logo

bar
logo
Advertisment
SKIP THIS

सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न विवेकशीलको आग्रह

नयाँ पत्रिका काठमाडौं, १८ पुस | पुष १८, २०७४

विवेकशील साझा पार्टीले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनपछि देखा परेको राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्दै यस पार्टीले दूरगामी महत्वका निर्णय गर्ने र कर्मचारी नियुक्ति तथा सरुवा गर्नेतर्फ ध्यान नदिन प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

‘निर्वाचनपछि जाँदै गरेको सरकारको प्राथमिक कर्तव्य मुलुकमा नयाँ सरकारको गठनका लागि अनुकूल वातावरण सिर्जना गर्नु र सहज सत्ता हस्तान्तरणको सुनिश्चितता गर्नु हुन जान्छ,’ विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो वातावरण तयार गर्न प्रयास गर्नुको साटो मन्त्रिपरिषद्ले दूरगामी महत्वका निर्णयहरू गर्ने र कर्मचारी नियुक्ति तथा सरुवा गर्नेतर्फ ध्यान दिँदा कतै सत्ता लम्ब्याउने खेल त भइरहेको छैन भन्ने प्रश्न खडा भएको छ । यो प्रश्नको जवाफ वर्तमान प्रधानमन्त्रीले सहज सत्ता हस्तान्तरणको प्रक्रिया शीघ्र सुरु गरेर दिनुपर्दछ भन्ने हाम्रो ठहर छ ।’

राष्ट्रिय सभालाई आफ्ना दलका नेता र कार्यकर्ताको व्यवस्थापन गर्ने थलो नबनाउन पनि पार्टीले आग्रह गरेको छ । राष्ट्रिय जीवनमा ख्याति कमाएका प्रबुद्ध नागरिकहरूको उपस्थिति राष्ट्रिय सभामा गराउन सबै दललाई विवेकशील साझाले आग्रह गरेको छ ।

विवेकशील साझाले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्रको रूपमा परिकल्पना नगरेकाले विवादभन्दा माथि रहन सुझाब दिएको छ । ‘नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्रको रूपमा परिकल्पना नगरेको हुँदा यो संस्था विवादभन्दा माथि रहनु उपयुक्त हुन्छ,’ विज्ञप्तिमा भनिएको छ । राष्ट्रपतिले संविधानले प्रस्टै तोकेभन्दा बाहिरका निकायबाट सल्लाह लिई सोही सल्लाहका आधारमा वैधानिक सरकारको निर्णयमा बाधा पुर्‍याएको देखिनु उचित नहुने सो पार्टीको ठहर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु