logo

bar
logo
Advertisment
SKIP THIS

स्वदेशी जुत्ता, आत्मनिर्भरताको मुद्दा

सुदीपकुमार ढुंगाना काठमाडाैं, १५ पुस | पुष १५, २०७४

एक दशकअघिसम्म नेपाली जुत्ता भनेर नाक खुम्च्याउने प्रवृत्तिमा परिवर्तन आउन थालेको छ । किनकि, वर्षभरजसो भृकुटीमण्डपमा हुने कुनै न कुनै नामको जुत्ता मेलाले पनि यही छनक दिइरहेको छ । हिजोआज नेपाली जुत्तामा आफ्नो पाइला अघि बढाउनेको संख्या वृद्धि भइरहेको देखिन्छ । राष्ट्रिय उत्पादनले तल्लो तहसम्म स्वीकार र मान्यता पाउँदै गएपछि उद्योगीहरू पनि उत्साहित हुँदै गएका छन् । १४ वर्षअघि राष्ट्रिय सभागृहको लबी (हिँड्ने बाटो)मा १७ वटा स्टल राखेर मेला आयोजना गर्न सुरु गरेका व्यवसायी यो वर्षदेखि भृकुटीमण्डपको फराकिलो हलभर स्टल राखेर मेला आयोजना गरेका छन् ।

यसले पनि मेला आयोजना गर्न सक्षम भएको दाबी गरिरहेका छन् । केही वर्षअघि उनीहरूले पूरै हलमा मेला लगाउने उद्देश्यले नेपाल कपडा तथा सिलाई व्यवसायी संघसँग मिलेर ‘स्वदेशी बुट, स्वदेशी सुट’ भन्ने नारासहित एघारौँ राष्ट्रिय औद्योगिक प्रदर्शनी गरेका थिए । तर, अहिले एक्लै अर्थात् स्वदेशी जुत्ताकै मात्र मेला पनि प्रदर्शनी हलभर गर्न सक्नु आयोजकले आफ्नो सफलता मानेका छन् ।

जुत्ताको उत्पादन र उपयोग
नेपाली जुत्ता चप्पल उत्पादन क्षेत्रबारे अनुसन्धान प्रतिवेदन २०७४ अनुसार अहिले कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका ठूला तथा मझौला उद्योग २ सय २९ वटा छन् । त्यस्तै घरेलु तथा साना उद्योग विभाग र समितिमा दर्ता भएका ९ सय ३२ कम्पनी छन् । लेडिज चप्पल उत्पादन १ सय ४० र फेल्ट तथा परम्परागत सीपमा आधारित उद्योग अनुमानित २ सय गरी जम्मा १ हजार ५ सय १ वटा उद्योग सञ्चालनमा रहेका छन् ।

फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अनुसार आव ०७२-७३ मा मात्र बजारमा ७ करोड ६२ लाख ४४ हजार १ सय ८६ जोर जुत्ता चप्पल खपत भएको थियो । जसमध्ये ३ करोड ८२ लाख ९४ हजार ७ सय ९३ जोर मात्र नेपाली जुत्ता खपत भएको एसोसिएसनको तथ्यांक छ । भूकम्प तथा नाकाबन्दी अघि ६५ प्रतिशत बजार हिस्सा रहेको थियो । अहिले नेपाली जुत्ताचप्पलको बजार हिस्सा ५० दशमलव २२ प्रतिशतमा आइपुगेको छ । यो विषयमा व्यवसायी र सरोकारवाला चिन्तित भएर बस्ने नभई कमीकमजोरी केलाएर समस्या समाधान गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ ।

व्यवसायीहरू नेपालको जुत्ता, चप्पल उत्पादन क्षमता ११ करोड १९ लाख ७१ हजार जोर प्रतिवर्ष रहेको तथ्यांक पेस गरिरहेका छन् । तर, उत्पादन भने ४ करोड ३९ लाख ५८ हजार ७ सय जोर मात्र रहेको छ । यसरी क्षमताको ३९ दशमलव २६ प्रतिशत मात्र उत्पादन हुनुको कारक केलाउन ढिलो भइसकेको छ । आउँदा वर्षहरूमा पूर्ण उत्पादन क्षमतामा कम्पनी सञ्चालन गर्ने बाटोमा अघि बढ्नुपर्नेछ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार भूकम्पपछि सबै उद्योग केही समय लथालिंग रहे, त्यसपछि उत्पादन गर्ने जनशक्तिको पनि अभाव भयो र सहयोगलगायत विभिन्न निहुँमा विदेशी जुत्ता ह्वात्तै नेपाल भित्रिए । त्यहीकारण नेपाली उत्पादनको बजार हिस्सा घटेको हो ।’ तर, अब फेरि नेपाली जुत्ताको बजार हिस्सा बढ्नेमा उनी विश्वस्त छन् । नेपाली जुत्ता उत्पादक कम्पनीको मुख्य उद्देश्य नै देशलाई जुत्तामा आत्मनिर्भर बनाउनु रहेको छ । यसका साथै बाहिर निर्यात गर्नलाई पनि सुरु गरिसकेका छन् ।

निर्यातको सम्भावना र प्रयास
अघिल्लो वर्ष मात्र सरकारले एनटिआइएस (नेपाल एकीकृत व्यापार रणनीति)अन्तर्गत विदेश निकास हुने १२ वटा वस्तुमध्ये नेपाली जुत्ता, चप्पल तथा छालाका वस्तु पनि निर्यातजन्य वस्तुका रूपमा सूचीकृत गरेको छ । यसअन्तर्गत जर्मन सहयोग नियोग जिआइजेड नेपालसँगको सहयोगमा उद्यमीहरूलाई निर्यातका बारेमा जनचेतना जगाउने, अन्तर्राष्ट्रिय औद्योगिक अवलोकन, गुणस्तरीय उत्पादनसम्बन्धी प्रशिक्षण, दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक पाठ्यक्रम तयार गर्ने, जुत्ता, चप्पलको वास्तविक स्थितिको जानकारीका लागि राष्ट्रिय सर्भेजस्ता कामको प्रारम्भिक कार्य पूरा भएका छन् । आउँदो वर्ष यो तयारीले प्रभावकारी भूमिका खेल्नेमा आफू विश्वस्त रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘आत्मनिर्भरताको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारासहित बिहीबारदेखि सुरु भएको प्रदर्शनी ६ दिन (पुस १३–१८) सम्म चल्नेछ । पहिलो दिनको अवलोकनकर्ताको उपस्थितिले आफूहरू उत्साही भएको मेला संयोजक नानीराम घिमिरेको दाबी छ । दिनदिनै सफल हुँदै गएका छालाजुत्ता उद्योग नेपाली उत्पादनप्रति माया जगाउन सफल भएका छन् । यद्यपि, बिस्तारै आयात प्रतिस्थापन गर्दै निर्यातको बाटोमा जान र उनीहरूको सपना साकार पार्न नेपाललाई माया गर्ने सबैले आप्mनो क्षेत्रबाट सहयोग गर्नुपर्ने व्यवसायीको अपेक्षा छ । नेपाली पाइलामा स्वदेशी जुत्ता मात्र पार्ने हो भने पनि औद्योगिक विकासको एउटा फड्को पार भएको मान्न सकिन्छ ।

मेला र ब्रान्ड प्रवद्र्धन
मेलाको आयोजना मूलत व्यवसायीले आफ्नो ब्रान्डको प्रवद्र्धनका लागि प्रयोग गर्दै आएका छन् । अघिल्ला वर्षहरूमा पनि अधिकांश व्यवसायीले आप्mनो स्टलबाट ब्रान्ड प्रवद्र्धन गर्थे । यसले उनीहरूमा व्यस्तताको साथै उत्साह पनि त्यत्तिकै देखिन्थ्यो । यसले मेलामा आउने दर्शकको उत्साहमा पनि उत्तिकै स्फूर्ति सिर्जना गर्ने गरेको छ । बालाजुका सन्तोष घिमिरे हरेक वर्ष हुने मेलामा जुत्ताको मोडेल र मूल्य आफ्नो अभिरुचिमा पर्ने बताए । उनले भने, ‘धेरैवटा कम्पनी र धेरैवटा मोडेल छान्न पाइने र केही छुट पनि पाइने भएकाले मेला जाने गर्छु ।’ उनले स्पोर्टस् र पार्टी सुज मनपर्ने बताए भने आफ्ना साथीहरूले पनि नेपाली जुत्ता नै लगाउने उनले बताए । जुत्ता व्यवसायीले नेपाली जुत्ता एउटा ग्राहकले किनेरै लग्ने र अर्का ग्राहकलाई गएर यो मेला र यो ब्रान्डका बारेमा प्रचार गर्ने गरिरहेको बताउँछन् । हरेक वर्ष यस्तै घटना र यही सोच मेलामा दोहोरिनेमा उनीहरू विश्वस्त छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु