logo

bar
logo
Advertisment
SKIP THIS

बैंकका सिइओ र सञ्चालकलाई ६ महिने ‘कुलिङ पिरियड’

कृष्ण रिजाल/नयाँ पत्रिका काठमाडौं, १५ पुस | पुष १५, २०७४

एउटा संस्था छाडेको ६ महिनासम्म अर्को संस्थामा जान नपाउने

बैंक तथा वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक समितिका सदस्यहरूले कुनै एउटा संस्था छाडेको ६ महिनासम्म अर्को संस्थामा जान नपाउने भएका छन् । राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाका सिइओ र सञ्चालकहरूको नियुक्तिसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

बैंकहरूमा सिइओ नियुक्तिमा भएको अस्वस्थ अभ्यासलाई नियमन गर्दै संस्थागत सुशासन कायम गर्न एउटा संस्था छाडेको निश्चित समयसम्म अर्को संस्थामा जोडिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यससँगै अब बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत्त भए पनि कम्तीमा ६ महिना अन्य संस्थाको प्रमुख कार्यकारी अधिकृत हुन पाउनेछैन । त्यस्तै, छाडिसकेको संस्थामा तत्काल सञ्चालक भएर फर्कनसमेत नसकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले सञ्चालकहरूलाई समेत कुलिङ पिरियड लगाएको छ । कुनै एउटा बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति सञ्चालक पदबाट जुनसुकै कारणबाट हटे पनि कम्तीमा ६ महिनासम्म अर्को संस्थाको सञ्चालक हुन पाउनेछैन । तर, स्वतन्त्र सञ्चालकको हकमा यस्तो व्यवस्था लागू हुनेछैन । त्यस्तै, कुनै पनि सञ्चालक आफ्नो अवधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकालभित्र सोही संस्थामा सञ्चालक पदमा निर्वाचित वा मनोनीत हुन नपाउने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

शाहको नबिल प्रवेश ६ महिनापछि
हालै मेगा बैंकबाट ८ वर्षे कार्यकाल पूरा गरी बाहिरिएका अनिलकेशरी शाह तत्काल अन्य कुनै बैंक तथा वित्तीय संस्थामा नियुक्ति लिन नपाउने भएका छन् । राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थाअनुसार अब उनले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न ६ महिना कुनुपर्ने हुन्छ । मेगा बैंकबाट २ पुसमा अवकाश पाएका शाहले नबिल बैंकमा नियुक्ति पाइसकेका छन् । नबिल बैंक सञ्चालक समितिले १३ पुसमा शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो । तर, उनले नबिलमा जिम्मेवारी सम्हालन असार कुर्नुपर्ने हुन्छ ।

संस्थागत निक्षेपको बार्गेनिङ रोकिदिन आग्रह
बैंकरहरूले लगानीयोग्य तरलता अभावको मौका छोपी संस्थागत निक्षेपकर्ताले ब्याजदरमा बार्गेनिङ गर्न थालेको भन्दै त्यसलाई रोकिदिन सरकारसँग आग्रह गरेका छन् । नेपाल बैंकर्स संघका प्रतिनिधिले शुक्रबार अर्थसचिव शंकरप्रसाद अधिकारीसँग भेटेर संस्थागत निक्षेपकर्ताको बार्गेनिङ र कार्टेलिङ रोकिदिन आग्रह गरेका हुन् । संस्थागत निक्षेपकर्ताहरूले तरलता अभावको मौका छोप्दै ब्याज बढाएको भन्दै त्यसलाई रोकिदिन बैंकरहरूले आग्रह गरेको भेटमा सहभागी अर्थ मन्त्रालयका एक अधिकारीले बताए । ‘कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, संस्थानहरूलगायत संस्थागत निक्षेपकर्ताले कार्टेलिङ गर्दै ब्याजदरमा बार्गेनिङ गर्दै तरलता अभावलई प्रश्रय दिइरहेका छन्,’ बैंकरहरूको भनाइ उद्धृत गर्दै उनले भने, ‘त्यसलाई अर्थ मन्त्रालयको पहलमा रोकियोस् ।’

तरलता व्यवस्थापन गर्न समिति
बजारमा देखिएको लगानीयोग्य तरलताको अभावलाई सम्बोधन गर्न समिति गठन गरिएको छ । अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीको नेतृत्वमा समिति गठन गरिएको हो । राष्ट्र बैंकमा थन्किएको सरकारी रकमलाई कसरी बजारमा परिचालन गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्न तीन दिनअघि गठन गरिएको यस समितिले अब तरलता व्यवस्थापनको सुझाबसमेत दिने अर्थसचिव अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु