logo

bar

२०१७ मा सर्वाधिक कमाउने १० महिला खेलाडी

नयाँ पत्रिका काठमाडौं, १६ पुस | पुष १६, २०७४

सन् २०१७ मा सर्वाधिक कमाउने महिला खेलाडीमा टेनिस खेलाडीकै दबदबा देखिएको छ । सर्वाधिक कमाउने १० महिला खेलाडीमा पहिलो नम्बरमा सेरेना विलियमसँगै आठ खेलाडी टेनिसकै छन् । तेस्रो र चौथो नम्बरमा मोटर रेस र बक्सिङका खेलाडी छन् । फोब्र्स म्यागजिनका अनुसार यो वर्ष सर्वाधिक कमाउने १० महिला खेलाडी यस्ता छन् :

१. सेरेना विलियम, टेनिस
खेल जीवनको २३औँ ग्रान्डस्लाम जित्दा गत वर्ष सेरेनाको गर्भमा तीन महिनाको बच्चा थियो । यसपछि सन् २०१७ मा खेल जीवनमा सक्रिय हुन नसके पनि सेरेना कमाइ गर्ने महिला खेलाडीको सूचीमा अगाडि नै रहिन् । विगतको आम्दानी र उनीसँग विभिन्न कम्पनीले गरेको प्रायोजनबाट उनी सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीका रूपमा प्रस्तुत भइन् । उनले यो वर्ष २७ मिडियन लडर अर्थात् २ अर्ब ७५ करोड ४० लाख रुपैयाँ आम्दानी गरेकी छिन् । जसमध्ये १ अर्ब ९५ करोड ७० लाख रुपैयाँ प्रायोजकहरूबाट प्राप्त भएको हो ।

२. एन्जेलिक केरबेर, टेनिस
जर्मन टेनिस खेलाडी एन्जेलिक सर्वाधिक कमाइ गर्ने महिला खेलाडीको सूचीमा दोस्रो नम्बरमा परिन् । यो वर्ष अमेरिकी ओपन जिते पनि विम्बल्डनमा उपविजेतामै चित्त बुझाएकी उनी रोलेक्स, जेनेराली, स्लिम सेक्रेटजस्ता कम्पनीको प्रचारमा विगतदेखि व्यस्त छिन् । यो वर्ष एडिडास र योनेक्सले समेत उनलाई प्रायोजन गर्न थालेपछि उनको कमाइ झन् बढ्यो । १२ दशमलव ६ मिलियन डलर अर्थात् १ अर्ब २८ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेकी एन्जेलिकले यो वर्ष ५१ करोड रुपैयाँ प्रायोजकबाटै प्राप्त गरेकी हुन् ।

३. डेनिका प्याट्रिका, मोटर रेस
डेनिका मोटर रेसकी खेलाडी हुन् । उनी कोकाकोला, फोर्डलगायत विभिन्न १० वटा कम्पनीको प्रचार–प्रसारमा संलग्न छिन् । डेनिकाले यो वर्ष १२ दशमलव २ मिलियन डलर अर्थात् १ अर्ब २४ करोड ४४ लाख रुपैयाँ कमाइन् । जसमध्ये ५१ करोड रुपैयाँ प्रायोजकबाट प्राप्त भएको हो ।

४. रोन्डा रोसी, बक्सिङ
युएफसी बक्सिङकी चर्चित खेलाडी रोन्डाको एउटा भिडन्तको रेट अहिले २० लाख रुपैयाँ छ । टेलिभिजनमा उनको भिडन्त हेर्न दर्शकले बढी शुल्क तिर्नुपर्छ । त्यसबाहेक उनी युएफसीकी प्रशिक्षक पनि हुन् भने वर्ष २०१७ मै उनले बक्सर ताभिस ब्रोनीसँग विवाहसमेत गरिन् । रोन्डाले यो वर्ष ११ मिलियन डलर अर्थात् १ अर्ब १२ करोड २० लाख रुपैयाँ कमाइन् । कुल आम्दानीमध्ये ३० करोड ६० लाख रुपैयाँ उनले प्रायोजकबाट मात्र प्राप्त गरिन् ।

५. भेनस विलियम, टेनिस
सेरेना विलियमकी दिदी हुन्, भेनस । उनी सर्वाधिक कमाउने महिला खेलाडीको सूचीमा यो वर्ष पाँचौँ स्थानमा रहन सफल भइन् । उनले पनि खेलभन्दा प्रायोजकबाटै राम्रो कमाइ गरिन् । भेनसले यो वर्ष कमाएको साढे १० मिलियन डलर अर्थात् १ अर्ब ७ करोड १० लाख रुपैयाँमध्ये ७१ करोड ४० लाख रुपैयाँ प्रायोजकबाटै प्राप्त भएको हो ।

६. गार्बिन मुगुरुजा, टेनिस
सन् २०१६ मा फ्रेन्च ओपन टेनिस प्रतियोगिता जितेपछि गार्बिन महिला टेनिसको दोस्रो स्थानमा पुगेकी थिइन् । विम्बल्डन टेनिस प्रतियोगितासमेत जितेकी गार्बिनले यो वर्ष ७ दशमलव ७ मिलियन डलर अर्थात् ७८ करोड ५४ लाख रुपैयाँ आम्दानी गरिन् । उनको कुल आम्दानीमा ३५ करोड ७० लाख रुपैयाँ प्रायोजकबाट मिलेको हो ।

७. क्यारोलिन वज्नियाकी, टेनिस
यो वर्ष विभिन्न टेनिस प्रतियोगितामा भिडेर पनि कुनै उपाधि चुम्न सकिनन्, क्यारोलिनले । सातवटा प्रतियोगितामा त उनी फाइनलमा पुगेर पनि हारिन् । यो वर्ष ७ दशमलव ५ मिलियन डलर अर्थात् ७६ करोड ५० लाख रुपैयाँ कमाएकी उनले एडिडास, रोलेक्स आदि कम्पनीबाट ५१ करोड रुपैयाँ प्राप्त गरिन् । उनी पूर्व एक नम्बरकी खेलाडी हुन् ।

८. एग्निस्का राडवान्स्का, टेनिस
सन् २०१६ मा महिला टेनिसको तेस्रो वरियतामा रहेकी एग्निस्का यो वर्षको अन्तसम्म आइपुग्दा १०औँ स्थानमा पुगिन् । यो वर्ष उनले ७ दशमलव ३ मिलियन डलर अर्थात् ७४ करोड ४६ लाख रुपैयाँ आम्दानी गर्न सफल भइन् । जसमध्ये प्रायोजकबाट ४० करोड ८० लाख रुपैयाँ मिल्यो ।

९. इग्वुइनी बुचर्ड, टेनिस
इग्वुइनी यो वर्ष धेरै माथि पुग्न सक्छिन् भन्ने अधिकांशको अनुमान थियो । तर, उनले सबैका अनुमानअनुसार प्रस्तुति दिन सकिनन् । सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीको सूचीको नवौँ स्थानमा परेकी उनलाई पनि विभिन्न कम्पनीले प्रायोजन गरिरहेका छन् । यो वर्ष इग्वुइनीले कमाएको ७ दशमलव १ मिलियन डलर अर्थात् ७२ करोड ४२ लाख रुपैयाँमध्ये ६६ करोड ३० लाख रुपैयाँ प्रायोजकबाटै प्राप्त भएको हो ।

१०. सिमोना हाल्प, टेनिस
मर्सिडिज, बेन्ज र एडिडाससँग व्यापारिक सम्झौतामा रहेकी रोमानियाकी सिमोनाले यो वर्ष ६ दशमलव २ मिलियन डलर अर्थात् ६३ करोड २४ लाख रुपैयाँ आम्दानी गरिन् । कुल कमाइमध्ये १५ करोड ३० लाख रुपैयाँ उनले विभिन्न कम्पनीबाट आम्दानी गरेकी हुन् ।

तपाईको प्रतिक्रिया