logo

bar

विषादीले मृत्यु नै हुन सक्छ

नयाँ पत्रिका काठमाडाैँ, १७ पुस | पुष १७, २०७४

विषादीले मृत्यु नै हुन सक्छ – खाद्यपदार्थ तथा तरकारीमा प्रयोग गरिने विषादीका कारण विश्वमा वार्षिक तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांकले बताउँछ । विषादीको प्रयोगले विश्वका चार करोड मानिसमा कुनै न कुनै स्वास्थ्य समस्या देखा पर्ने गरेको छ । पछिल्लो समय नेपालमा पनि विषादीको प्रयोग तरकारी तथा कैयौँ खाद्यपदार्थमा अत्यधिक हुने गरेको छ । अनुसन्धानले सहरी क्षेत्रका मानिसले खानासँगै ८५ प्रतिशत विषादी पनि खाइरहेको देखाउँछ । विषादीयुक्त खानाको प्रयोगले स्वास्थ्यमा तत्काल तथा दीर्घकालीन रूपमा यस्तो असर पुर्‍याउँछ :

अच्युतप्रसाद ढकाल
बाली संरक्षण अधिकृत

तत्कालीन असर
विषादीयुक्त खाद्यपदार्थको प्रयोगले मानिसमा मुर्छा, झाडापखाला, कम्पन, दृष्टि कमजोरजस्ता समस्या तत्काल सिर्जना हुन सक्छ ।

त्यस्तै, दम तथा एलर्जीका रोग पनि तत्काल देखिन्छन् । श्वासप्रश्वासका कारण एलर्जी, बारम्बार कान सुन्निने, बालबालिकामा सानो आन्द्राको प्रतिरोधात्मक प्रणालीमा गडबडी हुने र खानामा अरुचि हुनेजस्ता समस्या पनि देखा पर्छन् ।

प्रायजसो प्रयोग हुने अर्गेनोफोस्केट र कर्वामेन्ट समूहका विषादीको कारणले थकान हुने, रिंगटा लाग्ने, धमिलो देख्ने, वाकवाक लाग्ने, आँखा–नाक पोल्ने, श्वासप्रश्वासमा कठिनाइ उत्पन्न हुने, छाला चिलाउनेजस्ता समस्या पनि तत्काल देखिन्छन् । विषादीको मात्रा बढी भएमा तत्कालै वा केही हप्तापछि मत्युसमेत हुन सक्छ ।

दीर्घकालीन असर
नियमित विषादीयुक्त खानाले दीर्घकालीन रूपमा अन्धोपना, क्यान्सर, ट्युमर, नपुंसकता, बाँझोपन, विकृत बच्चाको जन्म, नसासम्बन्धी समस्या, पक्षघात हुन सक्छ ।

विषादीको सम्पर्कले मानिसमा मोटोपना, डाइबेटिज हुनुका साथै अन्य रासायनिक परिवर्तनसम्बन्धी रोग देखा पर्दछन् ।

विषादीको प्रयोगले दीर्घकालीन रूपमा स्नायु प्रणालीको विकास र क्रियाकलापमा ह्रास आउँछ । जसको कारण स्मरणशक्तिमा ह्रास, एकाग्रतामा कमी, चञ्चले स्वभाव, छारेरोग, मानसिक विकासमा बाधालगायतका गम्भीर समस्या देखा पर्छन् । बाल्यकालमा भने पढेको कुरा नसम्झने, बुझ्न गाह्रो हुने, मानसिक पक्षघातजस्ता समस्या देखिन सक्छन् ।

तपाईको प्रतिक्रिया