logo

bar

२० वर्षमै भागेर विवाह गर्‍याैं

नयाँ पत्रिका काठमाडौं | पुष १५, २०७४

मैले ऋतुलाई पहिलोपटक आकाशे रङको सर्ट र गाढा रङको स्कर्टमा देखेको थिएँ । मलाई अझै पनि याद छ, उनले गाजल पनि लगाएकी थिइन् । हामी एउटै स्कुलमा पढ्थ्यौँ । कपिलवस्तुको रत्नराज्य माध्यमिक विद्यालयमा । उनी सात कक्षामा पढ्थिन् म नौ कक्षामा । कक्षा सुरु हुनुभन्दाअघि चउरमा उभिएर राष्ट्रिय गीत गाउनुपथ्र्यो । त्यसवेला पनि एक–अर्कालाई देखिरहेका हुन्थ्यौँ ।

कक्षाकोठामा सँगै जाँदा सामान्य बोलचाल हुन्थ्यो । पछिपछि कहिलेकाहीँ सँगै पनि खेल्थ्यौँ । उनी राम्री लाग्थिन् । एकदम हेर्न मन लाग्ने । देख्दा खुसी लाग्थ्यो । त्यो प्रेम त थिएन होला । आकर्षण पनि थिएन । खै के भन्ने । बुवा सरकारी जागिरे हुनुहुन्थ्यो । बुवासँगै पढ्नका लागि म एसएलसीपछि भैरहवा आएँ । उनी त्यही स्कुलमा पढिरहेकी थिइन् ।

त्यसपछि भेट्ने उपाय थिएन । मैले उनलाई चिठी लेखेँ । उनले पनि चिठीको जवाफ पठाइन् । त्यसपछि सन्चोबिसन्चो चिठीमार्फत सोधासोध हुन्थ्यो । एक–अर्काको भावना चिठीमार्फत आदानप्रदान हुन थाल्यो । उनी स्कुल नै पढ्दै थिइन् । उनी धेरैपछि भैरहवा आइन् ।

करिब एक डेढ वर्षपछि होला । त्यसवेलासम्म चिठीबाट नै खबर सोधासोध भइरहेको थियो । भैरहवामा उनका आफन्त हुनुहुन्थ्यो । आफन्तकोमा आउँदा भेट हुन्थ्यो । उनको ठूलोबुवा, ठूलोआमा भैरहवामा हुनुहुन्थ्यो । त्यसले गर्दा कहिलेकाहीँ उनी भैरहवा आउँथिन् । केही अवसरको मौका परेका वेला । त्योभन्दा बाहेक महिनामा दुईपटक चिठी लेखिन्थ्यो ।

त्यसवेला आजभोलिको जस्तो फोन सबैतिर थिएन । चिठीमार्फत मुक्तक र सायरी लेखेर पठाइन्थ्यो । जवाफमा उताबाट पनि त्यस्तै आउँथ्यो । अहिले सम्झँदा रमाइलो लाग्छ । त्यसरी हाम्रो लगभग पाँच वर्षजस्तो चिठी लेखालेख भयो । त्यसपछि हामीले भागेर विवाह ग¥यौँ । हाम्रो अन्तर्जातीय विवाह पनि हो । उनी क्षेत्री म ब्राह्मण ।

मैले उनलाई भगाएर म जन्मेको मेरो गाउँ लगेँ । त्रिवेणी नवलपरासी । अहिले नवलपुर नगरपालिका भएको छ । त्यहाँ मेरो काका–काकी हुनुहुन्थ्यो । त्यहाँ हामी लगभग दुई महिना बस्यौँ । मेरो दाइको विवाह भएको थिएन । त्यसवेला म बीस वर्षको मात्र थिएँ । मैले ऋतुलाई भगाएको दुई महिनापछि दाइको विवाह भयो । त्यहीवेला बुवाआमाले हामीलाई पनि बोलाएर भित्र्याउनु भयो ।

म पढिरहेको थिएँ । पढाइलाई निरन्तरता दिन थालेँ । केही समयपछि काठमाडौंं आएँ । ऋतुलाई घरमा नै छोडेर आएको थिएँ । काम गर्न थालेँ । काठमाडौंमा आएर मैले रेस्टुरेन्टमा गीत गाउन थालेँ । महाराजगन्ज चोकको मोनालिसा गजल एन्ड बारमा । विनातलब, विनाटिप्स । आएको टिप्स पनि मैले पाउँदिन थिएँ । त्यसले भएन । त्यसपछि मैले ओरियन्टल इन्स्योरेन्स कम्पनीमा काम गर्न थालेँ । हल्का आम्दानी हुन थाल्यो । ऋतु पनि काठमाडौं आइन् । छोराहरू सानै थिए ।

बच्चालाई डे केयरमा छोडेर पार्लरको तालिम लिइन् । काम गर्न थालिन् । पछि बिस्तारै आफैँ पार्लर सञ्चालन गरिन् । यसरी हामीले एक–अर्कालाई साथ दिँदै आएका छौँ । सुरुका दिनमा धेरै असहज यात्रा ग¥यौँ । तर, सपना भयो भने निश्चित समय आएपछि सहज हुँदो रहेछ । साथै एक–अर्कालाई बुझ्ने, माया गर्ने त छँदै छ । हामीबीच म हुँ भन्ने अहम् कहिले आएन ।

हामीले आफूलाई सामान्य सोचेर अगाडि बढ्यौँ । असहज यात्राहरूको अनुभव सँगै ग¥यौँ । त्यसले झनै एक–अर्काको सहयोगी बनायो । सम्बन्धलाई थप बलियो बनायो । अब आउने वैशाखमा हामीले विवाह गरेको २५ वर्ष पुग्छ । ऋतु एकदम सरल छिन् । अहिले मेरो काममा सघाउँछिन् । मेरो कार्यक्रमको कार्यतालिकालाई व्यवस्थित बनाउन सघाइरहेकी छिन् । अहिले खुसी छौँ । सुखी परिवारको जीवन बिताइरहेका छौँ । छोराहरू पनि खुसी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु