logo

bar

राजनीतिक लेनदेनले द्वन्द्वपीडितको समस्या ज्यूँकात्यू : मोहना अन्सारी

शान्ता कमली लमजुङ, १६ पुस | पुष १६, २०७४

राजनीतिक लेनदेनकै कारण द्वन्द्वपीडितको समस्या अन्त्य नभएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले चिन्ता व्यक्त गरेकी छिन् ।

राज्यद्वारा बेपत्ता पारिएका तेजबहादुर भण्डारी स्मरण तथा तेजबहादुर भण्डारी स्मृति खोज पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्न लमजुङ आएकी प्रवक्ता अन्सारीले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘मानव अधिकारमैत्री समाज निर्माणको पहिलो खुड्किलो राजनीति हो । यसलाई संस्थागत गर्ने देशको कानुन हो । हरेक कुराको अन्त्य हुन्छ तर, मैले मुलुकमा द्वन्द्पीडितका समस्या अन्त्य भएको देख्न पाइएन ।’

उनले कानुनी रूपमा न्याय आवश्यक रहेको र प्राविधिक रूपमा पीडितको पक्षमा राज्य संरक्षक बन्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘आयोग १६ वर्ष पूरा गरी १७ वर्षमा पाइला टेक्दै गर्दा आफ्नो काममा आयोग दक्षताको खानी भइसकेको छ । दक्षतालाई आफैँमा प्रयोग गर्नु आयोगको पहिलो दायित्व पनि हो,’ उनले भनिन् ।

प्रवक्ता अन्सारीले ३ वर्षमा मानव अधिकार आयोगले द्वन्द्वपीडित, नेपाल सरकार र अन्तर्राष्ट्रिय जगतमा आफ्नो ठोस उपस्थिति जनाएको बताइन् । ‘नेपालमा सशक्त मानव अधिकार आयोग रहेको धेरैलाई महसुस भएको छ ।

उनले बालबालिका र महिलाहरू बढी मात्रमा प्रभावित भएको भन्दै उनीहरूले न्याय पाउन नसकेको दुखेसो गरिन् । अन्सारीका अनुसार ५ हजार उजुरी आयोगमा अनुसन्धानकै क्रममा रहेको छ ।

कार्यक्रममा प्रदेश सभा क का सांसद धनञ्जय दवाडीले गैरन्यायीक ढंगले तेजबहादुर भण्डारीलाई बेपत्ता पारिएको भन्दै सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्ने बताए ।

उनले वाम गठबन्धन सरकारमा आएसँगै आफूहरूले द्वन्द्वपीडित र बेपत्ता पारिएका व्यक्तिहरूका पक्षमा आवाज उठाउने बताए । त्यस्तै, बेशिसहर नगरपालिकाका मेयर गुमानसिं अर्यालले द्वन्द्वको समस्यमा राज्यले गैरन्यायीक कार्य गर्नेलाई छुट दिएकाले समस्या सिर्जना भएको बताए ।

उनले राज्य वा विद्रोही पक्षबाट घटना भए पनि यसलाई कानुनी सजाय हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा बोल्दै बेपत्ता नागरिक भण्डारीका छोरा रामकुमार भण्डारीले आफ्नो बुबाको सत्य तथ्य पत्ता लगाउन देश विदेशमा रहेका मानवअधिकारवादी संस्था र न्यायालय धाउँदासमेत वास्तविकता पाउन नसकेको बताए ।

सो अवसरमा पीडित परिवारजनले छिटो अवस्था पत्ता लगाएर दोषीउपर कारबाहीको माग गरेका छन् ।

द्वन्द्वकालमा तत्कालीन राज्यपक्ष र विद्रोही पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिहरूको खोजविनका साथै सामाजिक न्यायको पक्षमा कलम चलाएको भन्दै पत्रकार कृष्णप्रसाद अधिकारीलार्ई प्रमाणपत्रसहित ५ हजार १ सय १ रुपैयाँसहित पुरस्कृत गरिएको छ ।

लमजुङमा राज्यद्वारा १५ जना र विद्रोही पक्षद्वारा एकजना बेपत्ता रहेको स्थानीय शान्ति समितिका कार्यालयसचिव किरण लामिछानेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु