logo

bar

वैदेशिक सहयोग ३० प्रतिशत बढ्यो : १० ठूला दाताले दिएको रकमको हिस्सा ९१ प्रतिशत

जनार्दन बराल/नयाँ पत्रिका काठमाडौं, १७ पुस | पुष १७, २०७४

गत आर्थिक वर्ष ०७३-७४ मा विदेशी सहयोग ३० प्रतिशतले बढेको छ । अघिल्लो आव ०७२-७३ मा कुल १ खर्ब ७ अर्ब ४० करोड रुपैयाँ (१ अर्ब ७ करोड ४० लाख अमेरिकी डलर) वैदेशिक सहयोग (सरकारी विकास सहायता– ओडिए) आएकोमा गत आवमा त्यो बढेर १ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो ।

विगत ६ वर्षको अवधिमा ९६ अर्बदेखि १ खर्ब १० अर्ब रुपैयाँको बीचमा वैदेशिक सहयोग आएको थियो । तर, गत वर्ष वैदेशिक सहयोग उच्च रूपमा बढेको अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन २०१७ मा उल्लेख गरिएको छ ।

सरकारले प्राप्त गरेको सहयोगमध्ये अनुदानको हिस्सा सबैभन्दा बढी ४१ दशमलव ७६ प्रतिशत (५८ अर्ब २३ करोड) रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ऋण ३९ दशमलव ३६ प्रतिशत (५४ अर्ब ८८ करोड) र प्राविधिक सहयोग १८ दशमलव ८८ प्रतिशत (२६ अर्ब ३३ करोड रुपैयाँ) रहेको छ ।

विश्व बैंक सबैभन्दा ठूलो दाता


विगतमा झैँ विश्व बैंक नेपालको सबैभन्दा ठूलो दाताका रूपमा रहेको छ । गत आर्थिक वर्ष ०७३-७४ मा विश्व बैंकले ३४ अर्ब ६० करोड रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, एसियाली विकास बैंकले २५ अर्ब ३९ करोड रुपैयाँ प्रदान गरेको छ । यी दुई दाताले दिएको रकम अधिकांशतः ऋण हो । त्यस्तै, अमेरिकाले १३ अर्ब ४० करोड रुपैयाँ, बेलायतले १२ अर्ब ८३ करोड र संयुक्त राष्ट्रसंघअन्तर्गतका कार्यालयहरूले १२ अर्ब ७ करोड रुपैयाँ प्रदान गरेका छन् । कुल वैदेशिक सहयोगमध्ये १० वटा ठूला दाताले दिएको रकमको हिस्सा ९१ प्रतिशत रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

अनबजेट सहयोग बढ्दै
कुल वैदेशिक सहयोगमध्ये ७३ प्रतिशत रकम सरकारी बजेटअन्तर्गत (अनबजेट) खर्च भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बिन्दुले बढी हो । आर्थिक वर्ष ०७२-७३ मा अनबजेट वैदेशिक सहयोग खर्च जम्मा ६३ प्रतिशत मात्रै भएको थियो । अनबजेट सहयोगमध्ये पनि सरकारी ट्रेजरीबाट खर्च हुने सहयोगको हिस्सा ६५ प्रतिशत र ट्रेजरीबाहिरबाट हुने खर्चको हिस्सा ३५ प्रतिशत रहेको छ ।

सरकारले प्राप्त गरेको कुल वैदेशिक सहयोगमध्ये १५ अर्ब ५० करोड रुपैयाँ बजेटरी सहयोगका रूपमा प्राप्त गरेको छ । बजेटरी सहयोगका रूपमा प्राप्त हुने रकम सरकारले आफ्नो प्राथमिकताका आधारमा खर्च गर्न पाउँछ । ती वर्षअघि जम्मा १ अर्ब रुपैयाँ मात्रै बजेटरी सहयोगका रूपमा आएको थियो ।

प्रदेश नं ३ मा सबैभन्दा बढी सहयोग
कुल वैदेशिक सहयोगमध्ये सबैभन्दा बढी प्रदेश नं ३ मा प्राप्त भएको छ । प्रदेश नं ३ मा ३५ अर्ब ४७ करोड रुपैयाँ वैदेशिक सहयोग प्राप्त भएको हो ।

सबै केन्द्रीय सरकारी कार्यालयहरू यही प्रदेशमा भएको तथा प्राविधिक सहयोग तथा बजेटरी सहयोगजस्ता ठूला सहायता यहीँ प्राप्त हुने भएकाले यस्तो भएको प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, प्रदेश नं ७ र १ मा ६ अर्ब ११ करोड, ५ अर्ब ६९ करोड रुपैयाँ प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया