logo

bar

प्राधिकरण र पर्यटन बोर्डले मनाए वार्षिकोत्सव

नयाँ पत्रिका काठमाडौं, १७ पुस | पुष १७, २०७४

प्राधिकरण र पर्यटन बोर्डले मनाए वार्षिकोत्सव – नेपाली पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका दुई महत्वपूर्ण निकाय नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार एकै दिन स्थापनाको १९औँ वार्षिकोत्सव मनाएका छन् । ३१ डिसेम्बर १९९८ (१६ पुस २०५५) मा तत्कालीन हवाई विभागलाई खारेज गरी प्राधिकरण र तत्कालीन पर्यटन विभागलाई खारेज गरी एकै दिन बोर्ड स्थापना गरिएको थियो । यसै सन्दर्भमा प्राधिकरण र बोर्डले एकै दिन स्थापना दिवस मनाउँदै आएका छन् ।

आइतबार बोर्ड र प्राधिकरणका छुट्टै कार्यक्रममा सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दुवै कार्यक्रममा कर्मचारी युनियनका तर्फबाट शब्दबाण सुन्नुपर्‍यो । प्राधिकरणको कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले कर्मचारीले खान पाउनुपर्ने बोनस सचिव न्यौपानेले रोक्न खोजेको आरोप लगाए ।

उनले दैनिक ज्यालादारीमा काम गर्ने गरी ‘आउटसोर्सिङ’बाट राखिएका मजदुरलाई करारमा नियुक्त गर्नुपर्ने बताउँदै माग पूरा नभए आन्दोलनमा उत्रनसमेत मजदुरलाई प्रेरित गरे । उनले भने, ‘तपार्इंहरू आन्दोलनमा उत्रनुस्, आधिकारिक ट्रेड युनियन तपाईंहरूलाई साथ दिन्छ ।’ जवाफमा सचिव न्यौपानेले आफूले कानुनमा जे लेखेको छ, त्यही बोलेको भन्दै कानुनविपरीत गएर कसैले पनि बोनस खान नसक्ने स्पष्ट पारे ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले व्यवस्थापन र कर्मचारीबीच सौहार्दपूर्ण वातावरण नभए संस्था अगाडि बढ्न नसक्ने स्पष्ट पारे । वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अध्यक्ष पवित्रकुमार कार्कीले त्रिभुवन विमानस्थलमा भएको अस्तव्यस्तताका कारण यात्रुबाट गाली खानुपरेको भन्दै यथाशीघ्र यसको व्यवस्थापनमा सुधार गर्नुपर्ने माग गरे ।

उता, पर्यटन बोर्डको कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष कुन्दन शर्माले कर्मचारीको वृत्तिविकासमा ध्यान दिन नसक्दा उत्कृष्ट कर्मचारीले बोर्ड छाड्दै जाने समस्या आएको भन्दै व्यवस्थापनको ध्यानाकर्षण गराए । एउटा व्यक्तिले जागिर खाएदेखि सेवानिवृत्त नहोउन्जेल एउटै पदमा बस्नुपर्ने अवस्थामा कर्मचारीले क्षमताअनुसार प्रदर्शन देखाउन नसक्ने उनको भनाइ थियो । वार्षिकोत्सवको अवसर पारी बोर्डले ‘एक्सपेरियन्स नेपाल’ नामक अभियानको सुरुवात गर्‍यो ।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रका सबै सरोकारवालाको सामूहिक प्रयासबाट सन् २०१७ मा १० लाख पर्यटक आगमन पुग्ने वातावरण बनेको बताए । उक्त अवसरमा मन्त्रालयका सचिव न्यौपानेले बोर्डमा सरकारी कार्यालयमा जस्तो अल्छीपाराले काम गरेर नपुग्ने भन्दै कर्मचारीलाई सचेत गराए ।

तपाईको प्रतिक्रिया