logo

bar

शिक्षा सुधारका लागि शिक्षकलाई ३ महिने अल्टिमेटम !

विश्वराज पछल्डङ्ग्या बाँके, १५ पुस | पुष १५, २०७४

बाँकेको कर्णाली भनेर चिनिने बघौडा क्षेत्रका विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको गुनासो बारम्बार आएपछि सुधारका लागि नरैनापुर गाउँपालिकाका प्रमुखले तीन महिने अल्टिमेटम दिएका छन् । उनले तीन महिनासम्म बालबालिकाको शिक्षामा सुधार नआए कारवाही गर्ने चेतावनी दिएका छन् ।

विद्यालयमा शिक्षकहरु अनुपस्थित हुने, समयमा बिद्यालय नपुग्ने, पुगे पनि बिदा हुनुभन्दा अगावै निस्कने र अध्ययन अध्यापनमा लापरवाही गरेका कारण बिद्यालय जाने बिद्यार्थीको संख्या घट्दै गएको ठहर गर्दै ३ महिने अल्टिमेटम दिएको गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताए ।

उनले शिक्षकलाई विद्यालयमा नियमित उपस्थित भई प्रभावकारी शिक्षणको ब्यवस्था गर्न निर्देशन दिएको बताए । ‘सामुदायिक विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्न नसकेको गुनासो आएपछि शिक्षामा सुधार गर्न शिक्षकलाई ३ महिनाको समय दिइएको छ,’ उनले भने ।

शिक्षामा सुधार ल्याउन नसक्ने शिक्षकलाई कारवाही
तीन महिना भित्र शिक्षा नियमावली तथा विद्यालयको नीति, नियम अनुसार, काम गर्न नसक्ने शिक्षकलाई कारवाही गरिने प्रमुख शाहको भनाई छ । उनले शिक्षक र विद्यालयको लापरवाहीका कारण विद्यार्थीको संख्या घट्दै गएको अनुसन्धानले देखाएको बताए ।

उनले विद्यार्थीलाई विद्यालयमा रोक्न नसक्नुमा पनि शिक्षकको दोष भएको बताए । ‘विद्यार्थीको उपस्थितिमा बृद्धि गर्ने प्रमुख दायित्व शिक्षक र विद्यालयको हो, भर्ना भएका विद्यार्थीलाई नियमित विद्यालय ल्याउन नसक्नु पनि शिक्षकको कमजोरी हो,’ उनले भने । नरैनापुर गाउँपालिका भित्र २१ वटा सामुदायिक विद्यालय संचालनमा छन् ।

नरैनापुर गाउँपालिकामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको शिक्षामा सुधार गर्ने विद्यालय र शिक्षकलाई प्रोत्साहन गर्न विशेष ब्यवस्था गरिएको छ । तीन महिनाभित्र शिक्षामा सुधार गर्ने र राम्रो उपलब्धी दिन सक्ने शिक्षकलाई पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ । ‘गुणस्तरिय शिक्षा प्रदान गर्न नसक्ने शिक्षकको तलव रोक्का तथा कटौती, बढुवा रोक्कादेखि सरुवा समेत गर्न सकिने निर्णय भएको छ,’ महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक पेशकार सिंहले भने ।

नियमित आउने विद्यार्थीलाई खाजा

विद्यालयमा बिद्यार्थीलाई नियमित उपस्थित गराउन र ड्रप आउट कम गर्न गाउँपालिकाले विशेष नीति अवलम्बन गर्ने भएको छ । अबदेखि विद्यालयमा बार्षिक ८० प्रतिशत उपस्थित हुने विद्यार्थीलाई बार्षिक ६ सय रुपैयाँ प्रदान गर्ने नीति अवलम्वन गरिएको छ । गाउँपालिकाले नियमित विद्यालय आउने विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था समेत गर्ने भएको छ ।

बघौडा क्षेत्रका विद्यालयको शिक्षामा सुधार ल्याउन अन्य आवश्यक सहयोग गर्न समेत तयार रहेको गाउँपालिका प्रमुख शाहले बताए । बाटोघाटो, बिजुली, शिक्षा, स्वास्थ्य लगायत सवै क्षेत्रमा पछाडि पर्नुको कारण शिक्षा भएको ठहर गाउँपालिकाले गरेको छ । गुणस्तयरिय शिक्षा नपाकै कारण विकासले गति लिन नसकेको हाम्रो ठहर छ, प्रमुख शाहले भने ।

गाउँपालिका प्रमुख शाहको निर्देशन पछि नरैनापुर गाउँपालिकामा रहेका विद्यालयका शिक्षकले ३ महिना भित्र सुध्रिने र शिक्षामा सुधार ल्याउने प्रतिबद्धता जनाएका छन् ।

नरैनापुर गाउँपालिकाको गाउँ सभाले प्रत्येक घरका बालबालिकालाई कक्षा १० सम्म अनिवार्य पढाउनका लागि लक्ष्मणपुरमा रहेको आदर्श माध्यमिक विद्यालयलाई नमुना माबिको रुपमा बिकास गर्ने, गाँउपालिका भित्र प्राबिधिक शिक्षालय तथा एउटा बहुमुखी क्याम्पसको स्थापनाको पहल गर्ने योजना अघि सारेको प्रमुख शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु