logo

bar

नयाँ वर्षसँगै मदिरा व्यापार

नयाँ पत्रिका काठमाडौं, १६ पुस | पुष १६, २०७४

आजभोलि धेरैले खुसीको अवसर होस् वा दुःखको अवस्था, उत्सवमा रौनक होस् वा थकान मेटाउन, जाडोमा जिउ तताउन होस् या गर्मीको थकान मेट्न, मदिराको सहारा लिने गरेको पाइन्छ । अझ चाडपर्वको समयमा त मदिरा भनेकै चाडपर्व हो भन्नेजस्तो संस्कारको विकास भइरहेको छ ।

उमेश पौडेल

केही वर्षअघिसम्म नेपाली समाजमा मदिरा (अल्कोहलयुक्त पदार्थ) लुकेर खानुपर्ने बाध्यता थियो । केही समुदायले वैधानिक रूपमै सगुनको रूपमा मात्रै मदिराको प्रयोग हुन्थ्यो । तर, अहिले स्थिति धेरै हदसम्म परिवर्तन भएको छ, फेरिएको छ ।

अहिले मदिरा खानका लागि कुनै चाड वा अनेक बहाना कुर्नुपर्दैन । मानिसको जीवनशैलीसँग प्रत्यक्ष जोडिएको अल्कोहललाई राम्रोसँग प्रयोग गरेर खायो भने निकै फाइदा गर्छ भन्ने धारणाको विकास हुँदै गएको छ । तर, यसलाई मात्राभन्दा धेरै सेवन ग¥यो भने यसले ज्यानै जोखिममा पार्न सक्छ ।

सहरी जीवन शैलीसँग अभ्यस्त हुँदै गर्दा हिजोआज मदिरा पिउनेको संख्या बढिरहेको छ भने कुनै घटना वा उत्सव भयो भने मदिरा अपरिहार्य बन्दै गएको छ । मानिसलाई खुसी र दुःखी हुन कुनै समय कुरिरहनु पर्दैन ।

आजभोलि धेरैले खुसीको अवसर होस् वा दुःखको अवस्था, उत्सवमा रौनक होस् वा थकान मेटाउन, जाडोमा जिउ तताउन होस् या गर्मीको थकान मेट्न, मदिराको सहारा लिने गरेको पाइन्छ ।

अझ चाडपर्वको समयमा त मदिरा भनेकै चाडपर्व हो भन्नेजस्तो संस्कारको विकास भइरहेको छ । केही वर्षअघिसम्म मदिराको नामै सुन्न नचाहनेहरू पनि अहिले ‘सामाजिक हुन’का लागि पिउन थालेका छन् । मदिरा नभएको उत्सव, कुनै कार्य, जमघट र भोजभतेर अहिले खल्लो हुन थालिसकेको छ, मानौँ मदिरा नै सुखदुःखको साथी हो ।

नेपालको कतिपय अवस्थामा कुनै समुदाय तथा क्षेत्रको संस्कृतिसँग प्रत्यक्ष जोडिन्छ मदिरा । त्यो समाजमा मदिरालाई उत्सव र कुनै दुःखको समयमा प्रयोग गर्नु कुनै नौलो कुरा होइन । त्यसैले पनि नेपाली समाजमा मदिरा नयाँ होइन ।

नेपालमा दसैँ, तिहार, नयाँ वर्षलगायत चाडबाडमा र उत्सवमा मदिराको खपत धेरै हुने गरेको छ । नेपाली कानुनकै कुरा गर्ने हो भने कुनै पनि उमेर समूहका व्यक्तिलाई बजारमा उपलब्ध मदिरा किन्न र उपभोग गर्न छुट दिइएको छ ।

नेपालका नेवार, तामाङ, राई, सुनुवार, गुरुङ, मगर, शेर्पालगायत समुदायले आफ्नो संस्कारमा मान्यजनलगायत पितृलाई समेत मदिरा चढाउने गरेका छन् भने सहरी क्षेत्रमा कुनै पनि बाहनामा साथीभाइ वा आफन्तलाई ‘उपहार’को रूपमा मदिरा दिने चलनै बनेको छ ।

आजको समयमा मदिरा नखाने वा खान्न–खान्न भन्दै लुकेर खानेको जमात धेरै हुँदै गएको छ, तर सहरी क्षेत्रमा भने विनारोकावट सबैले यसको प्रयोग गर्ने गरेको नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी बताउँछन् । ‘समयसँगै समाज परिवर्तन हुँदै गएको छ, अब बिस्तारै नेपालमा मदिरा संस्कृतिको रूपमा विकास हुने चरणमा छ,’ केसी भन्छन्, ‘सकारात्मक र सहज तरिकाले आफ्नो क्षमताअनुसार मदिराको सेवन ग¥यो भने औषधिको काम गर्छ मदिराले ।’

खासमा सहरी क्षेत्रमा मदिरा सेवन गर्ने संस्कृति धेरै पछि मात्र भित्रिएको र नेपालका ग्रामीण क्षेत्रमा नै सबैभन्दा धेरै मदिराको खपत भइरहेको उनले बताए । सहरी क्षेत्रमा ब्रान्डेड मदिराको खपत धेरै हुने र ग्रामीण क्षेत्रमा स्थानीय मदिरा खपत धेरै हुने गरेको छ ।

हाल ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गर्नेलाई कार्बाही गर्ने नियम ल्याएपछि साँझको समयमा रक्सीको माग कम भएको केसीले बताए । साँझमा माग कम भए पनि मदिराको माग भने बढिरहेको छ ।
स्वदेशीसँगै विदेशी मदिराको बजार

नेपाली बजारमा विभिन्न ब्रान्ड, स्वाद र विशेषता भएका अनेकौँ मदिरा पाइन्छन् । नेपालमा धेरै वर्षदेखि नै उत्पादक र ब्रान्ड हेरेर मदिरा किन्ने चलन बढेको छ र यसको सकारात्मक असरसहित नेपालमा वार्षिक १५ प्रतिशतले बजार बढिरहेको छ ।

मदिरा बजारमा नेपालमा ६३ वटा डिस्टिलरी, ८ वटा ब्रुअरी र २७ वटा वाइन उद्योग रहेको मदिरा उत्पादक संघले जनाएको छ । नेपालमा ७० युपी (अल्कोहलको मात्रा नाप्ने युनिट) को मदिरा वार्षिक ६५ लाख केस बिक्री भइरहेको छ ।

५० युपीको मदिराको बिक्री यो वर्ष ४५ लाख केस पुग्ने व्यवसायीको दाबी छ । नेपालमा ४० युपीको मदिरा वार्षिक १३ लाख केस खपत छ भने विदेशी स्वदेशी प्रिमियम मदिरा १० देखि १५ लाख केस बिक्री भइरहेको व्यवसायीको भनाइ छ ।

चिसो पेयपदार्थको जस्तै सिजन हुने मदिरा गर्मीमा जिन र भोड्काको बजार ह्वात्तै बढ्छ भने जाडोमा ह्विस्कीको बजार बढ्छ । कात्तिकदेखि फागुनसम्म बियरको बजार कम हुँदा पनि ह्विस्कीको बढिरहेकै हुन्छ । नेपाली मदिरा स्वदेशमा धेरै खपत हुन्छ भने केही प्रतिशत निर्यातसमेत हुँदै आएको छ । स्वदेशमै उत्पादित र आयातीत गरी करिब २ सयभन्दा धेरै ब्रान्डमा मदिरा उपलब्ध छ ।

नेपालमा ह्वाइट स्प्रिट (भोड्का, जिन), डार्क स्प्रिट (ह्विस्की), बियर र वाइन (ह्वाइट, रेड)को उपभोग मौसम र जमघटअनुसार बाह्रै महिना हुन्छ । सहरका आउटलेटमा विश्वका जुनसुकै कुनामा चलेका ब्रान्ड पाइन्छन् । व्यवसायीहरूका अनुसार नेपाली बजारमा स्वदेशी करिब ४ सय र विदेशी २ सयभन्दा बढी ब्रान्डका मदिरा उपलब्ध छन् । त्यसमा पनि रुस्लान भोड्का र माउन्ट ८८४८ भोड्काले ठूलो बजार ओगटेको छ ।

अहिले प्रिमियम मदिराको कुल बजार १२ अर्ब रुपैयाँ र अन्य सबैखाले मदिराको बजार करिब ७० अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । यो क्षेत्रले वार्षिक ३० अर्बको हाराहारीमा सरकारलाई राजस्व बुझाउँछ । मदिरा उद्योगमा करिब २५ अर्ब रुपैयाँ लगानी भएको व्यवसायीहरू बताउँछन् ।

नेपाली बजारमा ५० देखि पाँच लाख रुपैयाँसम्मका रक्सी

नेपालमा ब्रान्डेड र महंगा रक्सी धेरैजति युरोपबाट आयात गरिन्छ । विश्वमा मदिरा उत्पादनको क्षेत्रमा प्रख्यात मानिएका फ्रान्स, बेलायत तथा स्कटल्यान्डबाट धेरै रक्सी नेपालमा भित्रिन्छन् ।
नेपालका लिकर पसल र विक्रेतासँग ५० रुपैयाँका रक्सीदेखि ५ लाख रुपैयाँसम्मका विदेशबाट आयातीत ब्रान्डेड रक्सी पाइन्छन् । नेपालीको रोजाइ भने मध्यम रेन्जका रक्सी रहेको अध्यक्ष केसी बताउँछन् । नेपालीले ३ हजारदेखि २० हजारसम्मका ब्रान्डेड रक्सी धेरै खरिद गर्ने गरेको उनले बताए ।

फ्रान्सको क्याम्यु ५.५ मदिराको मूल्य नेपाली बजारमा ४ लाख ९४ हजार रुपैयाँ पर्छ । यसलाई दरबारमार्गको ‘ग्रिनलाइन’ ले नेपालमा बिक्री गर्छ । मदिरामा सौखिन धनाढ्य नेपाली रक्सी पारखीलाई मध्यनजर गर्दै ६ वर्षअघिदेखि सो रक्सी नेपाल भित्रिएको हो । यो रक्सी यो वर्ष ५ बोतल बिक्री भएको ग्रिनलाइन लिकरमार्टका मेनेजर प्रवेश अग्रवालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु