logo

bar

नयाँ वर्षमा १७ हजार चालक कारबाहीमा

एजेन्सी नयाँदिल्ली, १८ पुस | पुष १८, २०७४

नयाँदिल्ली प्रहरीले ४ सय ३३ स्थानमा चेकिङ गर्दा नयाँ वर्ष मनाएका १७ हजार व्यक्ति मापसे कारबाहीमा-

नयाँदिल्लीमा नयाँ वर्ष २०१८ मा मादक पदार्थ सेवन गरी सवारी चलाएका १७ हजार चालक कारबाहीमा परेका छन् । नयाँदिल्ली प्रहरीले नयाँ वर्षमा मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने पूर्वअनुमान गरी आइतबार राति गस्ती कडा बनाएको थियो । प्रहरीले सोचेभन्दा बढी चालक मापसे चेकिङमा परेको जनाएको छ । मापसे चेकिङमा परेका धेरैजसो चालकले अत्यधिक मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

 

कारबाहीमा महिला बढी
मापसे चेकिङमा पुरुषको तुलनामा महिला बढी कारबाहीमा परेको वरिष्ठ प्रहरी अधिकृत पाठकले बताएका छन् । ‘ट्राफिक नियम सबैमा लागू हुन्छ, त्यसमा लिंग हेरिँदैन,’ उनले भने, ‘मापसे चेकिङमा सबैभन्दा बढी महिला कारबाहीमा परेका छन् ।’
प्रहरीले महिलामाथि धेरै कडा चेकिङ नगर्ने विश्वासका साथ उनीहरूले सवारी चलाएका थिए । ‘विशेषतः महिलाले सवारी चलाउँदा त्यति कारबाही हुँदैन भन्ने विश्वास उनीहरूले लिएका देखिन्थे तर मापसे गरी सवारी चलाउने सबै कारबाहीका भागिदार हुनुपर्छ,’ पाठक भन्छन्, ‘ट्राफिक नियम कुनै लिंगविशेषविरुद्ध छैन ।’ उनका अनुसार नयाँ वर्ष सुरु हुनुअघि सात सय ४५ जना व्यक्ति कारबाहीमा परेका थिए ।

४ सय ३३ स्थानमा चेकिङ
प्रहरीले नयाँदिल्लीमा मात्र चार सय ३३ स्थानमा बसी चेकजाँच गरेको थियो । मापसे चेकिङका लागि प्रहरीले एक सय २५ वटा यन्त्र प्रयोग गरेको थियो मादक पदार्थ सेवन गरी सवारी दुर्घटना नहोस् भनी नयाँदिल्ली प्रहरीले आइतबार नयाँ वर्षको दिनमा रातभरि नै चेकिङ गरेको वरिष्ठ प्रहरी अधिकृत दिपेन्दर पाठकले टाइम्स अफ इन्डियालाई बताएका छन् । ‘अघिल्लो वर्षको तुलनामा यसपटक पनि मापसे चेकिङ कडा बनाएका थियौँ, त्यो परिणाम हेर्दा चकित परेका छौँ,’ पाठकले भने, ‘धेरैजसो युवावर्ग कारबाहीमा परेका छन् ।’

तपाईको प्रतिक्रिया