logo

bar

मुम्बईको भवनमा भीषण आगलागी, १५ को मृत्यु

एजेन्सी नयाँदिल्ली, १५ पुस | पुष १५, २०७४

भवनमा अग्नि सुरक्षासम्बन्धी मापदण्ड पूरा नभएको र आगलागीपछि पनि व्यवस्थापनले सर्वसाधारणलाई सुरक्षित तरिकाले बाहिर निकाल्न चासो नदेखाएको भन्दै प्रहरीद्वारा सञ्चालकविरुद्ध मुद्दा


भारतीय सहर मुम्बईको एउटा भवनमा आगो लाग्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मुम्बईको प्रसिद्ध कमला मिल्स रेस्टुरेन्ट तथा किनमेल केन्द्र रहेको भवनमा शुक्रबार बिहान आगो लाग्दा १५ जनाको मृत्यु भएको हो । आगलागीमा डेढ दर्जन घाइते भएका छन् । घाइतेहरूको किङ इड्वार्ड मेमोरियल (केइएम) मा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको सो अस्पतालका मेडिकल अधिकारी अभिनाश सुपेले जानकारी दिए ।

पाँच मिनेटमै ध्वस्त
आगो लागेको पाँच मिनेटमै सो भवनको भौतिक संरचना ध्वस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आगलागीमा डेढ दर्जनभन्दा बढी घाइते भएका छन् । भवनको छतबाट शुक्रबार बिहान एक बजे आगो लागेको थियो । आगो लागेपछि भवनभित्र थुनिएका अधिकांश पाहुना बाथरुममा आश्रय लिन खोज्दा त्यहीँभित्र फसेका थिए । आगो लागेको केही सेकेन्डभित्रै अग्नि नियन्त्रक र उद्धारकर्ता पुगे पनि आगो निभाउन पाँच घन्टा लागेको थियो । केही क्षणमा आगोले माथिल्लो तला ध्वस्त पारेको थियो । आगलागी नियन्त्रणमा लिन दुर्घटनास्थलमा ६ वटा दमकल परिचालन गरिएका थिए ।

अग्नि सुरक्षा मापदण्डको अभाव
आगलागीमा जल्नेमध्ये अधिकांश पार्टीमा सहभागी महिलाहरू छन् । रोयर्टसका अनुसार आगलागीमा आफ्नो जन्मदिन मनाइरहेकी एक २८ वर्षीय युवतीको मृत्यु भएको छ । आगलागीमा मृत्यु भएका व्यक्तिहरूको विस्तृत विवरण अझै खुलेको छैन । अधिकांशको निसास्सिएर मृत्यु भएको चिकित्सकको भनाइ उद्धृत गर्दै भारतको दी टाइम्स अफ इन्डियाले जनाएको छ । भवनले अग्नि सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरेको र आगलागीपछि पनि कमला मिल्स रेस्टुरेन्टको व्यवस्थापनले सर्वसाधारणलाई सुरक्षित तरिकाले बाहिर निकाल्न चासो नदेखाएको भन्दै प्रहरीले सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
आगलागीप्रति राष्ट्रपति रामनाथ कोभिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति कोभिन्दले आगलागीमा मृत्यु भएका पीडितप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति जनाएका छन् । ‘मुम्बईमा आगलागी भएको दुःखद घटनाले मर्माहत बनाएको छ । शोकाकुल परिवारप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीध्र स्वास्थ्यलाभको कामना गर्छु, उद्धारकार्यमा खटिएका अग्नि नियन्त्रकहरूको अनवरत प्रयत्नको प्रशंसा गर्छु,’ राष्ट्रपतिले भनेका छन् । त्यस्तै आगलागीमा ठूलो जनधनको क्षति भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आगलागीबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै पीडितका आफन्तजनप्रति सहानुभूति जनाएका छन् ।

‘यस दुःखद घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् । आगलागीमा घाइते भएका व्यक्तिहरूको छिट्टै स्वास्थ्यलाभ होस्,’ प्रधानमन्त्री मोदीले ट्विट गरेका छन् । पुनर्निर्माण गरिएको औद्योगिक हाता कमला मिल्समा थुप्रै महँगा होटेल, रेस्टुराँ, बार तथा अन्य कार्यालयहरू छन् । सो भवनमा राष्ट्रिय समाचार च्यानलसँगै टाइम्स नाउ, मिरर नाउ र इटी नाउलगायतका समाचार संस्थाहरूका कार्यालयहरू छन् । प्रहरीले आगलागीबारे अनुसन्धान सुरु गरेको छ ।

‘मुस्किलले बाँचेँ’
घटनाका प्रत्यक्षदर्शी बिबिसीका अंकुर जैनका अनुसार पार्टीमा सहभागी हुन पुगेका व्यक्तिहरूको रमाइलो क्षण केहीबेरमा नै भताभुंग भएको थियो । आगो लागेपछि भवनभित्र मानिसहरूको भागदौड मच्चिएको थियो । आगोको मुस्लोले सम्पूर्ण भवन ढाकिएपछि सर्वत्र कोलाहल मच्चिएको थियो । ‘हेर्दाहेर्दै केही क्षणमा नै आगोले भवन निल्यो,’ जैनले भने । माथिल्लो तलाबाट बाहिर निस्कने ढोकामा आगोको मुस्लो फैलिएकाले धेरै मानिस भवनमा फसेका थिए । ज्यान जोगाउन कतिपय मानिस भवनको माथिल्लो तलाबाट हाम फालेका थिए । ‘हामी मुस्किलले बाँच्यौँ, हतारमा भ¥याङमा दौडिँदा माथिल्लो तलामा विस्फोटको आवाज सुनिन्थ्यो,’ जैनले थपे ।

तपाईको प्रतिक्रिया