाकोट, १८ पुस | पुष १८, २०७४

पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालि काठमाडौंले नुवाकोटको बिदुर नगरपालिका–७ तुप्चेमा १९.४१ मेगावाटको मध्यत्रिशूली गंगा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । त्रिशूली थ्री ‘बी’बाट निकास भएको पानीलाई प्रयोग गरेर आयोजना निर्माण गरिने कम्पनीका प्रबन्ध निर्देशक भरतकुमार खड्काले बताए ।

सुरुमा ५५ मेगावाट क्षमताको प्रस्ताव गरिए पनि लगानीको तुलनामा आम्दानी न्यून हुने देखिएपछि १९.४१ मेगावाटमा झारिएको प्रबन्ध निर्देशक खड्काले बताए । उनका अनुसार आयोजना पूरा हुँदा लागत करिब ५ अर्ब रुपैयाँ पुग्नेछ । कम लगानीमा बढी आम्दानी हुने आयोजनाका रूपमा यसलाई स्थापित गरिने उनको भनाइ छ ।

किस्पाङ गाउँपालिका–५ मनकामना र उत्तरगया गाउँपालिका–५ को सीमामा झर्ने त्रिशूली थ्री ‘बी’को पानीलाई मध्यत्रिशूलीमा हालेर २ हजार ४ सय ६० मिटर लामो सुरुङ र ४ सय ५० मिटर पेनस्टक पाइपमार्फत तुप्चेको अक्करेमा निर्माण गरिने विद्युत् गृहमा ल्याई विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ ।

सार्वजनिक सुनुवाइ
आयोजनाले तुप्चेस्थित त्रिशूली नदी किनारमा गरेको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रिय रूपमा महत्व राख्ने जलविद्युत् आयोजना सञ्चालन र निर्माण कार्य निर्वाध रूपमा हुनुपर्ने बताए । उनले राष्ट्रिय आम्दानीको समेत स्रोत बन्न लागेको जलविद्युत् उत्पादनमा सम्पूर्ण नागरिकको सहकार्य, सहयोग र लगानी आवश्यक रहेको बताए ।

प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले व्यक्तिगत लाभ–हानि र स्वार्थका कारण यस्ता आयोजना प्रभावित हुन नहुने बताए । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनमा संलग्न कुमार पौडेलले तुप्चेमा उत्पादन गृह रहने उक्त जलविद्युत् आयोजनाले त्रिशूली थ्री ‘बी’बाट निकास भएको पानी प्रयोग गर्ने जानकारी दिए । आयोजनाले वातावरणमा कुनै प्रतिकूल असर नपार्ने उनको भनाइ छ ।

बेत्रावतीमा विरोध
उत्तरगया धाम क्षेत्र विकास समितिले उक्त परियोजनाका कारण बेत्रावतीमा पानी सुक्ने र त्यसले धार्मिक कार्यमा असर पर्ने भन्दै चर्को आलोचना गर्दै आएको छ । सार्वजनिक सुनुवाइ भइरहेको समयमा क्षेत्र विकास समितिले बेत्रावती बजारमा विरोधसभासमेत आयोजना गरेको थियो । तर, कम्पनीका प्रबन्ध निर्देशक भरतकुमार खड्काले आयोजनाका कारण उत्तरगया धाममा पानी नसुक्ने दाबी गरे । नदीमा कम्तीमा सात हजार लिटर पानी छाडिने प्रतिबद्धता व्यक्त गर्दै उनले उत्तरगया धामको बृहत् विकासका लागि गुरुयोजना पनि अघि सारेका छन् । आयोजना प्रभावित तथा अतिप्रभावित क्षेत्रका नागरिकहरूलाई रोजगारीदेखि क्षमताअनुसारको काममा खटाउने प्रतिबद्धता पनि आयोजनाले गरेको छ ।

तपाईको प्रतिक्रिया