logo

bar

अन्तर्राष्ट्रिय खेलकुदलाई फर्केर हेर्दा

एजेन्सी नयाँ पत्रिका | पुष १७, २०७४

सन् २०१७ मा विशेषतः अन्तर्राष्ट्रिय खेलकुदमा फुटबल, टेनिस र क्रिकेटका विभिन्न घटनाले स्थान पाए । अन्तर्राष्ट्रिय मिडियाहरूले पनि यी तीन खेललाई नै बढी प्राथमिकता दिएको देखिन्छ । विश्वकप छनोटमा नेदरल्यान्ड, इटाली, चिली र अमेरिका छनोट नहुँदा अन्य राष्ट्रले भने निरन्तरता पाए । क्रिकेटको कुरा गर्दा भारतले नै आधिपत्य जमायो । विराट कोहली, रोहित शर्मा, स्टिभ स्मिथ र एलेस्टर कुकले व्यक्तिगत रेकर्ड बनाए । पाकिस्तानले पहिलोपटक च्याम्पियन्स लिग जित्यो भने अफगानिस्तान र आयरल्यान्डले टेस्ट मान्यता पाए । टेनिसमा रोजर फेडेरर र राफेल नाडालबाहेक अन्य खेलाडी चम्कन सकेनन् । महिलातर्फ भने मिश्रित प्रदर्शन देखियो । प्रतिबन्धपछि मारिया सारापोभा गत वर्ष नै सक्रिय टेनिसमा फर्किइन् । यस्तै, विभिन्न घटना समेट्दै एजेन्सीहरूको सहयोगमा तयार पारिएको रिपोर्ट यस्तो छ :

फुटबल
गत वर्ष ब्राजिलियन कप्तान नेमार जुनियरको पेरिस सेन्ट जर्मेन (पिएसजी)मा १८ करोड ९० लाख पाउन्डमा अनुबन्ध हुनु नै सनसनीपूर्ण समाचार बनेको थियो । स्पेनिस क्लब बार्सिलोनामा लियोनल मेसी र लुइस सुआरेजसँगै रमाइरहेका नेमारले एक्कासि पिएसजीसँग अनुबन्धन गर्दा विश्व फुटबलमै खलबली मच्चिएको थियो । नाउ क्याम्पमै जमेका कारण बार्सिलोनाले आफ्ना स्टार फुटबलर नेमार अन्य क्लब नचहार्ने दाबी गरिरहँदा नेमारले सुटुक्क पिएसजीमा नयाँ भविष्य खोजे ।

गत वर्ष अन्तर्राष्ट्रिय फुटबलमा रियल म्याड्रिडले राज ग¥यो भन्दा फरक नपर्ला । फ्रेन्च राष्ट्रिय टोलीका पूर्वप्लेमेकर जिनेदिन जिदानले प्रशिक्षण गरेको १८ महिनाभित्र रियललाई पाँच महत्वपूर्ण फुटबल उपाधि जिताउँदै युरोपकै नम्बर एक क्लबका रूपमा स्थापित गराए । ९० को दशकपछि युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्ने रियल पहिलो क्लब बनेको छ।

लगातार दोस्रोपटक च्याम्पियन्स लिगको ट्रफी सान्टिएगो बर्नावेउ भित्राउने क्रममा रियलले फाइनलमा सिरिए लिग च्याम्पियन युभेन्टसलाई ४–१ ले स्तब्ध पार्‍यो । तीन वर्षको अन्तरमा दोस्रोपटक फाइनल पुग्दा पनि युभेन्टसले च्याम्पियन्स लिग उपाधि चुम्न सकेन ।

रियलले पाँच वर्षपछि स्पेनिस ला लिगा उपाधि पनि जित्यो । रियलले बार्सिलोनालाई ३ अंकले पछाडि पार्दै लिग उपाधि हात पारेको थियो । चर्चित एल क्लासिकोमा बार्सिलोनाले रियललाई पाखा लगायो । यस वर्षको पहिलो एल क्लासिको बार्सिलोनाले ३–० ले जित्यो । रियलले गत वर्ष नै क्लब फिफा विश्वकप उपाधि रक्षा गर्‍यो । रियलले क्लब विश्वकपसमेत जित्दा ब्राजिलियन क्लबलाई हराएको थियो । रियलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पाँचौँपटक फिफा वर्ष खेलाडी घोषित हुँदै मेसीको बराबरी गरेका छन् । फिफा वर्षलगायत रोनाल्डोले फरक–फरक व्यक्तिगत उपाधि पनि जिते । यता, मेसीले स्पेनिस लिगकै सर्वाधिक गोलकर्ताको उपाधि हात पारे ।

बुन्डेस लिगमा बायर्न म्युनिख नै च्याम्पियन रह्यो । सेरिए लिगमा युभेन्टस लगातार ६ पटक शीर्ष स्थानमै रहयाे । विश्वकै चर्चित इंग्लिस प्रिमियर लिगमा एन्सेलो कोन्टेले चेल्सीलाई लिग च्याम्पियन बनाए । जोसे माउरिन्होले कार्यभार सम्हालेको पहिलो वर्षमै म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिगमा छनोट गराए । गत वर्ष नै सन् २०१८ विश्वकपका लागि ३२ राष्ट्र छनोट भए । ब्राजिलले लगातार विश्वकपमा स्थान बनाउँदा ६ दशकपछि इटाली पहिलोपटक विश्वकपमा पुग्न असफल भयो । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना अन्तिम खेलमा विजयी हुँदै विश्वकपमा पुग्यो । अन्तिम खेलअघिसम्म पनि अर्जेन्टिना विश्वकपमा रहने वा नरहने द्विविधा थियो ।

विश्वकपमा नाम चलेका राष्ट्रहरूको दबदबा रहँदा स्विडेन र नेदरल्यान्डजस्ता राष्ट्रले छनोट चरण नै पार गर्न सकेनन् । अमेरिका सन् १९९० पछि पहिलोपटक विश्वकपमा पुग्न सकेन । यसैगरी, चिली, आइभरी कोस्ट र घाना पनि छनोटमा असफल भए । विश्वकपमा नाम चलेका राष्ट्र छनोट नहुँदा ठूला खेलाडीले समेत विश्वकप गुमाएका छन् । सन् २०१० विश्वकपको उपविजेता नेदरल्यान्डका आर्जेन रोबिन, चिलीका एलेक्सिस सान्जेज र इटालीका गियोलुगी बुफानोजस्ता स्टार फुटबलरले रसिया विश्वकप गुमाएका छन् । गत वर्ष नै भारतमा सम्पन्न यू–१७ विश्वकपको फाइनलमा इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै स्पेनमाथि ५–२ को सनसनीपूर्ण जित निकाल्यो ।

टेनिस
स्विट्जरल्यान्डका रोजर फेडेरर र स्पेनिस राफेल नाडालबीच उपाधि जित्ने होडबाजी नै चल्यो । टेनिसका भेट्रान्स खेलाडीद्वयले आफ्ना समकक्षी र युवा खेलाडीलाई ग्रान्डस्लाम जित्ने अवसर नै दिएनन् । वर्षमा आयोजना हुने चार ग्रान्डस्लाममा केवल नाडाल र फेडेरर मात्र विजयी भए । दुवैले चारै ग्रान्डस्लाममाथि एकाधिकार जमाए । अस्ट्रेलियन ओपन र विम्बल्डन ग्रान्डस्लाम फेडेररको पोल्टामा गयो । फ्रेन्च र युएस ओपन नाडालले आफ्नो नाममा लेखाए । दुवैले गत वर्ष युवा अवस्थाकै फुर्ति देखाउँदै ग्रान्डस्लाम मात्र होइन, एटिपी सिरिजमा समेत उत्कृष्ट प्रदर्शन गरे । दुवैले समग्रमा १३ एटिपी मास्टर्स सिरिज हात पारे ।

गत वर्ष फेडेररले नाडाललाई चार फाइनल हराए । अस्ट्रेलियन ओपनको फाइनलमा फेडेररले नाडाललाई ३–२ को कठिन सेटमा हराए । नाडालले फ्रेन्च दशौँपटक जिते । ग्रान्डस्लाम इतिहासमा एकै खेलाडीले १० पटक उपाधि जित्ने कीर्तिमान नाडालले राखेका छन् ।

फेडेरर नाडालको कीर्तिमान तोड्न अग्रसर छन् । उनले विम्बल्डन आठौँपटक जितेका छन् । गत वर्ष दुई ग्रान्डस्लाम जितेका फेडेररले कीर्तिमानी रूपमा १९औँपटक ग्रान्डस्लाम उपाधि आफ्नो झोलीमा राखे । नाडाल १५ ग्रान्डस्लामका साथ फेडेररलाई पछ्याइरहेका छन् । सर्बियाली स्टार खेलाडी नोभाक जोकोभिक र ब्रिटिस नम्बर एक खेलाडी एन्डी मुर्रेले सोचेजस्तो सफतला हात पार्न सकेनन् । दुवै खेलाडी एटिपी मास्टर्स सिरिजमै मात्र सीमित रहे ।

पुरुषतर्फ एकपक्षीय रहँदा महिलातर्फ भने उतारचढाब नतिजा निस्कियो । कुनै पनि एक खेलाडीले ग्रान्डस्लाम र एटिपी मास्टर्स सिरिजमाथि आधिपत्य जमाउन सकेनन् । गत वर्ष महिलातर्फका चार ग्रान्डस्लाम फरक–फरक खेलाडीले जिते । वर्षको पहिलो ग्रान्डस्लाम सेरेना विलियम्सले जितिन् । गर्भवती अवस्थामै सेरेनाले अस्ट्रेलियन ओपन जित्दै ग्रान्डस्लाम संख्या २४ पुर्‍याइन् । लात्भियाकी जेलिना ओस्टापेन्कोले पहिलोपटक फेन्च ओपन जितिन् ।

स्पेनकी ग्राविने मुगुरुजाले दोस्रोपटक ग्रान्डस्लाम उपाधि हात पार्नेक्रममा विम्बल्डनमाथि कब्जा जमाइन् । वर्षको अन्तिम ग्रान्डस्लामको रूपमा रहेको युएस ओपन उपाधि अमेरिकाकै स्लोना स्टेफान्सले जितिन् । स्टेफान्सको यो पहिलो ग्रान्डस्लाम थियो । गत वर्ष नै सेरेनाले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिइन् । कारोलिन वोज्नियाकीको प्रेम चक्करले पनि चर्चा पायो । कुनै समय महिला टेनिसकी एक नम्बर खेलाडी मारिया सारापोभा पनि गत वर्ष नै सक्रिय खेलमा फर्किइन् । मेडोलियन प्रतिबन्धित औषधि सेवन गरेका कारण सारापोभाले १८ महिना प्रतिबन्धको सामना गर्नुपर्‍यो । फ्रेन्च ओपनको क्वालिफायरबाटै उनले टेनिसमा पुनरागमन गरिन् ।

क्रिकेट
भारतले क्रिकेटका सबै विधामा राम्रो प्रदर्शन गर्‍यो । भारतीय क्रिकेट टोलीले टेस्ट, एकदिवसीय तथा टी–२० फम्र्याटमा आफूलाई अन्य राष्ट्रको तुलनामा अब्बल साबित गर्‍यो । अस्ट्रेलियाले भारतबाहेक अन्य टोलीको तुलनामा वर्षलाई सुखद बनायो । गत वर्षको एक मात्र ठूलो प्रतियोगिता च्याम्पियन्स ट्रफी जित्दै पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पुनरागमन गर्‍यो । पाकिस्तानले च्याम्पियन्स ट्रफीको फाइनलमा भारतमाथि सनसनीपूर्ण जित निकालेको थियो ।

टेस्टमा भारतीय कप्तान विराट कोहलीले दोहोरो शतकको रेकर्ड नै बनाए । भारतले गत वर्ष घरेलु मैदानमा खेलेको चारै सिरिज र ६ एकदिवसीय सिरिज हात पार्‍यो । भारत ६ टी–२० मध्ये चारवटा आफ्नो नाममा पार्न सफल भयो । कप्तान विराटले गत क्यालेन्डर एयरमा २ हजार ८ सय १८ रन बनाए । भारतकै रोहित शर्माले करिअरमा तेस्रोपटक एकदिवसीय दोहोरो शतक र पहिलोपटक टी–२० मा छिटो शतक प्रहार गर्ने ब्याट्सम्यानमा नाम लेखाए । अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको पाँच टेस्टमा ३–० को जित निकाल्यो ।

स्मिथले लगातार चौथो वर्ष १ हजार रन पूरा गरे । आलोचकहरूको मुख बन्द गर्नेक्रममा इंग्लिस ब्याट्सम्यान एलेस्टर कुकले पाँचौँपटक दोहोरो शतकीय इनिङ एसेजको चौथो टेस्टमा खेले । उनले व्यक्तिगत सर्वाधिक २ सय ४४ रन पनि एसेजमै बनाए । गत वर्ष पाकिस्तानले आफूलाई पुनस्र्थापित गर्ने प्रयास गर्‍यो । पाकिस्तानका मिसवाह उल हक र युनिस खानको सन्न्यासले टिमलाई केही चिन्तित बनायो । पाकिस्तानले अस्टे«लियामा गएर डे–नाइट टेस्ट र एकदिवसीय खेल खेल्यो । गत वर्ष नै अफगानिस्तान र आयरल्यान्डले टेस्ट मान्यता पाए । टी–२० मा अफगानिस्तानले लगातार ११ खेल जित्दै विश्वकीर्तिमान रच्यो ।

अन्य
अमेरिकन गल्फर जोर्डनका लागि गत वर्ष सम्झनलायक रह्यो । एकै वर्षका महत्वपूर्ण चारमध्ये तीन उपाधि जित्ने जोर्डन १२औँ गल्फर बने । उनले द ओपन च्याम्पियनसिप, भार्डोन ट्रफी र ब्यारोन नेल्सन अवार्ड हात पारे । पूर्व नम्बर एक खेलाडी टाइगर उडले अन्तमा पुनरागमन गरे । डिसेम्बरमा हिरो वल्र्ड च्यालेन्जमा उडको सहभागिताले समर्थक उत्साहित बनेका थिए । यता, बक्सिङमा एन्थोनी जोसुआ र काटिए टेलोर नै उत्कृष्ट बक्सरका रूपमा रहे ।

तपाईको प्रतिक्रिया