logo

bar

कुन देशमा कसरी मनाइन्छ नयाँ वर्ष ?

एजेन्सी | पुष १७, २०७४

इसाई धर्मका संस्थापक जिसस क्राइस्टको जन्मदिनको सम्झनामा मनाइने अंग्रेजी नयाँ वर्ष कुनै धर्मविशेषमा मात्र सीमित छैन । दुई हजार १७ वर्षपहिले अर्थात् क्राइस्टको जन्म भएको दिनदेखि इस्वी संवत् सुरु भएको हो । अंगेजी नयाँ वर्ष मनाउने परम्परा र यसको दायरा दिनानुदिन विस्तारकै क्रममा छ । केही वर्षअघिसम्म नेपालमा नयाँ वर्ष भन्नेबित्तिकै वैशाख १ गतेलाई मात्र बुझ्ने गरिन्थ्यो । तर, पछिल्ला वर्षमा जनवरी १ लाई पनि नयाँ वर्षको रूपमा उत्तिकै महत्व दिने गरिएको छ ।  नयाँ स्थानको भ्रमण गर्ने, किनमेल, पारिवारिक मिलनमा सहभागी भई खानपान गर्नेजस्ता साझा विशेषता नयाँ वर्षका पर्याय नै हुन् भन्दा अत्युक्ति नहोला । नयाँ वर्षको दायरा फराकिलो बनेसँगै यो पर्व मनाउने परम्परा तथा संस्कृति पनि देश र स्थानअनुसार फरक हुने गरेको छ । विश्वका केही देशमा कसरी नयाँ वर्ष मनाइन्छ त ? यसबारेमा एक रिपोर्ट :

अमेरिका
अमेरिकामा धर्म तथा संस्कृतिअनुसार धेरै प्रकारका चाडपर्व मनाइन्छन् । नयाँ वर्षको दिन सरकारले सार्वजनिक बिदा दिने गरेकाले अमेरिकीहरू नयाँ वर्षको व्यग्र प्रतीक्षामा रहन्छन् । जाडो मौसममा पर्ने नयाँ वर्षका दिन भोजमा सहभागी हुने, परिवार तथा आफन्तलाई उपहार प्रदान गर्ने र विभिन्न सांगीतिक कार्यक्रममा रम्ने तथा आतसबाजी गर्नेहरूको संख्या उल्लेख्य हुन्छ । डिसेम्बर २५ मा पर्ने क्रिसमसको चहलपहल नबित्दै नयाँ वर्ष सुरु हुने भएकाले डिसेम्बर अन्तिम साता अमेरिकीहरू ‘फेस्टिभ मुड’मा नै हुने गर्दछन् ।

नयाँ वर्षको अवसरमा अमेरिकामा खेलकुदका विभिन्न प्रतियोगिता पनि आयोजना हुने गरेका छन् । सहरका गल्ली–गल्लीमा विशेष तथा नयाँ वस्त्र धारण गरेका युवा तथा प्रौढ उमेर समूहका मानिसको बाक्लो उपस्थिति हुन्छ । न्युयोर्कको टाइम्स स्क्वायरमा आयोजना हुने विभिन्न कार्यक्रम टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्छन् । लालटिन, बत्ती, रंगीन कागज, ध्वजापताकाले सजाइएका सडक तथा बजार क्षेत्रमा ‘ह्यापी न्यु इयर’ भन्दै शुभकामना आदानप्रदान गर्नेको भिड हुन्छ । रंगीविरंगी भएर सांगीतिक कार्यक्रममा सहभागी भई नयाँ वर्ष मनाउनु अमेकिरीको परम्परा नै हो । आपसमा अंकमाल तथा चुम्बन साटासाट गर्दै शुभकामना आदानप्रदान गर्ने परम्परामा अमेरिकीहरू अभ्यस्त भइसकेका छन् । नयाँ वर्षका दिन कारको हर्नका साथै सिटी बजाएर नयाँ वर्ष सुरु भएको घोषणा गर्ने प्रचलन पनि छ ।

नयाँ वर्षमा बोडीको दानाबाट तयार पारिएको एक विशेष परिकार (ब्ल्याक आइड बिन्स) खानाले भाग्य वृद्धि हुने विश्वास अमेरिकीमा छ । चामलबाट तयार पारिएको ‘होपिन जोन’सँग ब्ल्याक आइड बिन्स खाने चलन छ । यसका साथै केक र अंगुरबाट तयार पारिएको पेयपदार्थ सेवन गर्ने पनि चलन छ ।

अस्ट्रेलिया
अस्ट्रेलियामा नयाँ वर्ष झन्डै एक हप्तासम्म मनाउने गरिएको छ । नयाँ वर्ष पर्वको अन्तिम दिन मानिने जनवरी ६ सम्म बिदा दिने अस्ट्रेलियाले अत्यधिक महत्वका साथ नयाँ वर्ष मान्ने गरेको छ । अस्ट्रेलियामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नयाँ वर्षमा झन् बढी हुने गरेको छ ।

परिवारका सदस्यका साथ स्थानीय तथा मुख्य चर्चमा भेला भई बिहानको समयमा प्रार्थना गर्नाले वर्षभर राम्रो हुने जनविश्वास छ । नयाँ वर्ष सुरु हुने रातको समय (न्यु इयर इभ) चर्चको घण्टी १२ पटक बजाएर नयाँ वर्ष सुरु भएको घोषणा गर्ने चलन पनि छ । १२ पटक घण्टी बजिसक्नेबित्तिकै मानिसहरू नयाँ वर्षको जयजयकार गरी होहल्ला गर्ने, विभिन्न बाजागाजा बजाउने, हर्न लगाउने, आपसमा अंकमाल गर्ने र शुभकामना तथा उपहार आदानप्रदान गर्ने गर्छन् । सिड्नी, मेलवर्न, पर्थ, व्रिस्बेन र डार्बिनजस्ता सहरमा नयाँ वर्ष मनाउनेको ठूलो भिड हुने गरेको छ । सिड्नी नयाँ वर्षमा विश्वकै सबैभन्दा बढी उत्साहप्रद सहर भएको बताइन्छ । त्यहाँको प्रसिद्ध ‘हारबर ब्रिज’मा करिब ८० हजार बत्ती जडान गरी सहरलाई बेहुलीजस्तै सिंगारिएको हुन्छ । करिब १६ किलोमिटर टाढासम्म त्यहाँका बत्तीको प्रकाशले सहरलाई मनमोहक बनाएको हुन्छ ।

बेलायत
इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड मिलेर बनेको संयुक्त अधिराज्य बेलायतमा राज्यअनुसार नयाँ वर्ष मनाउने परम्परा तथा शैलीमा पनि केही भिन्नता पाइन्छ । स्कटल्यान्डमा तीन दिनसम्म सार्वजनिक बिदा दिने गरिएको भए पनि नयाँ वर्षको अघिल्लो दिन (न्यु इयर इभ)मा भने बेलायतका अन्य स्थानमा बिदा दिने प्रचलन छैन । तर, न्यु इयर इभको साँझबाट सुरु भएको नयाँ वर्ष कार्यक्रमलाई भने बेलायतीले पनि भव्य रूपमा मनाउने गरेका छन् ।

आतसबाजी, डिस्कोथेक, क्लब, पब, पार्टी, सभा सम्मेलनजस्ता कार्यक्रमले रौनक थप्ने विशेषता बेलायतमा पनि नौलो होइन । न्यु इयर इभको मध्यरातमा आपसमा हात समाएर ‘अल्ड ल्याङ सिने’ नामक परम्परागत बेलायती गीत गाउँदै रमाइलो गर्ने र शुभकामना साटासाट गर्ने प्रचलन छ । रातको १२ बजेपछि शुभकामना आदानप्रदानमा प्रायः सबै मानिस व्यस्त हुने गरेका छन् । सार्वजनिक बिदा दिइने भएकाले नयाँ वर्षका दिन बेलायतमा सार्वजनिक यातायातका साधन पनि कमै मात्र उपलब्ध हुन्छन् । इडेनबर्ग सहरमा आठ हजारभन्दा बढी शक्तिशाली प्रकाश छर्ने टर्च जडान गरिएकाले पूरै सहर ‘बत्तीको नदी’जस्तै देखिन्छ । हातमा बलेको मसाल बोकी विभिन्न बाजागाजासहित परम्परागत नाच पनि प्रदर्शन गरिन्छ ।

जापान
बौद्ध धर्मावलम्बीको संख्या उल्लेख्य रहेको जापानमा ‘ओमिसोका’ नामले चिनिने न्यु इयर इभका दिन बौद्ध विहारमा घन्टी बजाएर नयाँ वर्षको स्वागत गर्ने परम्परा छ । नयाँ वर्ष सुरु हुने समयमा एक सय आठपटक घन्टी बजाउने चलन छ । मानिसका इच्छा–आकांक्षा, दुःखपीडा, एक सय आठ (लक्षणात्मक रूपमा अनगिन्ती) हुने भएकाले त्यसको प्रतीकका रूपमा एक सय आठपटक घन्टी बजाउने गरिएको विश्वास गरिन्छ । टोकियोको ‘जोजोजी टेम्पल’मा नयाँ वर्षका अवसरमा विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न हुन्छ । पारिवारिक जमघट, शुभकामना आदानप्रदान, उपहार साटासाट, पार्टी, आतसबाजीका कार्यक्रम सबै स्थानका साझा नै भएकाले जापानमा पनि यसको महत्व उत्तिकै छ ।

ब्राजिल
दक्षिण अमेरिकी लोकसभ्यता, रीतिरिवाज, नृत्य तथा गायनमा आफ्नै मौलिक शैली रहको ब्राजिलमा नयाँ वर्षको अवसरमा राजधानी रियो दी जेनेरियो जाडो मौसमबीच पनि तात्ने गरेको छ । परम्परागत स्थानीय नृत्य, गायनसहित राजधानीको ‘कोपाकावाना नदीकिनार’मा प्रस्तुत गरिने विभिन्न कार्यक्रमले ब्राजिलको संस्कृति पनि समेटेको हुन्छ । नयाँ वर्षका अवसरमा नदीमा सातपटक डुबुल्की मारेपछि भने सो वर्षभर आफ्ना मनोकामना पूरा हुने विश्वास ब्राजिलमा छ । यसका साथै सेतो वस्त्र पहिरिएर नदीमा पुष्पगुच्छा चढाएर डुबुल्की मार्दा भने ‘थप बोनस’समेत प्राप्त हुने जनविश्वास छ ।

चीन
चिनियाँ परम्पराअनुसार फेबु्रअरी महिनाको मध्यतिर नयाँ वर्ष मनाइन्छ । तर, पछिल्लो समय अंग्रेजी नयाँ वर्ष पनि भव्यताका साथ मनाउन थालिएको छ । बिसौँ शताब्दीमा चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएदेखि नै चीनमा अंग्रेजी नयाँ वर्ष मनाउन थालिएको पाइन्छ । अंग्रेजी नयाँ वर्षमा चीनमा सार्वजनिक बिदा दिइने गरेको छ । कतिपय होटेलले भने पर्यटक आकर्षित गर्न अंग्रेजी नयाँ वर्षको अवसरमा विभिन्न प्याकेज ल्याउने गर्दछन् । तैपनि नयाँ वर्षको अघिल्लो दिन बेलुका (न्यु इयर इभ)मा चिनियाँ नयाँ वर्षमा जस्तो खासै उत्साहप्रद वातावारण भने चीनमा हुँदैन ।

चिनियाँ पर्वजस्तो अंग्रेजी नयाँ वर्ष लोकप्रिय नभए पनि धेरै चिनियाँ सो यस अवसरमा आफन्त भेट्न भने जाने गर्दछन् । त्यसका साथै ठूला कर्पोरेट कार्यालयले नयाँ वर्षको अवसर पारी पार्टी आयोजना गर्ने गर्दछन् । विभिन्न स्थानको भ्रमण गर्ने र किनमेलमा जाने भएकाले व्यापारिक कारोबार पनि साधारण दिनको तुलनामा बढी हुने गरेको छ । नयाँ वर्षको अघिल्लो दिन त्यहाँका जनता राति १२ बजेसम्म बेइजिङको मुख्य भाग तिआनान्मेनमा जम्मा भई आतसबाजीको मजा लिने गरेका छन् ।

भारत
आतिसबाजीमा अब्बल भारतमा विभिन्न संवत् प्रचलनमा रहेकाले नयाँ वर्ष सुरु हुने दिन पनि फरक–फरक छन् । तर, इस्वी संवत् बढी प्रचलनमा रहेका कारण अंग्रजी नयाँ वर्षको उल्लास निकै भव्य हुने गरेको छ । भारतका विभिन्न सहरमा नयाँ वर्षको अवसरमा गायन, खेलकुद, नृत्य तथा पार्टी कार्यक्रम आयोजना हुने गरेको छ । नाइट क्लब, सिनेमा हल, रिसोर्ट, रेस्टुरेन्ट र पार्कमा सबै उमेर समूहका मानिसको उपस्थितिले नयाँ वर्ष वास्तवमै भव्यतापूर्वक मनाइने गरिएको छ । विश्वमै सबैभन्दा धेरै सूचना सञ्चार तथा मनोरञ्जन मिडिया भएको भारतको प्रायजसो मिडियाले नयाँ वर्ष विशेष कार्यक्रम प्रस्तुत गर्ने गरेका छन् । सपिङ मलमा दिइने छुटका कारण ग्राहकको भिड लाग्ने र कारोबारसमेत उच्च हुने गरेको छ ।

प्रत्यक्ष भेटेर, सन्देश पठाएर, पोस्टकार्ड तथा नयाँ उपहारमार्फत भारतीयले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गरेका छन् । मुम्बई, नयाँदिल्ली, बैंग्लोर, चेन्नईलगायतका सहरमा ठूला लाइभ कन्सर्ट आयोजना हुने, कन्सर्टमा बलिउड सेलेब्रिटीसमेत उपस्थित हुने भएकाले ठूलो भिड लाग्ने गरेको छ । जनवरी १ अर्थात् नयाँ वर्षको पहिलो दिन भारतमा ऐच्छिक बिदा दिने गरिएको छ । नयाँ वर्षको दिन कार्यालय खुलै रहन्छ । तर, कर्मचारीले भने आफ्नो इच्छाअनुसार बिदा लिन वा नलिन पनि सक्छन् ।

तीर्थराज निरौला

तपाईको प्रतिक्रिया