logo

bar

साल्ट ट्रेडिङद्वारा अनुदानविनाको मल बिक्री सुरु

नयाँ पत्रिका काठमाडौं, १८ पुस | पुष १८, २०७४

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले किसानलाई मागअनुसार मल वितरण गर्ने कार्यलाई थप बलियो बनाएको छ । कर्पोरेसनले कृषि विकास मन्त्रालयबाट तोकिएको कोटाअनुसार मल खरिद गरी अनुदानमा वितरण गर्ने जिम्मेवारी पाएको छ । तर, यतिवेला किसानले अनुदानको मल नपाएर दुःख पाइरहेका छन् ।

अनुदानको मल मात्रै पर्याप्त नभएपछि कर्पोरेसनले अनुदानविनाको मल खरिद गरी किसानलाई बिक्री थालेको जानकारी दिएको छ । कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सिंगल सुपर फस्फेट र एमोनिया सल्फेट दुई रासायनिक मल आयात गरी बिक्री थालेको जानकारी दिइन् । ‘किसानले खेती, बालीमा मल हाल्न नपाएर सास्ती खेपेको पाएपछि हामीले अनुदानविनाको मल खरिद गरी बिक्री थालेका छौँ,’ उनले भनिन्, ‘हाम्रा देशभर रहेका २८ बिक्री केन्द्रबाट किसानलाई सहज रूपमा मल वितरण थालिएको छ ।’

साल्ट ट्रेडिङले मल वितरणलाई प्रभावकारी बनाउन परामर्शदाता भगवानप्रसाद खतिवडा नियुक्त गरेको छ । खतिवडा कृषि विकास मन्त्रालयमा लामो मल आपूर्तिसम्बन्धी काम गरेर अवकाशप्राप्त निजामती कर्मचारी हुन् । अनुदानविनाको सिंगल सुपर फस्फेट प्रतिकेजी २६ रुपैयाँ ५० पैसा र एमोनिया सल्फेट प्रतिकेजी १८ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको छ ।

दुवै मल ५० केजीको बोरामा उपलब्ध छ । ५० किलोको सिंगल सुपर फस्फेटको मूल्य १ हजार ३ सय २५ रुपैयाँ र एमोनिया फस्फेटको मूल्य ९ सय रुपैयाँ निर्धारण गरिएको छ । दुवै मल बिरुवाका लागि अतिआवश्यक पर्ने सहायक तथा सूक्ष्म खाद्य तत्व आपूर्ति गर्न सक्षम छन् । यी मलले बालीनालीको उत्पादकत्व वृद्धि हुने र माटोको उर्वराशक्ति पनि बढ्ने खतिवडाको दाबी छ । सरकारबाट अनुदान प्राप्त मलमा युरिया, डाइ एमोनिया फस्फेट र म्युरेट अफ पोटास रहेका छन् ।

मुलुकमा वार्षिक रूपमा ५ लाख मेट्रिकटन रासायनिक मल आवश्यक पर्ने भए पनि सरकारले ३ लाख मेट्रिकटन मात्रै अनुदानमा उपलब्ध गराउँदै आएको छ । अनुदानमा वितरण हुनेमध्ये ३० प्रतिशत मल कर्पोरेसनले सहज रूपमा उपलब्ध गराउँदै आएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु