logo

bar

गौतमको नेपाल नवनिर्माण महाअभियान लोकार्पण

नयाँ पत्रिका काठमाडौं, १६ पुस | पुष १६, २०७४

एमाले उपाध्यक्ष वामदेव गौतमको ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको लोर्कापण गरिएको छ । राष्ट्रियसभा गृहमा शनिबार आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सहित प्रमुख दलका शीर्ष नेताले गौतमको पुस्तक संयुक्त लोर्कापण गरे । एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ पुस्तक लोर्कापणमा सहभागी थिए ।

दुई सय ४५ पृष्ठको राजनीति र विकाससँग सम्बन्धित पुस्तकमा नेपाललाई छिट्टै विकसित राष्ट्र बनाउन विकास र समृद्धिको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा एमाले अध्यक्ष ओलीले पाको उमेर, अति व्यस्त राजनीतिक जीवनका बाबजुद समय व्यवस्थापन गर्दै गौतमले मुलुकको आजको आवश्यकता सम्बोधन गर्ने पुस्तक प्रकाशन गरेर ठूलो गुन लगाएको बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले करिब ७ वर्षअघिको भेटमा आर्थिक विकासको यात्रा सुरु गर्नुपर्ने प्रस्तावसहित आफूसँग सुझाब लिन आएका नेता गौतमले विकासको १० वर्षे कार्ययोजनाका रूपमा पुस्तक प्रकाशन गरेकोमा धेरै खुसी लागेको बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गौतमलाई आफूले निरन्तर ज्ञान र कर्मको संयोग मिलेको व्यक्तित्वका रूपमा पाए पनि अपवादका रूपमा चुनावी परिणाम त्यस्तो नआएकोमा दुःख व्यक्त गरे । ‘उहाँले नै कार्यकारी प्रमुख बनेर विकासको योजना लागू गर्न पाएको भए देशले धेरै फड्को माथ्र्यो कि, तर विडम्बना !

चुनावी परिणाम त्यस्तो हुन सकेन,’ पौडेलको भनाइ थियो, ‘तर, पुस्तक विकासको योजना र कार्यक्रम बनाउनेहरूका लागि धेरै उपयोगी साबित हुनेछ ।’ कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रित, कानुनविद् डा. युवराज संग्रौला, पूर्वाधारविद् डा. सूर्यराज आचार्यलगायतले गौतमको पुस्तकमाथि टिप्पणी गरेका थिए ।

तपाईको प्रतिक्रिया