logo

bar

त्रिवि प्राध्यापकका लागि पिएचडीको पूर्वस्वीकृतिमा कडाइ

भवानीश्वर गौतम/नयाँ पत्रिका काठमाडौं, १८ पुस | पुष १८, २०७४

आफ्नै विश्वविद्यालयमा विद्यावारिधि (पिएचडी) कार्यक्रम हुँदाहुँदै त्रिभुवन विश्वविद्यालय(त्रिवि)का स्थायी प्राध्यापकहरू नेपाल संस्कृत विश्वविद्यालयतर्फ आकर्षित हुने गरेका छन् । सजिलोका लागि अन्य विश्वविद्यालयमा जानेक्रम बढेको भन्दै त्रिविले त्यस्ता प्राध्यापकलाई पूर्वस्वीकृति दिन रोक लगाएको छ ।

विज्ञानमा पूर्वस्वीकृति रोकियो
त्रिविले विज्ञानका विषयमा स्नातकोत्तर तहका कार्यक्रम नचलेका विश्वविद्यालयमा पिएचडीका लागि स्वीकृति दिन बन्देज गरिसकेको छ । त्यसैगरी, इन्जिनियरिङ, कृषिलगायत प्राविधिक विषयमा पनि पूर्वस्वीकृति रोक्न ऐन संशोधनको तयारी गरेको छ ।

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले स्नातकोत्तर तहका कार्यक्रमसमेत सञ्चालन नभएको विश्वविद्यालयमा पिएचडी गर्न स्वीकृति नदिने निर्णय भएको बताइन् । ‘अहिले पनि साइन्सका स्थायी शिक्षकले संस्कृत विश्वविद्यालयमा पिएचडीको पूर्वस्वीकृति माग्न आउनेक्रम छ । पिएचडी गर्न खोजेको विषयमा स्नातकोत्तर तहसम्मको पढाइ नहुने विश्वविद्यालयमा रेक्टर कार्यालयले अनुमति दिँदैन,’ उनले भनिन् ।

केही वर्ष पहिलेसम्म डिन कार्यालयले त्रिविका स्थायी प्राध्यापकलाई पिएचडीका लागि पूर्वस्वीकृति दिने गरेका थिए । तर, अहिले पूर्वस्वीकृति रेक्टर कार्यालयबाट लिनुपर्ने व्यवस्था गरेको छ । शिक्षाध्यक्ष त्रिपाठीले भनिन्, ‘बद्नाम युनिभर्सिटीबाट पिएचडी गर्ने र स्नातकोत्तर नै पढाइ नहुने विश्वविद्यालयबाट गुणस्तरीय पिएचडी नहुने भएपछि नियन्त्रणको प्रयास गरेका हौँ ।’

त्रिविको अब बस्ने सभाले अरू प्राविधिक विषयमा समेत निर्णय गर्ने तयारी भएको उनले बताइन् । अबको सभाबाट इन्जिनियरिङ, वन, कृषिलगायत प्राविधिक विषयमा पिएचडी गर्न पनि रेक्टर कार्यालयबाट अनुमति लिनुपर्ने र स्नातकोत्तर तहको कार्यक्रम पढाइ नहुने विश्वविद्यालयमा पढ्न पूर्वस्वीकृति नदिने निर्णय हुने उनले बताइन् ।

अनुमति लिइसकेकालाई मान्यता
अहिलेसम्म डिन कार्यालयबाट पूर्वस्वीकृति लिएकालाई भने आधिकारिक मान्यता दिइने त्रिपाठीले बताइन् । ‘त्रिविका साइन्स प्राध्यापकले संस्कृत विश्वविद्यालयबाट पिएचडी गर्न नपाएपछि ठूला तीन पार्टीका नेतालाई भेटेरसमेत दबाब दिए,’ उनले भनिन्, ‘त्रिविमा सम्बन्धित विषयमा पिएचडी गर्न पाउने कार्यक्रम र व्यवस्था हुँदाहुँदै संस्कृत विश्वविद्यालयमा जान खोज्नु सजिलोका लागि मात्र हो, दबाब दिनु लाजमर्दो कुरा हो ।’

त्रिविका स्थायी प्राध्यापकहरुले अरू विश्वविद्यालयमा सुपरभाइजर बन्नका लागि पनि अनुमति लिनुपर्ने भएको छ । गुणस्तर कायम गर्नका लागि भन्दै रेक्टर कार्यालयले अरू विश्वविद्यालयमा गएर सुुपरभाइज गर्नेलाई पनि अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।

कमजोर छैन संस्कृत विश्वविद्यालय : उपकुलपति कोइराला
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले ज्ञानको हिसाबमा संस्कृत विश्वविद्यालय कमजोर नरहेको बताए । संस्कृत विश्वविद्यालयमा सजिलोसँग पिएचडी गर्न पाउने कुरा पनि भ्रम रहेको उनले बताए । उपकुलपति कोइरालाले साइन्स, इन्जिनियरिङका शुद्ध विधामा पिएचडी नगराउने तर त्यसलाई वैदिक, विज्ञान र वास्तुशास्त्र जोडेर पिएचडी गराएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु