logo

bar

करिश्माका फ्यान : छातीमा अटोग्राफ माग्नेदेखि खुकुरी चम्काउनेसम्म…

महेश तिमल्सिना काठमाडौं | पुष १६, २०७४

फ्यान पछि लागेर स्कुल जान छाडेँ – आजभन्दा ३० वर्ष पहिला आफ्नो भावना कसरी दर्शाउने भन्ने कुरा मेरा फ्यानहरूलाई थाहा थिएन । उहाँहरूले मलाई भेट्दा बोलाउने शब्दहरू त्यस्तै खालका हुन्थे । किनभने अहिलेको जस्तो खुला समाज थिएन । जसले गर्दा अहिलेका जोकोहीलाई आफ्नो भावना कसरी प्रस्तुत गर्ने भन्ने कुराको राम्रो ज्ञान छ । तर, म १४ वर्षकी हुँदा स्कुल आउने–जाने वेलामा मेरा फ्यानहरू मेरो पछि–पछि लाग्थे ।

जुन वेलामा मैले ‘सन्तान’ चलचित्रमा अभिनय गरिसकेकी थिएँ । त्यसवेलामा उनीहरूले पनि आफ्नो भावना मलाई भनेनन् र मैले पनि उनीहरूको भावना बुझिनँ । उनीहरू पछि लागेको देख्दा मलाई निकै पिर पथ्र्यो । अन्ततः मैले स्कुल जानै छाडेँ । पछि उनीहरू मेरो फ्यान रहेछन् भन्ने बुझेँ ।

निरन्तर चिठी लेखिरहने प्रकाश दाहाल

मैले विभिन्न समयमा विभिन्न प्रकारका फ्यानहरू भेटेँ । यही क्रममा म चलचित्रमा देखिन थालेपछि मलाई थुपै्र फ्यानले चिठी लेख्न थाल्नुभयो । त्यसवेला अहिलेको जस्तो सूचनाप्रविधिको विकास नभएकाले फ्यानहरूलाई चिठी लेख्नु एकप्रकारको बाध्यता नै थियो । त्यसवेलामा चिठी लेख्ने केही फ्यानले त अहिले पनि चिठी निरन्तर लेखिरहनुहुन्थ्यो ।

मलाई अहिले पनि एकजना प्रकाश दाहाल नाम गरेको मानिसले निरन्तर चिठी लेखिरहनुहुन्छ । तर, उहाँले आफ्नो ठेगानाचाहिँ चिठीमा खुलाउनुहुन्न । जसले गर्दा उहाँ कहाँको हो भनेर अहिलेसम्म पत्ता लगाउन सकेकी छैन । उहाँले लेखेका चिठीहरू मसँग सुरक्षित छन् । उहाँले लेखेका चिठीहरू रमाइला हुन्छन् ।

रगतले लेखेका चिठी पनि आउँथे

पहिला–पहिला रगतले लेखेका चिठी थुप्रै आउँथे । फ्यानहरूले चिठीमा रगतले लेखेको हुँ भन्नुहुन्थ्यो । साथै, धेरैजसो चिठीमा ‘आई लभ यू’ लेखिएका हुन्थे । मलाई प्रायःजसो युवाले नै चिठी लेख्ने हुँदा यस्ता कुरा लेख्नु स्वाभाविक नै हो । तर, मलाई रगतले लेखेका चिठी थुप्रै आउँथे । मैले चिठीको रिप्लाईचाहिँ कहिल्यै गरिनँ । यसरी फ्यानहरूले पठाएको चिठी ल्याउने हुलाकीलाई मैले पैसा  नै दिनुपथ्र्यो ।

फ्यान खुकुरी बोकेर एक्कासि घरभित्र आएपछि…

एक दिन म घरमा बसिरहेकी थिएँ । एकजना मंगोलियन अनुहार भएको मानिस एक्कासि खुकुरी लिएर घरभित्र आउनुभयो । उहाँ आएको देखेर म आत्तिएँ । उहाँलाई हामीले प्रहरी नै लगाएर पक्रनुप¥यो । वास्तवमा उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ ।

उहाँले मलाई भेट्न खोज्नुहुँदो रहेछ । तर, मैले बेवास्ता गरेको जस्तो उहाँलाई पर्दोरहेछ । अनि अति भएपछि खुकुरी लिएर मेरो घरमै आउनुभएको रहेछ । जुन वेला मेरो विवाह भएको थिएन । यो घटनापछि केही समय त सामान्य मानिस देख्दा पनि डराउने भएँ ।

झपारेर पठाएको फ्यान रोएपछि पछुतो लाग्यो

एक दिन म दिदीको घरको छतमा लुगा सुकाउँदै थिएँ । त्यहीवेला एकजना मानिस एक्कासि मेरो पछाडि उभिएको देखेँ । त्यो वेला म सामान्य मानिस देखे पनि डराउने भएकी थिएँ । अपरिचित मानिसलाई देखेपछि मेरो सातो गयो । म चिच्याएँ । अनि तपाईं को हो भनेर सोधेँ ।

उहाँले म तपाईंको फ्यान हुँ भन्नुभयो । उहाँलाई मैले बेस्सरी झपारेँ । उहाँ एकदमै रुनुभयो । उहाँले मलाई निकै मन पराउनुहुँदो रहेछ । मैले झपारेपछि अब कहिल्यै मन पराउँदिनँ भनेर हिँड्नुभयो । पछिचाहिँ मैले गल्ती गरेजस्तो लाग्यो ।

छातीमा अटोग्राफ दिन लगाउने अनिल

०४७ तिरको कुरा हो । जावलाखेल चिडियाखानामा ‘अरुणिमा’ चलचित्रको सुटिङ भइरहेको थियो । त्यहाँ अनिल गुरुङ नाम गरेको युवक आउनुभयो । उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । उहाँले आफ्नो छातीमा अटोग्राफ माग्नुभयो ।

मैले अटोग्राफ दिएँ । उहाँ खुसी भएर जानुभयो । अहिले उहाँ मेरो फेसबुकमा साथी हुनुहुन्छ । कुराकानी हुन्छ । एक दिन मैले उहाँलाई एक ठाउँमा एक्कासि भेटेँ । मैले चिनिनँ, तर उहाँले नै त्यो वेला मैले उहाँको छातीमा अटोग्राफ दिएको सम्झाउनुभयो ।

बुटवलबाट मासु किन्न हिँडेकी युवती काठमाडौं आएपछि…

मेरो धेरैजसो केटी फ्यान हुनुहुन्छ । त्योमध्येको एकजना बुटवलकी १६ वर्षकी बहिनी हुनुुहुन्छ । उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । एक दिन घरबाट मासु किन्न भनेर निस्कनुभएको काठमाडौं मेरो घरमा आउनुभयो । चिसो मौसम थियो ।

उहाँले हाफ कट्टु र सर्ट लगाउनुभएको थियो । मलाई अचम्म लाग्यो । मैले कपडा लगाउन दिएँ, कुरा गरेँ । तर, जति गरे पनि आफ्नो ठेगाना बताउँदिनन् । उनले त मेरै घरमा काम गरेर बस्छु भन्न थालिन् । पछि आफ्नो अंकलको सम्पर्क नम्बर दिइन् । अनि मैले अंकललाई जिम्मा लगाएकी थिएँ ।

विनोदजीकै अघि अपरिचित युवकले अँगालो हाले

आजभन्दा धेरै वर्ष पहिला स्वयम्भूमा ‘कस्तुरी’ चलचित्रको सुटिङ भइरहेको थियो । त्यहाँ एकजना युवक आएर मलाई झ्याम्मै अंकमाल ग¥यो । म आत्तिएँ । त्यहाँ विनोदजी पनि हुनुहुन्थ्यो । त्यो वेलामा हाम्रो विवाह भएको थिएन । त्यो मानिसले मलाई यसरी च्याप्यो कि ऊबाट फुत्कन निकै गाह्रो भयो । पछि मलाई रिस उठ्यो अनि पिट्छु भनेर चिच्याएँ । तर, पिट्नचाहिँ पिटिनँ ।

मेरो सुन्दरतालाई धज्जी उडाउने पनि छन्

राम्रो देखिनु, स्वस्थ बन्नु त आफैँमा राम्रो कुरा हो । तर, कतिपयले मेरो सुन्दरतामाथि डाह गरेर धज्जी उडाउने काम गर्नुहुन्छ । कतिपयले ‘छोरीभन्दा आमा तरुनी’ भनेर उडाइरहनुभएको हुन्छ । त्यसो नगरिदिनुहोला भन्ने आग्रह गर्न चाहन्छु ।

तपाईको प्रतिक्रिया