logo

bar

इपिएल फाइलनमा जे देखियो

श्रीलोचन, प्रकाश/नयाँ पत्रिका काठमाडौं, १६ पुस | पुष १६, २०७४

विराटनगर इपिएल च्याम्पियन –

विराटनगर वारियर्सले नाटकीय पुनरागमन गरी शनिबार भैरहवा ग्लाडियटर्सलाई १ रनले स्तब्ध पार्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ । उपाधिसँगै विराटनगरले घरेलु क्रिकेटको सर्वाधिक धनराशि २१ लाख रुपैयाँ जितेको छ । अन्तिम ओभरमा चुकेको भैरहवाले उपविजेता रहँदै आठ लाख रुपैयाँ हात पार्‍यो । विराटनगरको सनसनीपूर्ण जितमा कप्तान पारस खड्का, वसन्त रेग्मी, बाबर हायत र अनिल साहले म्याच विनिङ प्रदर्शन गरेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । प्रत्युत्तरमा भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाएपछि विराटनगरले १ रनको रोमाञ्चक जित निकालेको हो ।

अन्तिम ओभरमा ९ रन
लिग चरण र क्वालिफायरमा बेहोरेको हारको बदला उत्कृष्ट ढंगले लिन भैरहवासमक्ष अन्तिम ओभरसम्म मौका थियो । भैरहवालाई अन्तिम ओभरमा ९ रन आवश्यक थियो । भैरहवासँग पर्याप्त विकेट हातमा थियो । कप्तान खड्काले अनिल साहलाई बल थमाउँदै जोखिम उठाए । अनिलको पहिलो बलमै करण कार्कीले चौका प्रहार गर्दै भैरहवालाई जितनजिक पुर्‍याए । तर, अर्को बलमा करण बोल्ड हुन पुगे । १९.३ ओभरमा अनिलले फ्याँकेको बलमा भुवन कार्कीले रन लिन सकेनन् । १९.४ ओभरमा कार्कीलाई पारसले रन आउट पारे । चार बलको अन्तरमा २ विकेट गुमाएपछि भैरहवा पूर्ण दबाबमा देखियो । भैरहवालाई अन्तिम दुई बलमा ५ रन आवश्यक थियो । अनिलले पाँचौँ बलमा पुनित मिश्रलाई क्याचआउट गराए । भैरहवालाई अब अन्तिम बलमा ५ रन चाहियो । चौका वा छक्काबाहेक भैरहवाका ब्याट्सम्यानसँग विकल्प नै रहेन । स्ट्राइकमा रहेका भूपेन्द्र थापाले लेग साइडमा स्ट्रोक लगाए । क्रिजमा कुदेर उनले रन लिनसम्म भ्याए । भूपेन्द्रको ३ रन काफी रहेन ।

६ विकेट बाँकी, ११ रन आवश्यक
भैरहवा लगातार उपाधिउन्मुख भइरहँदा विराटनगरका कप्तान पारस ‘कुल’ देखिएका थिए । पारसले अन्तिम बलसम्म पनि हार मानेनन् । यता, भैरहवा भने पूरै ‘ड्राइभिङ सिट’मा थियो । अन्तिम दुई ओभरमा भैरहवालाई केवल ११ रन बनाउनुपर्ने थियो । भैरहवासँग हातमा ६ विकेट बाँकी नै थियो ।

६ मध्ये तीन ब्याट्सम्यान लामो स्ट्रोक लगाउन सक्ने क्षमता राख्थे । विशेषतः रोहितकुमार पौडेलको विकेट भैरहवासँग जीवितै थियो । भैरहवाका लागि खराब दिन साबित भएको क्रिजमा विराटनगर हाबी भयो । १८औँ ओभरमा पारसले नै बलिङ गरे । उनले पहिलो बलमै आरिफको विकेट लिए । पारसले १८.६ ओभरमा आक्रामक ब्याट्सम्यान रोहितलाई अनिलबाट क्याचआउट पार्दै विराटनगरलाई उपाधिको आशा दिलाए । पारसले २ विकेट लिन २ रन खर्चे । भैरहवाले १२ बलमा ९ रन जोड्दा ५ विकेट मात्र गुमाएन, फाइनलसमेत गुमायो ।

फाइलनमा जे देखियो

अंशुमानको त्यो ओभर
फाइनल यात्राअघिसम्म हङकङका राष्ट्रिय खेलाडी अंशुमान रथले स्तरीय प्रदर्शन गरिरहेका थिए । विरानगरको फाइनल यात्रामा अंशुमानको विशेष योगदान थियो । कप्तान पारसले इनिङको आठौँ ओभरमा अंशुमानलाई बलिङ गर्न लगाए । तर, अंशुमानले जीवनमा कहिले पनि सामना गर्नुनपरेको दबाब झेले । त्यस ओभरमा उनले सम्भवतः अहिलेसम्मकै कमजोर बलिङ प्रदर्शन गर्दै ३६ रन भैरहवालाई दिन पुगे । एकै ओभरमा ३६ रन बटुलेपछि फाइनल एकाएक भैरहवाको पक्षमा पुग्यो । रथले नो बल र वाइड फ्याँक्दै एकै ओभरमा ११ बल फ्याँके । अंशुमानको पहिलो बलमा प्रथम सालोंकेले १ रन लिँदै शरदलाई स्ट्राइक दिए । शरदले अंशुमानको दोस्र बलमा चौका र तेस्रोमा छक्का प्रहार गरे । अंशुमानले चौथो बल तीनपटक फ्याक्दै पूरा गरे । चौथो बलमा उनले वाइड र नो बल गर्न पुगे । शरदले नो बलमा छक्का प्रहार गर्दै अंशुमानमाथि दबाब बनाए । पाँचौँ बल डट फालेका रथका लागि ओभरको अन्तिम बल थप पीडादायक रह्यो । उनले अन्तिम बल चारपटक फ्याँके । यसपटक उनले दुई वाइड र दुई नो बल फाले । शरदले यसपटक पनि नोबलमा छक्का ठोके । छक्का प्रहारसँगै अंशुमानको ओभर समाप्त भयो । त्यस ओभरमा शरदले ४ छक्का र १ चौका प्रहार गरेका थिए ।

भेसवाकरको रनआउट
प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलको १४ ओभरसम्म भैरहवालाई ३६ बलमा ४८ रन चाहिएको थियो । भैरहवासँग हातमा ८ विकेट थियो । त्यस वेलासम्म भैरहवा १०२÷२ को सहज स्थितिमा थियो । क्रिजमा कप्तान शरद भेसवाकर र आरिफ सेखले उत्कृष्ट ब्याटिङ गरिरहेका थिए । दुवै सेट ब्याट्सम्यानले सहजै भैरहवालाई उपाधि दिलाउने अनुमान लगाइएको थियो । तर, भैरहवाको दुर्भाग्य, त्यसवेला सुरु भयो, जब १४.१ ओभरमा शरदले आफ्नो विकेट रनआउटका रूपमा गुमाउन पुगे । मिड अनमा रहेका करण केसीले शरदलाई सीधा थ्रोमा रनआउट पारे । फिल्ड अम्पायर देवेन्द्र सुवेदीले शदरलाई थर्ड अम्पायरद्वारा रनआउटको निर्णय सुनाएपछि विराटनगरले पुनरागमन गरेको हो । शरद आउट भएपछि आरिफले उत्कृष्ट बाउन्ड्री लगाउँदै भैरहवालाई खेलमा फर्काउने

कोसिस
नगरेका होइनन् । तर, उनको प्रयासले सार्थकता पाउन सकेन । आरिफले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २७ रन बनाए । उनी १८औँ ओभरमा पेभिलियन फर्किए ।

दर्शकको आकर्षण
क्रिकेट विवादका कारण घरेलु क्रिकेटको मनोरञ्जन लिन नपाएका समर्थकले शनिबार भरपुर मजा लिए । १६ हजार दर्शकले फाइनल खेल हेरेको आयोजकको दाबी छ । मैदानभित्र प्रवेश गर्न दर्शकहरू त्रिविको मूलद्वारासम्म लाइन बसेका देखिन्थे । फाइनलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको झझल्को दियो ।

उग्र दर्शक पनि
दोस्रो इनिङमा अंशुमानले ३६ रन दिएपछि विराटनगरका दर्शक उग्र देखिए । उनीहरूले मैदानमा बोतल र ढुंगा प्रहार गरेपछि खेल १० मिनेटका लागि रोकियो । आयोजक र मैदानमा रहेका खेलाडीले दर्शकलाई शान्त रहन आग्रह गरिरहे ।

गेटमा दुई सुरक्षाकर्मी
पश्चिमतिरको गेटमा केवल दुई सुरक्षा जवान मात्र ड्युटीमा खटिएका थिए । सुरक्षाकर्मी आफ्नो स्थानमा नरहँदा टिकट नकिनेका दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए । पछि, सुरक्षाकर्मीले दर्शकमाथि लाठीचार्ज गर्दै भिड नियन्त्रणमा लिने प्रयास गरे ।

नेपाल आइडलको प्रस्तुति
पहिलो इनिङको समाप्तिपछि आधा घन्टा मैदानमा नेपाल आइडलका तीन स्टारले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । नायक निखिल उप्रेतीले पनि दर्शकको ध्यान आफूतिर तान्न भरपुर प्रयास गरेका देखिन्थे ।

अन्तिम ओभरसम्म प्रयास
पारस खड्का
कप्तान विराटनगर
हामीले अन्तिम ओभरसम्म खेल जित्ने प्रयास गरेका थियौँ । अन्तिम ओभरमा ९ रन आवश्यक रहँदा पनि जित हुने नै विश्वास थियो । अनिलविरुद्ध मैले एक किसिमले रिक्स नै उठाएको हुँ । क्रिकेटमा जे पनि हुन सक्छ भन्ने सन्देश आजको खेलले प्रमाणित गरेको छ । अंशुमानको ओभर खेलको एक पाटो हो । हामीले पुनः एकपटक टिमवर्कको भावनाले खेलेर च्याम्पियनसिप उपाधि उचाल्यौँ ।

१ रनले हार्दा दुःख शरद भेसवाकर
कप्तान, भैरहवा
अन्तिम दुई ओभरमा ब्याट्सम्यानहरू आत्तिए । उनीहरू छिटै खेल सकाउनेतर्फ लागे । वास्तवमा ठूलो सट खेल्नुभन्दा १ वा २ रन लिएको भए फाइनल खेल हाम्रो हुने थियो । हामीले ब्याटिङमा पकड बनायौँ । खेल सहजै जित्न सकिन्थ्यो । तर, विराटनगरले उत्कृष्ट पुनरागमन ग¥यो । अरूभन्दा पनि फाइनल खेल १ रनले मात्र हार्दा धेरै दुःखी बनेको छु ।

तपाईको प्रतिक्रिया