logo

bar

समानुपातिक सूची नमिलाएका दललाई आयोगको पत्राचार

योगेश ढकाल/नयाँ पत्रिका काठमाडौं, १८ पुस | पुष १८, २०७४

प्रदेश सभामा समानुपातिक सिट पाएका १३ मध्ये ६ दलको उम्मेदवार छनोट नमिलेको भन्दै निर्वाचन अयोगले सच्याउन पत्राचार गरेको छ । उम्मेदवारको क्रमसंख्या नमिलाई पठाएको, एउटा समुदायको कोटामा अर्को समुदायको व्यक्ति पठाएको भन्दै आयोगले सोमबार दलहरूलाई तीन दिनभित्र सच्याउन पत्रचार गरेको छ ।

कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, राप्रपा, जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले क्लस्टर नमिलाएर उम्मेदवारको सूची पठाएको आयोगले जनाएको छ ।

कांग्रेसले क्लस्टर मिलाएन
कांग्रेसले पठाएको सूचीमा जनजाति कोटाबाट पठाउनुपर्ने महिलाको कोटामा मुस्लिम समुदायको पुरुषलाई पठाएको छ । प्रदेश २ मा जनजाति महिलाको कोटाबाट शोभा लामालाई पठाउनुपर्नेमा मुस्लिमबाट शेखररसिद अलीको नाम सिफारिस गरेको छ ।

लामाले आयोगमा प्राथमिकता सूची र क्लस्टरवाइज निर्वाचित गर्न आग्रह गर्दै निवेदन नै दिएकी छन् । प्रदेश १ मा खसआर्य महिला कोटाबाट शान्ता पौडेलको पहिलो नम्बरमा नाम भए पनि तेस्रो नम्बरकी सीतादेवी पौडेललाई पठाएको छ । त्यसैगरी, थारू र दलित पठाउनुपर्नेमा मुस्लिम वा अन्य समुदाय पठाएको पनि आयोगका जनाएको छ । महिलाको अनुपात पनि मिलाइएको छैन ।

साना दलको पनि समस्या
प्रदेश १ बाट समानुपातिकमा एक सिट पाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले महिला पठाउनुपर्ने कोटामा पुरुष पठाएको छ । आयोगले एक सिट पाएको अवस्थामा महिला अनिवार्य पठाउनुपर्ने व्यवस्था गरे पनि मञ्चले पुरुषतर्फ एक नम्बरमा भएका कुमार लिङ्देनको नाम पठाएको छ ।

जनमोर्चाले पनि महिला पठाउनुपर्ने कोटाबाट पुरुषलाई पठाएको छ । प्रदेश ५ मा एक सिट पाएको जनमोर्चाले बमबहादुर खत्रीलाई पठाएको छ, तर महिलाबाट तारा जिसीलाई पठाउनुपर्ने थियो । राप्रपाले पाएको सूचीमा पनि समस्या देखिएको आयोगले जनाएको छ ।

प्रदेश प्रमुख कुर्दै आयोग
निर्वाचन आयोग प्रदेश सभामा समानुपातिकतर्फबाट निर्वाचित उम्मेदवारको सूची सार्वजनिक गर्न प्रदेश प्रमुखको नियुक्ति कुरेर बसेको छ । प्रदेश सभाको निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ । प्रदेश सभाको समानुपातिक उम्मेदवार निर्वाचित भएको एक हप्ताभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्छ । तर, अहिलेसम्म सरकारले प्रदेश प्रमुख नियुक्त गरेको छैन ।

राजपाको सूचीले आयोग समस्यामा
आफ्नै कमजोरीका कारण निर्वाचन आयोगलाई राजपाले बुझाएको समानुपातिकबाट निर्वाचित हुने उम्मेदवारको नाम मिलाउन समस्या परेको छ । समुदायविशेषको कोटाअनुसार राजपाले बन्दसूची नबुझाएका कारण आयोग नाम स्वीकार गर्ने कि नगर्ने अन्योलमा परेको छ ।

प्रदेशअनुसार समुदायविशेषको कोटा निर्धारण गरेर समानुपातिक बन्दसूची बुझाउने कानुनी व्यवस्थाविपरीत राजपाले प्रदेश २ को समानुपातिक सूचीमा मधेसी कोटा मात्रै बुझाएको थियो । आयोगले कानुनविपरीतको सूची सुरुमै बुझेका कारण अहिले समुदायविशेषको कोटाअनुसार उम्मेदवार निर्वाचित गर्न समस्या परेको एक आयुक्तले बताए ।

प्रदेश २ मा ६४ समानुपातिक उम्मेदवारको सूची बुझाउनुपर्ने थियो । त्यसमध्येबाट मधेसी, जनजाति, खसआर्य, थारू, दलित र मुस्लिमको कोटा निर्धारण गरी बुझाउनुपर्नेमा राजपाले सबै नाम मधेसी कोटाअन्तर्गत राखेर सूची बुझाएको थियो ।

राजपाले प्रदेश २ मा पाएको १० वटा समानुपातिक सिटमा सबै मधेसी कोटाभित्रबाट सातजना महिला र तीनजना पुरुष पठाएको छ । तर, आयोगको निर्देशिकाअनुसार सूची बुझाउने हो भने मधेसी कोटाबाट पाँचजना, जनजाति, थारू, मुस्लिमबाट एक–एकजना र दलितबाट दुईजना उम्मेदवारको नाम पठाउनुपर्ने थियो । तर, राजपाले अहिले ३३ प्रतिशत महिला मात्रै पु¥याउने गरी सातजना पठाएको छ ।

यस्तो अवस्थामा आयोगले पाँचजना मधेसी कोटाबाहेक अन्य संख्या निर्धारण गर्न सक्दैन । आयोगका एक आयुक्तका अनुसार नियमतः राजपाका पाँचजना उम्मेदवार मात्रै स्वीकार गर्न सकिने अवस्था छ । तर, पहिला सूची बुझेका कारण राजापले पनि निहुँ खोज्ने बहाना पाएको छ ।

राजपा पनि कानुन मिच्दै
राजपाले पनि कानुनविपरीत समुदायविशेषको कोटामा अन्य उम्मेदवारको नाम पठाएको छ । प्रदेश ५ मा राजपाले पाएको १ सिटमा प्रदेशको समुदायविशेष कोटाअनुसार खसआर्य महिला पठाउनुपर्नेमा मुस्लिम पुरुषलाई पठाएको छ । उक्त सिटमा खसआर्य महिलाबाट विन पन्त पठाउनुपर्नेमा पुरुष कोटाबाट अब्दल कादिर सेखलाई पठाएको छ । आयोगका अनुसार एक सिट पाएको अवस्थामा अनिवार्य महिला निर्वाचित गराउनुपर्छ ।

त्यसैगरी, प्रदेश ७ मा पनि समुदायविशेषको कोटाअनुसार एक सिट पाउँदा खसआर्य महिला पठाउनुपर्ने हुन्छ । तर, राजपाले शान्ति सिंहको सट्टा सुनीता चौधरीको नाम पठाएको छ । अझ सुनीताभन्दा अगाडि पाँचजना महिला सूचीमा थिए । यता, प्रदेश २ मा मधेसी महिलाको प्राथमिकता मिचेर १९ नम्बरकी पुनककुमारी यादवलाई पठाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु