logo

bar
logo
Advertisment
SKIP THIS

जलविद्युतकाे आइपिओ विवरणपत्रमा प्रतिसेयर खुद सम्पत्ति र आम्दानी उल्लेख गर्नुपर्ने

नयाँ पत्रिका काठमाडौं, १७ पुस | पुष १७, २०७४

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपिओ निष्कासन गर्न प्रकाशित गरिने विवरणपत्रमा प्रतिसेयर खुद सम्पत्ति र प्रतिसेयर आम्दानी पनि उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । आइपिओ निष्कासन गर्न लागेको कम्पनी सञ्चालनमा आएको तीन वर्ष पूरा गरिसकेको अवस्थामा विगतका वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणबमोजिम प्रतिसेयर आम्दानी र प्रतिसेयर खुद सम्पत्ति उल्लेख गर्न निर्देशन दिएको छ ।

साथै जलविद्युत् कम्पनी भएमा प्रतिमेगावाट लागत, विद्युत् उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधि पनि उल्लेख गर्न निर्देशन दिएको छ । विवरणपत्रमा क्रेडिट रेटिङ पनि उल्लेख गर्नुपर्ने बोर्डले निर्देशन दिएको छ । बोर्डले यी कुराहरू विवरणपत्रको मुखपृष्ठमा स्पष्ट देखिने गरी बक्समा प्रस्तुत गर्न निर्देशन दिएको हो ।

संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणबमोजिम प्रतिसेयर खुद सम्पत्ति प्रतिसेयर अंकित मूल्यभन्दा कम भएका र सबैभन्दा न्यून रेटिङ प्राप्त गरेका वित्तीय अवस्था सन्तोषजनक नरहेका मुख्यतः जलविद्युत् कम्पनीहरूले धितोपत्रको सार्वजनिक निष्कासन गर्दा सो कुरा प्रस्ट्याउनुपर्नेछ । यसले सार्वजनिक निष्कासन प्रक्रियालाई थप व्यवस्थित तथा पारदर्शी बनाउन सहयोग पुग्ने बोर्डको भनाइ छ । धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षणका लागि धितोपत्रको सार्वजनिक निष्कासन सम्बन्धमा लगानीकर्ताहरूलाई सुसूचित गराउन र देहायबमोजिमका विवरणहरू खुलाउनुपर्ने थप व्यवस्था गरेको हो ।

कम्पनीले प्रक्षेपित वित्तीय विवरण प्रमाणित गर्दा लेखापरीक्षकले प्रक्षेपित वित्तीय विवरण ठीक रहेको भनी स्पष्ट रूपमा प्रमाणित गर्नुपर्नेछ । कम्पनीले विवरणपत्रमा प्रक्षेपण गरेका विवरणहरू तथा वास्तविक विवरण तुलनात्मक रूपमा वार्षिक प्रतिवेदनमा तालिकामा प्रस्तुत गर्नुपर्नेछ । प्रक्षेपित विवरणभन्दा वास्तविक विवरण फरक भएमा सोको कारण खुलाई आफ्नो वार्षिक प्रतिवेदनमा प्रस्तुत गर्नुपर्ने बोर्डले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

धितोपत्रको सार्वजनिक निष्कासनका लागि तयार गरिने विवरणपत्र निष्कासनकर्ता कम्पनीको वेबसाइटमा कम्तीमा वित्तीय विवरण प्रक्षेपण गरिएको अवधिसम्म अनिवार्य रूपमा राख्नुपर्नेछ । साथै, निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा धितोपत्रको बाँडफाँड नभएसम्म र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाको अनलाइन आवेदन गर्ने स्थानमा विवरणपत्रको लिंक निष्कासन अवधि भरिराख्न बोर्डले आदेश दिएको छ । सर्वसाधारण लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्कासनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रूपमा उक्त निष्कासनका लागि तयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिएको हो भन्ने उद्घोषण गराउने व्यवस्था गर्नुपर्नेछ ।

क्रेडिट रेटिङ कम्पनीले आइपिओ निष्कासन गर्ने धितोपत्रलाई न्यून ग्रेड प्रदान गरेमा र कम्पनीको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणबमोजिम प्रतिसेयर खुद सम्पत्तिप्रति सेयर अंकित मूल्यभन्दा कम भएमा विवरण निष्कासनकर्ता कम्पनीले आइपिओ निष्कासनका लागि प्रकाशन गर्ने आह्वानपत्रलगायत अन्य सूचनाहरूमा स्पष्ट देखिने गरी ठूलो अक्षरमा उल्लेख गर्नुपर्नेछ ।

यसले सार्वजनिक निष्कासन गर्ने कम्पनीहरूको सम्बन्धमा लगानीकर्ताहरूलाई थप जानकारी प्राप्त भई लगानी सम्बन्धमा उचित निर्णय लिन मद्दत पुग्ने बोर्डको अपेक्षा रहेको छ । त्यसैगरी, कम्पनीहरूलाई परियोजना सफल बनाउन अवसरका रूपमा रहने बोर्डले अपेक्षा गरेको छ । बोर्डले भविष्यमा सार्वजनिक निष्कासनलाई थप व्यवस्थित बनाउन कम्पनीको वस्तुस्थितिका आधारमा बजारबाट नै यथार्थपरक मूल्य निर्धारण गर्ने बुक बिल्डिङ पद्धति लागू गर्न आवश्यक नीतिगत व्यवस्था गर्ने योजनासमेत रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु