logo

bar
logo
Advertisment
SKIP THIS

जुत्ता मेला ५५ हजारद्वारा अवलोकन

नयाँ पत्रिका काठमाडौं, १७ पुस | पुष १७, २०७४

राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी १४औँ जुत्ता प्रदर्शनीमा उपभोक्ताको भिड बढ्दै गएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनको आयोजनामा जारी मेलाको आइतबारसम्ममा करिब ५५ हजारले अवलोकन गरिसकेको आयोजकले जनाएको छ ।

स्वदेशी जुत्ता उद्यमीले आयोजना गर्ने यो नै सबैभन्दा ठूलो मेला हो । मेलामा १ सय ३५ स्टल छन् । एसोसिएसनका अध्यक्ष रविनकुमार श्रेष्ठले स्वदेशी ब्रान्डका जुत्ता तथा चप्पल प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

प्रदर्शनीमा नेपाली छाला जुत्ता, चप्पलसँगै ज्याकेट र ब्यागको पनि स्टल रहेको छ । यसपटकको मेलामा सहभागी सबै ब्रान्डले स्टल डेकोरेसनमा विशेष ध्यान दिएका छन् । उत्कृष्ट स्टल डेकोरेसन गर्नेलाई पुरस्कारसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघको सहयोग रहेको छ । ‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा लिएर सञ्चालन भइरहेको मेलाको करिब एक लाखजनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेला १८ पुससम्म सञ्चालन हुनेछ ।

विशिष्ट व्यक्तिको भ्रमण
जारी मेलाको उद्घाटन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए । त्यसपछि पूर्वअर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेलले, माओवादी केन्द्रको प्रवक्ता पम्फा भुसाल, कलाकार नीर शाह, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, उद्योग वाणिज्य महासंघका उमेशलाल प्रधान, नेताहरू आनन्द पोखरेल, भानुभक्त ढकाल, एलपी साँवा लिम्बूलगायतले अवलोकन गरिसकेका छन् ।

फेसन सो सम्पन्न
प्रदर्शनीको अवसरमा आइतबार फेसन सो पनि आयोजना गरिएको छ । फेसन सोमा पुरुष तथा महिला मोडलले नेपाली ब्रान्डका विभिन्न जुत्ता, चप्पलका साथ र्याम्पमा क्वाटवाक गरेका छन् । मेलामा आकर्षण थप्न र स्वदेशी जुत्ता, चप्पलको थप ब्रान्डिङ गर्न फेसन सो उपयोगी भएको आयोजकको ठहर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु