logo

bar

जलेश्वर नगरपालिकाको महत्वकांक्षी योजना पारित

रंजन भण्डारी महोत्तरी, १५ पुस | पुष १५, २०७४

जलेश्वर नगरपालिकाले स्थानीय निकाय चुनाव पछिको पहिलो नगरसभा सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७४, ०७५कोलागि कूल ५८ करोड २६ लाख ६१ हजार बजेट विनियोजन गर्दै नगरसभा सम्पन्न भएको छ । साथै नगरसभाले नगरपालिकाको नाम परिवर्तन सँगै सबै वडामा फ्रि वाइफाइ जोनलगायतका महत्वाकांक्षी योजना पारित गरेको छ ।

आर्थिक वर्ष ०७४, ०७५को लागि कूल ५८ करोड २६ लाख ६१ हजार बजेट विनियोजन गर्दै कूल बजेटको चालु तर्फ २२ करोड ४३ लाख ९१ हजार र पुँजीगत तर्फ ३५ करोड ८२ लाख ७० हजार विनियोजन गरिएको हो । नगरसभाले नगरपालिकाको परिवर्तन गरि जलेश्वरनाथ नगरपालिका राख्ने निर्णय गर्नुका साथै दोस्रो कामकाजी भाषाको रुपमा मैथिली भाषा राख्ने निर्णय समेत गरेको छ ।

ऐतिहासिक जलेश्वरनाथ महादेव मंदिर रहेको नगरपालिकाको नगर परिषद्ले सवैवडालाई फ्री वाइफाई जोन बनाउने, शहिद अक्षयकोषको स्थापना, अस्पतालमा जन्मेको रेकर्ड अनुसार, बालिकाको नाममा ५ हजार रकमसहितको खाता खोलिदिने, नगरपालिका क्षेत्रका विद्यालयहरुमा ३ कक्षासम्म अनिवार्यरुपमा अंग्रेजी माध्यममा पढाइनु पर्ने, नगरपालिकाका प्रत्येक बाटो पक्की गर्ने लगायतका योजना ल्याएको नगरपालिका प्रमुख रामशंकर मिश्रले बताए ।

१२ वडा रहेको जलेश्वर नगरपालिका संघीयतालाई मूर्त रुपदिन स्थानीय भाषालाई प्रमुखता दिंदै नगरपालिकाका वडा नं. ७ मा रहेका चारवटा विद्यालयहरुमा आगामी शैक्षिक सत्रदेखि १ कक्षादेखि मैथिली भाषाको पठनपाठन सुरु गराइने निर्णय नगरसभाबाट गराएको वडाध्यक्ष रामछविला यादवले जनाए ।

उद्योग वाणिज्य संघ जलेश्वरको सभाहलमा सम्पन्न नगरपरिषद्ले पदाधिकारीहरुको पारिश्रमिक समेत निर्धारण गरेको छ । तोकिएको पारिश्रमिक अनुसार मेयरलाई ३० हजार, उपमेयरलाई २५ हजार र वडाध्यक्षहरुलाई २० हजार मासिक तलव तोकिएको छ । यस्तै वडाध्यक्षहरुले मासिकरुपमा २० लिटर पेट्रोल र १ हजार संचार खर्च पाउने व्यवस्था सभाले गरेको छ ।

नगरसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि, जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेश प्रसाद सिंहले जनप्रतिनिधिहरुलाई वास्तविकरुपमा जनताको सेवक बन्न आग्रह गरे ।

नगरपालिकाका ४ वटा चोकलाई स्मार्ट चोक बनाइने, वडाहरुमा खेल मैदान व्यवस्थित गर्नुको साथै ल्याइएका थुप्रै महत्वकांक्षी योजनाहरुले मूर्तरुप पाए मात्र जननिर्वाचीत प्रतिनिधिहरुप्रतिको विश्वास आम जनतामा जागृत हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया