logo

bar

सेयरबजारमा मौसमी प्रभाव

नयाँ पत्रिका काठमाडौं, १६ पुस | पुष १६, २०७४

धितोपत्र बजार मुख्यतः सूचीकृत कम्पनीहरूले प्रकाशित गर्ने सूचनाका आधारमा तलमाथि हुने गर्दछ । कम्पनीहरूले नाफामूलक वित्तीय विवरण प्रकाशित गरेमा या आकर्षक लाभांश घोषणा गरेको सूचनाका आधारमा कम्पनीको सेयरमूल्यमा उतारचढाव आउँछ । तर, मौसमी या क्यालेन्डर सम्बन्धित ट्रेन्ड पनि बजारमा देखिन्छ ।

यी ट्रेन्डको सेयरमूल्यमा प्रभाव कम रहने गर्दछ । यी ट्रेन्डहरू चिरपरिचित हुन्छन् र लगानीकर्ताले यी ट्रेन्डहरूको अवलोकन गरेका हुन्छन् । यी ट्रेन्डहरूले बजारमा साँच्चै प्रभाव पार्ने हो कि होइन भन्ने विवादास्पद विषय भएपछि चतुर लगानीकर्ताहरूले यस्ता ट्रेन्डहरूको फाइदा उठाउने गर्छन् ।

विदेशी धितोपत्र बजारमा यस्ता विभिन्न ट्रेन्डहरू पाउन सकिन्छ । विदेशी धितोपत्र बजारमा जनवरी इफेक्ट, डिसेम्बर इफेक्ट, सान्टा क्लज ¥याली, सेप्टेम्बर इफेक्ट, टर्न अफ क्वाटर, ब्लु मन्डेज आदि मौसमसँग सम्बन्धित ट्रेन्डहरू हुन् ।

ल डिसेम्बर इफेक्ट, जनवरी इफेक्ट र सान्टा क्लज ¥याली 

यी तीन इफेक्ट एक–आपसमा सम्बन्धित छन् । सबैभन्दा पहिला डिसेम्बर इफेक्ट आउँछ । यो इफेक्ट क्रिसमसको अघिल्लो र पछिल्लो हप्ता हुने गर्दछ । यो इफेक्टमा बजार घट्ने गर्दछ । वर्षको अन्त्यमा कर घटाउन र क्यापिटल लस दाबी गर्न लगानीकर्ताहरू सेयर बिक्री गर्छन् जसका कारण बजार घट्ने गर्दछ ।

जनवरी महिना सुरु भएसँगै लगानीकर्ताहरू आफूले डिसेम्बरमा बेचेका सेयर खरिद गर्छन् । फलस्वरूप बजार सकारात्मक दिशामा अगाडि बढ्छ । यसलाई जनवरी इफेक्ट भनिन्छ । वर्षको पहिलो महिनामा सेयरबजार जुन दिशामा अगाडि बढ्छ, सोही दिशामा बजार वर्षभरि चल्ने विश्वास लगानीकर्ताहरू गर्दछन् ।

साथै,  पहिलो महिनामा लगानीकर्ताहरूले कम्पनीहरूको व्यावसायिक रणनीति नियाल्ने गर्छन् । कम्पनीहरूको व्यावसायिक रणनीतिअनुसार नै लगानीकर्ताहरूले सो कम्पनीमा लगानी गर्ने वा नगर्ने रणनीति बनाउँछन् ।

डिसेम्बर इफेक्ट बलियो हुँदा अथवा डिसेम्बर महिनाको सुरुवातमा नै डिसेम्बर इफेक्ट देखापरेका वर्षहरूमा लगानीकर्ताहरूले सान्टा क्लज ¥याली अनुभव गर्न सक्छन् । सान्टा क्लज ¥यालीमा बजार बढ्छ, तर जनवरी इफेक्टमा जस्तो प्रभावकारी हुँदैन ।

ल सेप्टेम्बर इफेक्ट

सामान्यतया, सेप्टेम्बर इफेक्ट भन्नाले गर्मी महिनाको अन्त्यलाई संकेत गर्दछ । अमेरिकामा सेप्टेम्बर महिनामा बजार घट्ने गर्दछ जसलाई सेप्टेम्बर इफेक्ट भनिन्छ । यस महिना आर्थिक वर्षको सबैभन्दा कमजोर महिना मानिन्छ । सेप्टेम्बर महिना सकिएलगत्तै बजार बढ्ने गर्दछ ।

ल सेल इन मे

गर्मी महिनामा विश्व सेयरबजार ओरालो लाग्ने गर्दछ । सो समयमा ठूला लगानीकर्ता र फन्ड व्यवस्थापकहरू छुट्टीमा जान्छन् । आनन्दमय र तनावविनाको छुट्टीका दिन बिताउन लगानीकर्ताहरूले आफूसँग भएको सेयर बेच्ने जसको प्रभावले बजार ओरालो लाग्छ । विश्व सेयरबजारमा प्रचलित भनाइ रहेको छ, ‘सेल इन मे एन्ड गो अवे’ ।

ल टर्न अफ क्वार्टर

धेरै समयअघिदेखि नै विश्व सेयरबजारमा त्रैमासको सुरुवात र अन्त्यमा बजारमा तीव्र उतारचढाव देखिन्छ । सूचीकृत कम्पनीहरूले तीन महिनामा गरेको प्रगतिलाई विश्लेषण गरेर लगानीकर्ताहरूले लगानी गर्छन् ।

कम्पनीले राम्रो व्यवसाय गरेमा लगानीकर्ताहरूले सो कम्पनीमा लगानी गर्छन् र त्यसको ठीकविपरीत नराम्रो व्यवसाय गरेमा सो कम्पनीबाट लगानी झिक्छन् । फलस्वरूप बजारमा तीव्र उतारचढाव आउँछ । यो इफेक्ट नेपाली सेयरबजारमा पनि लागू हुने गरेको छ । कम्पनीहरूले त्रैमासिक अवधिको वित्तीय विवरण प्रकाशित गर्छन् । सोही विवरणलाई विश्लेषण गरेर लगानीकर्ताहरूले लगानी गर्छन् ।

ल मन्डे ब्लुज

विश्व सेयरबजारमा कारोबार सोमबारदेखि सुरु हुन्छ । अन्य कारोबार दिनका तुलनामा साताको पहिलो कारोबार दिन कम्पनीहरूको सेयरमूल्यमा उच्च गिरावट आउने देखिएको छ । यस्तो हुनुको पछाडि विभिन्न कारण रहेका छन् ।

केही विश्लेषकहरूले भने अघिल्लो साताभरिका नराम्रा हल्लाको प्रभावले यस्तो हुने विश्लेषण गरेका छन् । केही विश्लेषकहरूले भने पहिलो दिन भएको हुनाले लगानीकर्ताको मनोबल कमजोर हुने भएको बजारमा कमी आउने विश्लेषण गरेका छन् । त्यसैगरी, शुक्रबार सेयरमूल्य उच्चदरले बढ्ने गरेको पनि पाइएको छ ।

विदेशी धितोपत्र बजारमा जनवरी इफेक्ट, डिसेम्बर इफेक्ट, सान्टा क्लज -याली, सेप्टेम्बर इफेक्ट, टर्न अफ क्वाटर, ब्लु मन्डेज आदि मौसमसँग सम्बन्धित ट्रेन्ड हुन्

नेपाली धितोपत्र बजारलाई भने मौसमले प्रभावित गरेको छैन । सेयरबजार त्रैमासिक मसान्त अथवा आर्थिक वर्षको परिवर्तनले प्रभावित पार्ने गर्दछ । असारमा नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिले सेयरबजारलाई सबैभन्दा प्रभावित गर्दछ । सेयरबजारमैत्री नीति आए लगानीकर्ताहरूको मनोबल बढ्छ । लगानीकर्ता उत्साहित भएपछि बजार सकारात्मक दिशामा अगाडि बढ्छ । असार महिनामा लगानीकर्ताहरू नीतिको पर्खाइमा हुने भएकाले सो महिना बजार केही सुस्त गतिमा रहन्छ ।

त्यसैगरी, हरेक त्रैमासमा सूचीकृत कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणको प्रत्यक्ष प्रभाव सेयरबजारमा पर्ने गर्दछ । कम्पनीहरूले तीन महिनाको कार्यावधिमा गरेको आर्थिक गतिविधिलाई वित्तीय विवरणले प्रस्ट्याउँछ । सो अवधिमा कम्पनीहरूले नाफा आर्जन गरेको खण्डमा लगानीकर्ताहरू सो कम्पनीप्रति आकर्षित हुन्छन् ।

नोक्सानी बेहोरेको कम्पनीहरूमा गरेको लगानी झिकेर नाफामूलक कम्पनीमा लगानी गर्छन् । यसले बजारमा तीव्र उतावचढाव आउँछ । साथै, कम्पनीहरूले नगद लाभांश घोषणा गर्ने समय अर्थात् मंसिर महिनामा पनि सेयरबजार उचालिन्छ । कम्पनीहरूले गरेको लाभांश घोषणाले लगानीकर्ताहरूमा मनोबल बढाउँछ । लाभांश संकलन गर्न लगानीकर्ताहरू सेयर खरिद गर्नतर्फ लाग्छन् । खरिदचाप बढेपछि सेयरमूल्य बढ्छ र फलस्वरूप सेयरबजार पनि बढ्छ ।

मौसमले खासै प्रभाव नपर्ने भए पनि जाडो महिनामा सेयरबजार घट्ने गरेको छ । सो अवधिमा केही विशेष सुधारका नीति आएमा मात्र बजार बढ्न । अन्यथा, बजार सामान्य उतारचढावमा नै रहन्छ । माघ महिनामा तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित भएपछि बजार प्रभावित हुन्छ । यसबाहेक, देशको राजनीतिक अवस्था, अन्य आर्थिक परिसूचक, सेयरबजार सम्बन्धित नयाँ नीति तथा कार्यक्रम, बजारमा लगानीयोग्य पुँजीको सहजता र लगानीमैत्री वातावरणले सेयरबजारलाई प्रभावित गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु