logo

bar

हङकङमा बुद्ध : कतै स्वागत कतै विरोध

धीरज राई, पपगायक काठमाडाै, १७ पुस | पुष १७, २०७४

हङकङमा बुद्ध : कतै स्वागत कतै विरोध, कन्सर्ट, हनिमुन र बुद्ध अभियान सँगै – हङकङ नेपाली कलाकारको एउटा मुख्य सांगीतिक बजार हो । अंग्रेजले एक सय वर्षसम्म शासन गरेर छाड्ने समयमा ब्रिटिस गोर्खालीलाई त्यहाँ स्थायी बसोवास दिने प्रबन्ध मिलाएका थिए । सोहीअनुसार करिब ४० हजार नेपाली त्यहाँ बस्दै आएका छन् । यसपालि मेरो हङकङको १८औँपटकको यात्रा थियो । हङकङमा सबैभन्दा बढी माग हुने नेपाली गायकमध्ये म पनि पर्दाे रहेछु।

धीरज राई, पपगायक

 

चाम्लिङ खाम्वातिमको आयोजनामा हुने पारुहाङ साँझ दोस्रोको लागि मलाई निम्तो आएको थियो । राईहरूको संस्कारमा चुलाघरको विशेष महत्व रही आएको छ । यसैको निर्माणका लागि अर्थ संकलनका लागि कन्सर्ट आयोजना गरिएको हो । यसपालिको हङकङ यात्रामा मेरा तीनवटा महत्वपूर्ण घटना समेटिए ।

मेरी जीवनसंगिनी भावना राना मगरसँगको वैवाहिक सम्बन्ध दुई वर्ष पुगेको थियो । विवाह भएको केही समयमै उनी गर्भवती भएकाले हामी हनिमुन यात्रामा जान पाएका थिएनौँ । त्यसैले यसपालि म पत्नी भावनासँगै हङकङ गएँ । कन्सर्टसँगै हाम्रो हनिमुन यात्रा पनि भयो । हामीले स्टारफेरी, हङकङ पिक, ओसन पार्क, लान्ताउ बुद्धलगायतका स्थानमा प्रेम साटासाट गर्‍यौँ । वास्तवमा हनिमुन मनाउन चाहनेका लागि हङकङ पहिलो रोजाइमा नै पर्दछ ।

चुलाघर निर्माणमा त्यहाँका नेपालीले देखाएको एकताले मलाई अत्यन्त प्रभावित पार्‍यो । विदेशको जीवन नेपालमा बसेजस्तो सहज छैन । तर, पनि त्यहाँ रहेका नेपालीमा आफ्नो संस्कृतिप्रतिको माया अनि एकता देखेर गर्व महसुस भयो । १२ वटा देशमा ‘बुद्ध अभियान’ चलाइसकेको मलाई अब हङकङमा पनि त्योे सन्देश फैलाउने मौका मिल्यो । सन् २००७ मा सुरु भएको मेरो यो अभियान पछिल्लोपटक युकेसम्म आइपुगेको थियो । ‘एक तिरसे तीन सिकार’ भनेझैँ हङकङको एउटा यात्राले मेरा तीनवटा महत्वपूर्ण उद्देश्य पूरा भए ।

स्टारफेरीमा स्वागत
हङकङको स्टारफेरी संसारभरिको एक आर्कषक केन्द्रमै पर्छ । विश्वभरबाट हजारौँ पर्यटकले त्यहाँ भ्रमण गर्ने गरेका छन् । समुद्रवारि बसेर पारिका ठूला–ठूला अनि अग्ला–अग्ला सुन्दर भवनको दृश्यावलोकन गर्नु नै यसको मुख्य आर्कषण हो । प्रत्येक दिन त्यहाँ हुने आतसबाजी अर्को आकर्षण हो । धर्तीमा रहेको स्वर्ग नै भने पनि हुन्छ, त्यसलाई । मान्छे कति शक्तिशाली रहेछ भन्ने कुरा ती भवन निर्माणको कला देखेर अनुमान गर्न सकिन्छ । प्रत्येक भवनको आ–आफ्नै विशेषता छन् । मान्छेको दिमागले चाह्यो भने जे पनि गर्न सक्दो रहेछ ।

बुद्ध बर्न इन नेपाल अभियानका लागि मैले हङकङको तीन स्थान, जहाँ मान्छेको चाप बढी हुन्छ, रोजेँ । उपयुक्त स्थानमा बिदाको दिन पारेर कार्यक्रम गर्न पाए मिडियाको कभरेज पनि राम्रै हुने थियो । त्यसैले मैले डिसेम्बर २४ तारिखका दिन गुड फ्राइडेलाई छानेँ ।

बिहान अलिक अँध्यारो भएता पनि दिउँसोतिर भने आकाश छर्लंग खुल्यो । भावना, मेरो भाइ डिउसन र उनको साथी रमेशको साथमा १ बजे तिर त्यहाँ पुग्यौँ । त्यहाँ मान्छेहरू आ–आफ्नै धुन र शैलीमा मस्त देखिन्थे । नजिकै आइसकेको क्रिसमसको अवसरमा एउटा समूह गीत गाएर प्रभु येसुको गुणगान गाउँदै थियो । जादु हेर्न बसेकाहरूको जमात पनि ठूलै थियो । छेवैमा फिलिपिनी महिलाको एक समूह संगीतको तालमा बी–बोइङ गर्दै थिए । पल्लो किनारमा केही मानव अधिकारवादीहरू ब्यानरसहित आफ्ना विचार सुनाइरहेका देखिन्थे । तीन सदस्यीय ब्यान्डले गायन प्रस्तुत गर्दै आफ्ना एल्बमहरू बेच्दै थिए । मैले भने स्टारफेरीको लगभग मध्यभाग रोजेँ ।

वीरगन्ज टेलिभिजनमा काम गरिसकेकी पत्नी भावनालाई क्यामाराको अनुभव थियो । त्यसैले उनले मोबाइलबाट फेसबुक लाइभ गर्ने जिम्मा लिइन् । भाइ डिउसन र उनका साथी फोटो खिच्न तयार भए । बुद्ध वर्न इन नेपाल लेखिएको ब्यानर अनि नेपालको झन्डा निकालेर म पनि तयार भएँ । दुवै हातले ब्यानर समातेपछि भावनाले क्यामारामा हेरिन् । ‘एन्टिलाइट पर्‍यो, अलिक बायाँ फर्क त धीरज !,’ भावनाले भनिन् ।

नेपालको झन्डा घाँटीमा बाँधिसकेपछि मैले सुरु गरेँ। मैले एमएको पाठ्यक्रममा रहेको ‘बुद्ध भारतमा जन्मेको’ भनी लेखिएको गलत तथ्यदेखि लिएर भारतको जी टेलिभिजनले बनाएको बुद्ध टेलिसिरियलविरुद्धको संघर्षको कुरा व्यक्त गरेँ । बोल्दाबोल्दै त्यहाँ थुप्रै मान्छे जम्मा भइसकेका थिए । केहिले ब्यानर हेर्ने त केहीले मेरो मुख हेर्ने गरेर उनीहरू मैले बोलेको कुरा बुझ्ने कोसिस गरिरहेका थिए ।

‘बुद्ध वर्न इन नेपाल’ भन्ने वाक्यचाहिँ अंग्रेजीमै भएकाले सायद धेरैले बुझे । मेरो कुरा सुनेर केही जापनी पर्यटकले भने ताली बजाए । उनीहरू एक–आपसमा कुरा गर्दै मतिर हेर्ने गर्दथे । ब्यानरतिर आैँला तेस्र्याएकोबाट उनीहरूले मेरो कुरालाई समर्थन गरेको बुझेँ । १५–१६ जनाको समूहमध्येको एकजना पाका उमेरका व्यक्तिले दाहिने हातको बुढीआैँला ठड्याउँदै बुद्ध नेपाल….’ भनेपछि ताली झन् ठूलो स्वरमा बज्यो ।

बिग बुद्धमा विरोध
हङकङको लान्ताउ आइल्यान्डमा संसारकै सबैभन्दा ठूलो बुद्धको मूर्तिमध्येको एक रहेको कुरा मलाई पहिले नै थाहा थियो । सहरदेखि निकै टाढा रहेको सो स्थानमा बुद्ध धर्मालम्वीको आवत–जावत बाक्लो हुने गर्दछ । पूर्ण रूपमा धातुले बनेको सो मूर्ति हेर्दा जोसुकैलाई अचम्म लाग्छ । करिब ८० वर्षअघि आजको जस्तो प्रविधि र मेसिनहरूको सहायताविना पनि सो मूर्ति कसरी निर्माण गर्न सकियो होला भन्ने प्रश्न मनमा आउँछ । संसारभरिकै बुद्धधर्म मान्नेको जमघट हुने हुनाले नै सो स्थान मैले रोजेको थिएँ । जोर्डनमा रहेको हाम्रो होटेलबाट मेरा मित्र रविन गुरुङको कारमा ४५ मिनेटको यात्रापछि नजिकैको बसपार्कमा गाडी पार्क गरियो । त्यसपछि अर्को गाडी चढेर झन्डै आधा घण्टामा बिग बुद्ध पुगियो ।

खुल्लापार्कमा रहेको मुख्य गेट छिरेपछि भित्रपट्टि दायाँ–बायाँ थुप्रै मूर्ति छन् । सबेरै भएकाले अरू ठाउँको तुलनामा त्यहाँ मान्छेको भिड अलिल कमै थियो । पार्कको बीचमा पुगेर दायाँतिर फर्केर हेर्दा ३५ मिटर अग्लो धातुले बनेको बुद्ध छर्लंगै देखियो । निकै उचाइमा रहेको सो मूर्तिसम्म पुग्नका लागि भने दुई सय ६८ वटा सिँढी चढ्नुपर्ने रहेछ । मूर्ति सो ठाउँबाट स्पष्ट देखिने हुनाले भावनालाई तयार गराएँ । म भने ब्यानर र झन्डा निकाल्न थालेँ । ‘ल सुरु गर धीरज’ मनमा आयो । चन्द्र, सूर्य र सत्य धेरै समयसम्म लुकाउन सकिँदैन, भगवान् बुद्धको सोही भनाइबाट कार्यक्रम सुरु गरेँ ।

‘धीरज ब्रो, केही भारतीयहरू पनि यतै आउँदैछन्, अलि जोडले बोलौँ है । उनीहरूलाई राम्रोसँग सुनाउनु छ,’ भाइहरू भन्दै थिए । नभन्दै एक हुल पर्यटक मतिरै आइरहेको देखेँ । ब्यानर पढ्नेबित्तिकै हुलमध्येका एकजनाले रिसाएर बेस्सरी नाक खुम्चाउँदै चस्मा मिलाए । उनलाई सायद त्यो निको लागेन । सँगैका साथीहरूलाई पनि आफू नजिकै बोलाए । जति म बोल्दै गएँ, त्यति नै उनीहरूले मलाई नमीठो नजरले हेरेको महसुस मलाई भयो ।

फेसबुक लाइभ सकिनासाथ मसँग अंग्रेजी भाषामा उनैले विवाद सुरु गरे । ‘बुद्धका चार धाममध्ये तीन धाम त भारतमै पर्छ नि ! उनी अगाडि भन्दै गए । ‘त्यतिवेला नेपाल र भारत भन्ने नै थिएन,’ उनको आँखामा आँखा मिलाउँदै मैले आफ्नो तर्क राखेँ । ‘कुरो र कुलो जता लान पनि सकिन्छ । यो विषयमा म तपाईंसँग दिनभर बहस गर्न सक्छु । तर, म कुतर्कमा समय खेर फाल्न चाहन्नँ,’ मैले जोड दिएँ ।

हाम्रो कुराकानी उनका साथीले मोबाइलमा सबै खिचिरहेका थिए । ‘मेरो दाबी भगवान् बुद्धको ‘जन्मस्थल’सम्म मात्र छ । भ्रामक समाचारलाई हटाएर सत्यतथ्य कुरा बाहिर ल्याउनका लागि म यो अभियानमा लागेको हुँ । चित्त नबुझेसम्म तिमीहरू पनि बुद्ध वाज बर्न इन इन्डिया अभियान चलाउन सक्छौ ।’ मैले त्यति भनेपछि उनको मुखमा बुझो लाग्यो । रिसले मुख बंग्याएर फतफताउर्दै उनी भर्‍याङतिर लागे ।

थाउजेन्ड बुद्धमा पुलिसको चेतावनी
हङकङको सातिनमा अवस्थित थाउजेन्ड बुद्ध एउटा अर्को महत्वपूर्ण तीर्थस्थल हो । थाउजेन्ड बुद्ध सहरदेखि निकै पर शान्त ग्रामीण भेगमा छ ।

मैले अभियानका लागि छानेको यो तेस्रो स्थान थियो । म, आयोजक किन्दर राई, हास्य कलाकार दमन रूपाखेती अनि पत्नी भावना त्यहाँ पुग्याैँ । चार सय ३० पाइला हिँडेपछि पुगिने सो मन्दिर ठाडै उकालोमा रहेछ ।

सबैभन्दा आपत भावनालाई पर्‍यो । किनकि उनले ठूलो हिल जुत्ता लगाएकी थिइन् । भर्‍याङको दायाँ–बाँया एक–एक मिटरको फरकमा थुप्रै मूर्ति थिए । किन्दर राईका अनुसार यी मूर्ति व्यक्तिका विभिन्न स्वरूपका प्रतिविम्ब हुन् ।

कतिपय रिसाएका, कतिले हात लामो पारेका, कति हाँसिरहेका त कतिचाहिँ नाचिरहेका । उनले भनेजस्तै साँच्चै नै ती मूर्ति हेर्दाहेर्दै उकालो काटिएको पत्तै भएन । माथि पुगेपछि भित्तामा ठूलो ‘लाफिङ बुद्ध’को मूर्तिलाई देखाउँदै उनले भने, ‘यो मन्दिरभित्र साना र ठूला गरी करिब १० हजारभन्दा बढी बुद्धका मूर्ति छन् ।’

१० हजार ? सुन्नेबित्तिकै उत्तेजित हुँदै त्यति नै खेर सुरु गर्ने विचार गरी मैले भावनालाई तयार गराएँ । झन्डा र ब्यानर लिएर सो मन्दिरको ठीकअगाडि बसेर काम सुरु गरँे । दलाई लामा, जिटिभीको बुद्ध सिरियल, हाम्रो एमएको पुस्तकलाई जोड्दै कुरो अगाडि बढाएँ । कार्यक्रम सक्ने वेलामा भने ठूलो आपत आइलाग्यो ।

चिनियाँ मूलकी एउटी महिला रिसाउँदै अनि फतफताउँदै त्यहाँ आइन् । ‘हेलो महाशय, के गर्नुभएको हो यो ? मन्दिरभित्र फोटो खिच्न र भिडियो खिच्न मनाही छ भन्ने तपार्इंलाई थाहा छैन ?’ उनी त सादा पोसाककी प्रहरी पो रहिछन् ।

लौ मार्‍यो ! हतार–हतारमा हामीले त्यो सूचना पढ्नै बिर्सेछौँ । मैले भगवान् बुद्धको जन्म नेपालमा भएको सन्देश दिन खोजेको कुरा उनलाई नम्र भावमा बताए । औँला मतिर तेस्र्याउँदै रिसाएर उनले भनिन्, ‘भिडियो खिचेको हो कि होइन ? नत्र तपार्इं पुलिस स्टेसन जानुपर्ने हुन्छ ।’

लौ फसाद पर्‍यो । ३ घण्टापछि नेपाल उड्नुपर्ने वेलामा चौकी धाउनुपर्‍यो भने त बर्बार्दै हुन्छ । फोटो मात्र खिचेको मेरो कुरामा विश्वास नगरेपछि उनी आफैँले भावनाको हातमा रहेको मोबाइल खोसिन् ।

सबैको अनुहार कालो–नीलो भयो । भाग्यबस् भावनाले फेसबुक लाइभको बटमचाहिँ थिचेकी रहिनछिन् । अन्तिम चेतावनी दिँदै ती महिला त्यहाँबाट हिँडिन् ।

‘भगवान् बुद्धले हामीलाई बचाउनुभयो । जय बुद्ध !’ दमन रूपाखेतीले दुई हात जोडेर मन्दिरतिर फर्किएर नमस्कार गरे ।

तपाईको प्रतिक्रिया