logo

bar

२९ आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे

अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, १७ पुस | पुष १७, २०७४

देशभर निर्माण सम्पन्न भइसकेका आन्तरिक विमानस्थलमध्ये धावनमार्ग कालोपत्रे गरिएका विमानस्थलको संख्या २९ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७३-७४ मा मात्र ६ वटा आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ ।

हवाई सुरक्षा अभिवृद्धि, पूर्वाधार विकास तथा स्तरोन्नति गर्ने क्रममा विभिन्न आन्तरिक विमानस्थलमा सुधारका कार्य भइरहेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । उनका अनुसार चालू आव ०७४-७५ मा पनि थप ६ विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने योजना छ । त्यसका लागि काम जारी रहेको उनले जानकारी दिए ।

आव ०७३-७४ मा कालोपत्रे भएका विमानस्थल
मनमाया राई विमानस्थल : भोजपुर
सुकेटार विमानस्थल : ताप्लेजुङ
चौरजहारी : रुकुम
डोल्पा विमानस्थल : डोल्पा
रारा विमानस्थल : मुगु

चालू आव ०७४-७५ मा कालोपत्रे भइरहेका विमानस्थल
लामिडाँडा विमानस्थल : खोटाङ
थामखर्क विमानस्थल :  खोटाङ
राजविराज विमानस्थल :  इटहरी
डोटी विमानस्थल : डोटी
पाटन (बैतडी) विमानस्थल : बैतडी
साँफेबगर विमानस्थल : अछाम

३२ विमानस्थल सञ्चालनमा
प्राधिकरणका अनुसार अहिले देशभर ४९ वटा आन्तरिक विमानस्थल निर्माण सम्पन्न भइसकेका छन् । एक अन्तर्राष्ट्रियसहित विमानस्थलको कुल संख्या भने ५० छ । तर, त्यसमध्ये ३२ वटा विमानस्थलमा मात्र नियमित हवाईसेवा सञ्चालन भइरहेको छ । सञ्चालनमा रहेका ३२ मध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विराटनगर, नेपालगन्ज, गौतम बुद्ध विमानस्थल भैरहवा र पोखरा विमानस्थल ‘हब एयरपोर्ट’ हुन् । यी विमानस्थलबाट देशका विभिन्न गन्तव्यमा उडान हुने गर्छ ।

गुल्मीमा यसै वर्ष परीक्षण
प्राधिकरणका अनुसार अहिले देशभर विभिन्न ७ स्थानमा आन्तरिक विमानस्थल निर्माणाधीन अवस्थामा छन् । त्यसमध्ये गुल्मीको सिमीचौरमा बन्दै गरेको विमानस्थलमा यसै आवभित्र परीक्षण उडान गर्ने योजना रहेको महानिर्देशक गौतमले जानकारी दिए ।

प्राधिकरणले आन्तरिक विमानस्थलहरूको क्षमता अभिवृद्धि तथा स्तरोन्नति गर्न विभिन्न स्थानमा जग्गा अधिग्रहणकार्य जारी राखेको महानिर्देशक गौतमले जानकारी दिए । उनका अनुसार रारा, लुक्ला, धनगढी, चन्द्रगढी, सिमिकोटलगायत विमानस्थलमा जग्गा अधिग्रहणकार्य अगाडि बढिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु