logo

bar

यसरी अगाडि बढ्दै छ नेपाली हवाईसेवा

नयाँ पत्रिका काठमाडौं, १६ पुस | पुष १६, २०७४

हवाई सुरक्षामा बढावा
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाललाई झन्डै ४ वर्ष गम्भीर सुरक्षा चासो (एसएससी) सूचीमा राख्यो । त्यसबाट छुटकारा पाउने सन्दर्भमा आइकाओ, युरोपेली युनियन, फ्रान्स सरकार, कोस्क्याप दक्षिण एसियालगायत अन्तर्राष्ट्रिय दातृ संस्था र प्राधिकरणको आफ्नै पहलमा नेपालको हवाईसेवामा जुन पक्षमा समस्या थियो, त्यो समस्या समाधान गरियो । फलस्वरूप गत जुलाईमा एसएससी लिस्टबाट नेपाल मुक्त भयो । अर्कोतर्फ आइकाओको विश्वव्यापी हवाई सुरक्षा योजनाको उद्देश्य आइकाओले निर्धारण गरेका मापदण्डको पूर्ण परिपालना दर ६० प्रतिशतभन्दा कम भएका राष्ट्रलाई ६० पुर्‍याउने रहेको छ । यस योजनाको पछिल्लो समयावधि सन् २०१७ थियो । यही अवधिमा हामीले यो मापदण्ड पार गर्न सफल भएका छौँ ।

सञ्जीव गौतम
महानिर्देशक
नेपाल नागरिक उड्डयन प्राधिकरण

दुर्घटना न्यूनीकरण
विगतको तुलनामा नेपालमा हवाई दुर्घटनाको दर कम भएको छ । तर, अझै पनि वेला–वेलामा नेपाली आकाशमा जहाज दुर्घटना भइरहेका छन् । त्यसो त मेसिनमा आधारित सेवा भएका कारण दुर्घटनालाई शून्यमा झार्न असम्भव हुन्छ । यसका बाबजुद दुर्घटनाको दर जुनस्तरमा झर्नुपर्ने थियो, त्यो स्तरमा हामी अझै पुग्न सकेका छैनौँ । विशेष गरी मानवीय कारणले दुर्घटना भएको भन्ने प्रतिवेदनहरू आइरहँदा दोष जसलाई दिए पनि समस्या हामीसँगै छन् । ती समस्या कसरी निराकरण गर्ने भन्ने सन्दर्भमा काम भइरहेको छ ।

त्रिभुवन विमानस्थलको सेवामा सुधार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जुन क्षमतामा काम गरिरहेको छ, यसले यात्रु संख्याको माग अब धान्न सक्ने अवस्था छैन । कि हामीले पूर्वाधारमा वृद्धि गर्नुपर्छ या यसको सेवा सीमित राखेर धान्न सक्ने क्षमताभित्र रहेर सेवा प्रदान गर्नुपर्छ । अब यस विमानस्थलको सन्दर्भमा सेवा लिमिट गर्नुपर्ने अवस्था आइसकेको छ । किनकि, यात्रुको बढ्दो चाप र यसको पूर्वाधार विस्तारको टड्कारो आवश्यकता देखेर सन् २०१३ बाट यो विमानस्थल विस्तार सुरु गर्न अन्तर्राष्ट्रिय कम्पनीस“ग सम्झौता भएको थियो । यो योजना असफल भएपछि पुनः टेन्डर प्रक्रिया सुरु भएको अवस्था छ । तर, जति नै क्षमता विस्तारमा काम गरे पनि यहाँ धेरै परिवर्तन गर्न सक्ने अवस्था छैन । बरु, अहिले जति सेवा दिइरहेका छौँ, यसलाई नै अझ राम्रो बनाउने प्रयासमा हामी छौँ ।

निर्माणाधीन विमानस्थलको काम तीव्र
त्रिभुवन विमानस्थलको विकल्पका रूपमा अब निर्माणाधीन विामनस्थलको काममा तीव्रता दिनुपर्ने आवश्यकता छ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलको काम जनवरी २०१८ मा सकिसक्नुपर्ने थियो । तर, विभिन्न कारणले गर्दा यो विमानस्थलको कामले गति लिन सकेन । करार व्यवस्थापनमा भएका कमजोरी, तत्कालीन तराई–मधेसमा आपूर्तिमा अवरोध, भूकम्पजस्ता कारणबाट यो आयोजनाको काममा ढिलाइ भएको छ । हामीले २०१८ भित्रै यो आयोजनाको काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले काम गरिरहेका छौँ । पोखरामा पनि काम सुरु भएको छ, यो सन् २०२१ भित्र सञ्चालनमा आइसक्छ ।

नेपाली आकाश राडारको निगरानीमा
फेब्रुअरी २०१८ भित्र नेपालको ७५ प्रतिशत आकाश राडारको कभरेजभित्र पर्दै छ । राडार जडानको काम पूरा भइसकेको छ । अहिले यो ‘स्याडो अपरेसन’मा छ । आइकाओको प्रचलनअनुसार यसको नियमतः सञ्चालनमा ल्याउनुअघि कम्तीमा पनि सबै सरोकारवालालाई ५६ दिनको सूचना दिनुपर्छ । यसको अवधि फेब्रुअरीमा समाप्त हुन्छ । राडारसँगै अब नेपाल पनि ‘अटोमेटिक डिपेन्डेन्ट सर्भिलेन्स–ब्रोकास्ट (एडिएस–बी)’ प्रविधिमा जानुपर्ने हुन्छ । यो स्याटालाइटमा आधारित प्रविधि हो । नेपालको पूरै आकाशमा राडारको निगरानी पुर्‍याउन भने भैरहवामा राडार जडानको योजना छ।

आन्तरिक विमानस्थलको स्तरोन्नति
अहिले धनगढी, चन्द्रगढी र जनकपुर विमानस्थलमा रात्रिकालीन उडानको सुविधा उपलब्ध छैन । धनगढीमा बढीमा मार्चसम्म रात्रिकालीन सुविधा विस्तार भइसक्छ । चन्द्रगढी र जनकपुरमा तीन महिनाभित्र इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान सुविधा स्थापित गरिसक्ने योजना छ । अर्को वर्षको यही समयभित्र चन्द्रगढी र जनकपुरमा पनि रात्रिकालीन उडान सुविधा थप गरिसक्ने लक्ष्य छ । यसबाहेक नेपालगन्ज र विराटनगरमा विद्यमान पूर्वाधारलाई अझ बढाउने गरी बजेट छुट्याइएको छ । यसबाहेक काठमाडौंसहित देशका विभिन्न विमानस्थलमा प्राधिकरण र दातृसंस्थाको सहयोगमा उपकरण जडानलाई निरन्तर जारी राखिनेछ ।

प्राधिकरणको दीर्घकालीन व्यवस्थापन
नागरिक उड्डयन व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय मान्यता मापदण्डअनुसार सेवा प्रदायक संस्था र नियामक निकाय एउटै संस्थाबाट हुनुहुँदैन । यसलाई छुट्याइनुपर्छ । सेवा दिने संस्थाले सेवालाई अझ उत्कृष्ट कसरी बनाउने भन्नेमा ध्यानकेन्द्रित गर्न सक्छ । नियामक निकायले भने आफ्नो पूर्ण ध्यान हवाई क्षेत्रको विकासमा लगाउन सक्छ । यस सन्दर्भमा अहिले नेपाल नागरिक उड्डयन ऐन निर्माण भएर कानुन मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भई मन्त्रिपरिषद्मा पेस हुने चरणमा पुगिसकेको छ । यो छुट्याउँदा कर्मचारीको वृत्तिविकासलाई भने असर पार्नुहुँदैन । यो कसैको व्यक्तिगत स्वार्थभन्दा पनि सम्पूर्ण हवाई क्षेत्रलाई अझ भरपर्दो, सुरक्षित र यात्रुमा सेवा प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यबाट ल्याइएको हो ।

दुरुस्त सेवा
नेपालका सार्वजनिक संस्थानहरूको सेवा जुन उद्देश्यबाट प्रेरित हुनुपर्ने थियो, त्यसो हुन सकेको छैन । अन्य संस्थानजस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको सेवा पनि चुस्त–दुरुस्त बन्न सकेको छैन । यसमा सुधार गर्न आन्तरिक व्यवस्थापन सुधार, जनशक्तिको वृत्तिविकास तथा सेवासुविधामा चासो दिइएको छ । यो निरन्तर चल्ने प्रक्रिया हो । तर, प्राधिकरण व्यवस्थापनलाई कुनै पनि निकायबाट अनावश्यक प्रकारका दबाब भने आउनुहुँदैन । बदमासी भएको छ भने कारबाही गर्नुपर्छ । तर, अनावश्यक दबाबले कहिलेकाहीँ काममा ढिलाइ हुने तथा अवरोध सिर्जना गर्छ ।

तपाईको प्रतिक्रिया