logo

bar

प्रेम के हो ? टेरेसाबाट सिक्नुस्

विश्वास खड्काथोकी/नयाँ पत्रिका, काठमाडौं, १६ पुस | पुष १६, २०७४

मदर टेरेसा यस्ती महिला हुन्, जसले १८ वर्षको उमेरमै आफ्नो जीवन अरूका लागि समर्पित गर्ने हिम्मत जुटाइन् । टेरेसालाई प्रेम, दया, निःस्वार्थ भावको प्रतिमूर्तिका रूपमा लिइन्छ ।

उनले केही समय शिक्षण पेसा अपनाइन् र पछि नर्सको तालिम लिएर दुःखी, गरिब र बिरामीप्रति समर्पित भइन् । गरिब र बिरामीलाई मद्दत गरेकै कारण टेरेसा १९७७ मा नोबेल शान्ति पुरस्कारबाट विभूषित भएकी थिइन् ।

पूरै जीवन अरूको सेवामा समर्पित मदर टेरेसाको जन्म २६ अगस्ट १९१० मा मसेडोनियाको स्काब्जे सहरमा भएको थियो ।

परोपकारलाई जीवनको एक मात्र उद्देश्य बनाएकी टेरेसाको मृत्यु ५ डिसेम्बर १९९७ मा भयो । तर, उनी संसारलाई प्रेम सिकाएर बिदा भएकी छिन् । उनको जीवनोपयोगी केही भनाइ नयाँ पत्रिकाका विश्वास खड्काथोकीले संकलन गरेका छन् :

मानिस मृत्युपश्चात् स्वर्ग पुग्ने श्वैरकल्पनामा हुन्छ तर लामो जीवनमा गर्नुपर्ने कर्तव्यबारे भने सोच्दैन । मृत्यु अवश्यम्भावी हो भन्ने मानिसलाई ज्ञान हुँदाहुँदै पनि थुप्रै कुकर्म गर्न पछि पर्दैन ।

कतिपय मानिस स्वर्ग पुग्ने अपेक्षाका कारण पाप कर्मबाट सचेत पनि हुन्छन् । तर, मदर टेरेसाको भने मृत्युपछि स्वर्ग जाने चाहना थिएन । उनी धर्तीमै स्वर्ग देख्न चाहन्थिन् ।

उनले भनेकी छिन्, ‘म स्वर्गभन्दा बाहिर रहेर पनि त्यस्ता मानिसको मनमा किरण जन्माउँछु, जो अन्धकारमा छन् ।’

विश्वमा पहिलो र दोस्रो विश्वयुद्ध भयो । अहिले पनि थुप्रै देश गृहयुद्धको दलदलमा फसेका छन् । विश्वका अधिकांश लडाइँ सीमा कायमका लागि भएका छन् ।

जुन लडाइँमा एक पक्ष अर्को पक्षसँग निर्ममतासाथ प्रस्तुत भएको हुन्छ । अहिले पनि विश्वका लागि मदर टेरेसाको भनाइ मननयोग्य छन् ।

उनले भनेकी छिन्, ‘म हरेक देशलाई माया गर्छु । किनभने म ईश्वरको सन्तान हुँ, जसले हरेक मानिसलाई प्रेम गर्छ ।’

हामीले भविष्यको कल्पनामै केयौँ समय बिताइरहेका हुन्छौँ । या भनौँ भविष्यमा आइलाग्ने खतरा औँल्याउँदै निराश हुन्छौँ ।

तर, मदर टेरेसाले यस्तो भनेकी छिन्, की जसले कैयौ मानिसलाई गम खुवाउछ । उनको भनाई छ, ‘हामी भविष्यसँग डराउँछौँ । किनकि हामी आजलाई बर्बाद गरिरहेका छौँ ।’

उनको भनाइअनुसार जो भविष्यसँग डराउँछ, उसले आजको समय पनि बर्बाद गरिरहेको छ ।

मदर टेरेसाले जीवनको उत्पत्तिलाई प्रेमसँग तुलना गरेकी छिन् । प्रेमलाई जीवनको ठूलो शक्तिको रूपमा व्याख्या गरेकी छिन् । उनले भनेकी छिन्, ‘हामी ठूलो काम गर्नका लागि बनेका हौँ । हामी प्रेम दिन र लिनका लागि बनेका हौँ ।’

मानिस प्रेमको भोको हुन्छ, चाहे जुनसुकै देशको होस् । जसले प्रेम बाँड्छ उसले पाउँछ पनि । टेरेसा मुस्कुराउन सल्लाह दिन्छिन् । उनको भनाइ छ, ‘एक–अर्कासँग मिल्ने समय मुस्कुराउनुस् । किनकि मुस्कुराहट नै प्रेमको सुरुवात हो ।’

हामी काम त गरिरहेका हुन्छौँ तर त्यो काम साँच्चिकै आत्मालाई साक्षी राखेर गर्छौं त ? संसारका थुप्रै सफल व्यक्तिले भनेका छन् कि प्रेमपूर्वक आफ्नो काम गर्ने मानिसले नै जीवनमा सफलता हासिल गर्छ । टेरेसाको पनि त्यस्तै सल्लाह छ, ‘तिमी सामान्य काम गर तर त्यो काम असाधारण प्रेमका साथ गर ।’

कति मानिस विगतको असफलतालाई कल्पेर निराश भएका हुन्छन् । विगतका केही असफलताका कारण आउने दिनलाई पनि अन्धकार देख्छन् र वर्तमानमा उत्साहका साथ काम गर्न हतोत्साहित हुन्छन् । तर, यस्ता मानशिकताका मानिसका लागि टेरेसा ऊर्जा भर्ने गर्छिन् ।

उनले भनेकी छिन्, ‘बितेको समय बितिसक्यो । आउनेवाला समय अहिलेसम्म आएकै छैन । मसँग मात्र आजको दिन बाँकी छ ।’ उनको यो भनाइले धेरैलाई आजै काम र प्रेम गर्नका लागि प्रेरणा प्रदान गर्छ ।

घर वा परिवार जीवनको पहिलो स्कुल हो । जुन स्कुलले उसको भावी योजना र उद्देश्यलाई प्रभावित पार्छ । ढुंगा माटोले मात्र बनेको हुँदैन, घर । त्यहाँ संस्कार हुन्छ, प्रेम हुन्छ, सहयोग हुन्छ, सद्भाव हुन्छ, सहारा हुन्छ । टेरेसाले प्रेमलाई घरसँग तुलना गरेकी छिन् । भन्छिन्, ‘प्रेमको सुरुवात घरबाट हुन्छ ।’

टेरेसा प्रेमलाई निकै गम्भीर रूपमा लिन्छिन् । प्रेम बाँड्न त्यति सजिलो नहुने उनको ठहर छ । उनले भनेकी छिन्, ‘प्रेमको भोक मेटाउनु, रोटीको भोक मेटाउनुभन्दा कैयौँ गुणा मुस्किल छ ।’

मानिसको आ–आफ्नै क्षमता हुन्छ, लक्ष्य र उद्देश्य हुन्छ । सबैले महान् काम गर्न नसक्नेमा टेरेसा पनि कन्भिन्स्ड छिन् । उनले भनेकी छिन्, ‘हामी सबैले महान् कार्य गर्न सक्दैनौँ । तर, कामलाई प्रेमपूर्वक गर्न सक्छौँ ।’

दयालाई मानिसले आ–आफ्नै ढंगले परिभाषित गरेका हुन्छन् । तर, प्रेमको महत्वलाई टेरेसाले यसरी बताएकी छिन्, ‘दया र प्रेम शब्दमा छोटो होला तर यसको ध्वनि अनन्त हुन्छ ।’

तपाईको प्रतिक्रिया