logo

bar

हिउँदे व्यवसाय : चिसोमा न्यानोकाे व्यापार

नयाँ पत्रिका काठमाडौं, १६ पुस | पुष १६, २०७४

आनन्द श्रेष्ठ

हिउँदको मध्यमा सधैँ फर्की आउने अंग्रेजी नया“ वर्षलाई स्वागत गर्न संसारभर तयारी भइरहेको छ । नयाँ वर्षलाई उत्सवको रूपमा मनाउने उक्त ‘फेस्टिभ’ मौसमको मजा लिने अवसर उपयोग गर्न नेपाली पनि तयारीमा जुटिरहेका छन् । त्यसैले त २०१८ को स्वागतमा अघिल्लो रातदेखि नै विभिन्न कार्यक्रम, जमघट तथा रमाइलो गरी न्यू इयर इभ मनाउने तयारीमा विशेष गरी युवावर्ग लागिसकेका छन् ।

पर्यटकीय नगरी पोखरा, चितवन तथा काठमाडौंको ठमेल, झमेल, दरबारमार्गमा देखिएको रौनकले पनि यसलाई पुष्टि गर्छ । त्यसैले त नयाँ वर्षको स्वागतमा पोखरा रेवानले लेकसाइडमा गरेको सडक महोत्सवमा मध्यरातसम्म जाडोको बेवास्ता गरेर आन्तरिक तथा बाह्य पर्यटक झुमिरहेका छन् । जाडो मौसमको मध्य समयमा पर्ने न्यू इयरलाई व्यवसायीहरू पनि आफ्नो अनुकूल बनाउन निकै लागिपरेका देखिन्छन् ।

अंग्रेजी नयाँ वर्षमा परिवार, प्रेमी–प्रेमिका या साथीभाइसँग नजिकको गन्तव्य भ्रमण गर्न जाने प्रचलन पनि पछिल्लो समय मौलाउन थालेको छ । तर, कुनै पनि स्थानमा घुमघाममा निस्कँदै गर्दा योजना बनाउनु आवश्यक रहेको एरोलिना ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्का बताउँछन् । लामो बिदा भए पोखरा, चितवन, बर्दिया, इलाम, खप्तड या रेसुंगा पुग्न सकिन्छ । तर, छोटो समय भए काठमाडौंबाट नजिकको दूरी नगरकोट, धुलिखेल, कालिञ्चोक, जिरी, फुलचोकी, भोटेचौरजस्ता गन्तव्य उपयुक्त हुन सक्छन् ।

विद्युतीय उपकरणको खपत

हिउँदको मौसम सुरु भएसँगै सबैभन्दा ठूलो समस्या गृहिणीलाई हुने गर्छ । चिसो मौसममा कठ्यांग्रिने पानीले भाँडा माझ्ने, लुगा धुने तथा अन्य घरायसी काम गर्न निकै कठिन हुन्छ । काठमाडौंजस्ता कतिपय बाक्ला बस्तीमा त घामको मुहार देख्न पनि मुस्किल पर्छ ।

यस्तो अवस्थामा चिसोको समस्याबाट राहत पाउन विद्युतीय उपकरण सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ । त्यसैले त वासिङ मेसिन, हिटर, एसी, सोलार वाटर हिटर, ग्यास–इलेक्ट्रिक हिटरलगायत विद्युतीय उपकरणको माग यही समयमा बढी हुन्छ । उपभोक्ताको यस्तै आवश्यकतालाई बुझेर विद्युतीय उपकरण बिक्री गर्ने कम्पनीले विभिन्न अफर ल्याउँदै ग्राहक तान्न प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाली बजारमा एलजी, सिजी, टिसिएल, तोसिवा, केल्भिनेटर, वर्लपुल, बेको, सामसुङ, सान्सुई, गोदरेज, यासुदा, हाइसेन्स, सार्प, वाल्टन, भिडियोकोन, टि–सिरिजलगायत ब्रान्डका विद्युतीय उपकरण बिक्री भइरहेका छन् । नेपाली बजारमा वार्षिक २५ हजार वासिङ मेसिन खपत हुने सिजी इलेक्ट्रोनिक्सका सेल्स हेड पुरुषोत्तम भण्डारीको अनुमान छ ।

मदिराको खपत
चिसो मौसम बढ्न थालेपछि मदिराको खपत पनि बढ्न थाल्छ । त्यसो त गर्मी मौसममा पनि मदिराको व्यवसाय कम हुने होइन । तर, सिजनअनुसार गर्मीमा जिन र भोड्काको व्यापार बढी हुन्छ भने जाडोमा ह्विस्की र रमको खपत अत्यधिक बढ्छ ।

चिसो मौसम फेसनमा रम्न चाहनेका लागि त्यति उपयुक्त मानिँदैन । तर पनि चिसोबाट जोगिने न्यानो पहिरनमा केही स्टायल तथा फेसन होस् भन्ने चाहना अधिकांश युवाको हुने गर्छ । सोही कारण जाडोको समयमा कोट, ज्याकेट, आउटर, मफलर, वार्मर, टोपी तथा लङ बुटहरू बढी चल्ने पहिरन हुन् ।

सामान्यतया नेपाली बजारमा कात्तिकदेखि फागुनसम्म बियरको माग कम हँुदै ह्विस्की र रमको बिक्री बढ्न थाल्छ । नेपाली बजारमा स्वदेशी र आयातीत गरी २ सयभन्दा धेरै ब्रान्डका मदिरा उपलब्ध छन् । सबैखाले मदिराको बजार करिब ७० अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । यस क्षेत्रले वार्षिक ३० अर्बको हाराहारीमा सरकारलाई राजस्व बुझाउँछ ।

विन्टरमा वार्म ड्रेसअप

विश्वबजारमा देखिएका हरेकजसो फेसन नेपाली बजारमा भित्रिन धेरै समय लाग्दैन । पश्चिमा मुलुकमा डिजाइन गरिएका तथा चलेका पहिरन तुरुन्तै नेपाली युवाले माग गर्ने गरेको फेसन डिजाइनर उत्तम बनेपाली बताउँछन् । त्यसो त चिसो मौसम फेसनमा रम्न चाहनेका लागि त्यति उपयुक्त मानिँदैन । तर पनि चिसोबाट जोगिने न्यानो पहिरनमा केही स्टायल तथा फेसन होस् भन्ने चाहना अधिकांश युवाको हुने गर्छ । सोही कारण जाडोको समयमा कोट, ज्याकेट, आउटर, मफलर, पञ्चु, वार्मर, टोपी तथा लङ बुटहरू बढी चल्ने पहिरन हुन् ।

शरीर न्यानो बनाउनुका साथै स्मार्ट देखिन रुचाउनेका लागि उपयुक्त पहिरन उलन कोट रहेको फेसन डिजाइनर टंका दाहाल बताउँछिन् । उनी भन्छिन्, ‘आफ्नो शारीरिक बनावट, समय तथा वातावरणअनुसार महिलाले उलन सर्ट या लङ कोट प्रयोग गर्दा साँच्चै स्मार्ट देखिन्छ ।’ स्वदेशी तथा विदेशी सेलेबे्रटीको फेसन पछ्याइरहने युवतीहरूको आकर्षण यस्तो ड्रेसअपमा बढेको छ । घु“डामुनिसम्म आइपुग्ने लङ कोट र लेदरका फुलबुटले महिलालाई फरक देखाउनुका साथै पूरै शरीरमा न्यानो प्रदान गर्छ ।

महिलाले लङ कोटलाई आफ्नो चाहनाअनुसार टाँक नलगाई आउटरको रूपमा पनि पहिरिन सक्छन् । तर, लेगिस या पाइन्टमा लङ बुटसँग कम्बिनेसन मिलाएर लङ कोट लगाउँदा फरक स्मार्टनेस देखिन्छ । यसरी लङ कोट पहिरिँदा ड्रेसअपलाई म्याच गर्ने स्कार्फ पहिरिएर चिसोबाट समेत बच्न सकिन्छ । सामान्य मोटोपन र पातलो जिउडाल भएका युवतीको रोजाइमा यस्तो कोट पर्ने गरेको छ । त्यसो त लङ कोट सारी, कुर्ता–सलवार तथा वानपिसमा पनि त्यत्तिकै सुहाउँछ । अहिले बजारमा धेरै चलेको लङ कोट बच्चादेखि वृद्ध सबै उमेरका महिलालाई त्यत्तिकै सुहाउँछ ।

स्कुटर, बाइक प्रयोग गर्ने अधिकांश चालकको रोजाइमा भने डाउन ज्याकेट पर्ने गर्छ । शरीर सुहाउँदो आकर्षक देखिने फिटिङ डाउन ज्याकेट लगाउनेहरू बजारमा प्रशस्तै देखिन थालेका छन् । लेडिज तथा जेन्सका विभिन्न मोडेल तथा कलरमा पाइने यस्ता ज्याकेट ब्रान्डेड सोरुमहरूदेखि सामान्य पसलमा पनि भेटिन्छन् ।

केही महंगो मूल्य पर्ने गुणस्तरीय डाउन ज्याकेटमा राजहंसको रौँ प्रयोग गरिएको हुन्छ । तर, बजारमा भने अहिले फर्म तथा कपासका ज्याकेटलाई नै डाउन ज्याकेट भन्न थालिएको एम के फेन्सी फेयरका सञ्चालक मनोज श्रेष्ठ बताउँछन् । ‘हेर्दा भुक्क फुलेको निकै आरामदायी अनुभव हुने डाउन ज्याकेटमा राजहंसको रौँ हालिएको हुन्छ । सबैभन्दा उच्च गुणस्तरको डाउन ज्याकेटमा राजहंसको पनि छातीमा हुने मसिनो रौँ प्रयोग गरिएको हुन्छ,’ उनी भन्छन्, ‘यसलाई सुपर डाउन ज्याकेट भनेर पनि चिनिन्छ ।

यस्तो ज्याकेट निकै हलुका हुन्छ ।’ डाउन ज्याकेट हातको सानो मुठीमा नै अट्ने पनि हुन्छ । तर, प्रयोग गर्दै जाँदा भने ज्याकेटको आयतन स्वतः वृद्धि हुँदै जान्छ र शरीरअनुसार फिटिङ भएर निकै आकर्षक पनि देखिन्छ । चिसो हावा नछिर्ने कारण उच्च स्थान तथा धेरै चिसो हुने समयमा यस्तो ज्याकेट बढी प्रयोग हुन्छ । यस्तो ज्याकेटको मूल्य न्यूनतम पनि १० हजार रुपैयाँ पर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु