logo

bar

मन्त्रीबाट गिरीलाई पहिल्यै हटाउन चाहन्थे कमल थापा

मधुसुधन भट्टराई/नयाँ पत्रिका काठमाडौं, १६ पुस | पुष १६, २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले दिलनाथ गिरीलाई सहरी विकासमन्त्रीबाट प्रतिनिधिसभा निर्वाचनअघि नै फिर्ता बोलाउने तयारी गरेको खुल्न आएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकमा नयाँ सचिव पदस्थापनसम्बन्धी विषय संयोग मात्रै थियो ।

०७० को संविधानसभा निर्वाचनपछि गिरी थापानिकट भएकै कारण व्यस्थापिकामा प्रमुख सचेतक तथा दुईपटक मन्त्री भएका थिए । राप्रपा २८ असोज ०७४ मा चार मन्त्री र चार राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने र पार्टी पनि सरकारमा सहभागी हुने वातावरण निर्माण गर्न कांग्रेससँग छलफलका लागि अध्यक्ष थापाले गिरीलाई नै खटाएका थिए ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुने वेलामा पनि गिरीले नै पार्टीको तर्फबाट वार्ता गरेका थिए । तर, निर्वाचनमा आर्थिक जुटाउने विषयमा गिरीमाथि सहरी विकासराज्यमन्त्री कुन्तिकुमारी शाही र पार्टी कोषाध्यक्ष उद्धव पौडेललाई थापाले खटाएपछि विवाद चुलिएको थियो । स्रोतका अनुसार मन्त्री गिरीसँग विभिन्न राजदूतले भेट गरेका विषयमा थापाले सुरुदेखि नै शंका गर्दै आएका थिए ।

राप्रपा स्रोतका अनुसार सरकारमा सहभागी भएलगत्तै अध्यक्ष थापाले ऊर्जा मन्त्रालयमा मुखैमा आएको निर्वाचनका लागि पार्टीको खर्च व्यवस्थापन गर्न मन्त्रीहरूको बैठक डाके । पार्टी उपाध्यक्षसहितको बैठकमा मन्त्रीहरूसँग थापाले निर्वाचनका लागि खर्च व्यवस्थापन कसरी गर्ने भन्ने छलफल गरे । ‘अरू मन्त्रालयहरूमा सम्बन्धित मन्त्रीलाई नै जिम्मा दिए, तर सहरी विकास मन्त्रालयको हकमा अध्यक्षले गिरीलाई होइन, उद्धव पौडेललाई सबै समन्वय गर्नु भनेर जिम्मा दिए’ जानकार एक राप्रपा नेताले भने, ‘यो अवस्थामा सहरी विकाससचिव दीपेन्द्रनाथ शर्मा पनि राज्यमन्त्री कुन्ति र राप्रपा कोषाध्यक्ष उद्धव पौडेलसँग होटल द्वारिकाजमा गएर छलफल गर्थे ।

निर्वाचन खर्च उनीहरूकै योजनामा के–कति उठ्यो भन्नेबारे मन्त्री गिरीलाई जानकारी दिइएन ।’ सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई पनि उपप्रधानमन्त्रीसमेत रहेका थापाले कुनै पनि निर्णय गर्नुपूर्व आफूलाई जानकारी दिन र राज्यमन्त्री शाहीसँग समन्वय गर्ने निवासमै बोलाएर निर्देशन दिए ।

मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक डा. रमेशकुमार सिंह सचिवमा बढुवा भए । रिक्त महानिर्देशकमा सामान्यतया मन्त्रीले आफूअनुकूलको सहसचिवमा लैजानुपर्ने हो । तर, गिरीले मन्त्रीको हैसियतमा त्यसो गर्न पाएनन् । अध्यक्ष थापाले पार्टी कोषाध्यक्ष पौडेल र राज्यमन्त्री शाहीको सिफारिसमा शिवहरि शर्मालाई हतारहतारमा महानिर्देशक बनाउने निधोमा पुगे ।

त्यसका लागि मन्त्रीले टिप्पणी उठाउनुपर्ने भएकाले महानिर्देशकमा शर्मालाई ल्याउने फाइल तयार गरी अध्यक्ष थापाले विराटनगरमा भएका मन्त्री गिरीलाई त्यहीँ हस्ताक्षर गर्न फाइल बोकेर कर्मचारी पठाए । थापाको यो कार्यमा गिरी असन्तुष्ट बने ।

मन्त्री गिरी असन्तुष्ट रहे पनि थापालाई यसबारे असन्तुष्टि जनाएनन् । गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री गिरीले सचिवका कारण आफूलाई काम गर्न असहज भएको भन्दै भर्खरै सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकबाट सचिवमा बढुवा भएका डा. सिंहलाई मन्त्रालयमा ल्याउने प्रस्ताव गरे । त्यसपछि थापाले आफूलाई नसोधी सचिव परिवर्तनको प्रस्ताव किन ल्याएको भन्दै मन्त्रिपरिषद् बैठकमै हपारे । तर, गिरीले मन्त्रीले सचिव परिवर्तनका लागि पार्टी अध्यक्षसँग अनुमति लिन नपर्ने भनेपछि अध्यक्ष थापाले मन्त्री गिरीको राजीनामा मागे । त्यसपछि प्रधानमन्त्री देउवाले तत्काल कुनै पनि मन्त्रीले राजीनामा दिन नपर्ने भन्दै झगडा साम्य पारे ।

‘मैले सचिव हटाउने प्रस्ताव गरेको थिइनँ, सुझाब मात्रै दिएको थिएँ, कमल थापाले एक्कासि रौद्ररूप धारण गरेपछि सहन नसकेर प्रतिक्रिया दिएको हुँ,’ मन्त्री गिरीले शनिबार निकटवर्तीहरूसँगको एक जमघटमा सुनाए । गिरीलाई मन्त्रीबाट हटाउने भन्ने दाउ खोजेर बसेका थापालाई के खोज्छस, कानो आँखो भने झैँ भयो ।

थापाले प्रधानमन्त्री देउवालाई शुक्रबार गिरीलाई मन्त्रीबाट बरखास्त गर्ने सिफारिस गर्दै पत्र पठाए । मन्त्रीबाट पार्टीले फिर्ता बोलाएपछि प्रतिक्रिया लिन खोज्दा गिरीले भने, ‘म मेरा मित्र कमल थापाको प्रगति होस भन्न चाहन्छु । म उहाँको असल मित्र हुँ ।’

सम्बन्ध पुरानै
थापा र गिरीबीचको राजनीतिक सम्बन्ध ०२८ सालदेखिको हो । उनीहरू ०२८ सालमा राष्ट्रवादी विद्यार्थीमण्डलबाट सँगसँगै राजनीतिमा होमिएका थिए । ०३० सालमा भएको विद्यार्थीमण्डलको अधिवेशनले थापालाई अध्यक्ष र गिरीलाई महासचिव बनाएको थियो । त्यसवेला सिनियर गिरी भए पनि थापालाई अध्यक्ष बनाएर गिरीलाई महासचिव बनाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु