logo

bar

झापामा ‘धुलाबारी बिजनेस पार्क’ बन्ने

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापा, १५ पुस | पुष १५, २०७४

कुनै समय मुलुककै चर्चित व्यापारिक सहरका रूपमा परिचित झापाको धुलाबारी बजारमा ‘धुलाबारी बिजनेस पार्क’ बन्ने भएको छ । मेचीनगर नगरपालिकामा पर्ने धुलाबारी बजारको पुरानो साख फर्काउन ६५ करोड रुपैयाँको लगानीमा पार्क निर्माण सुरु गरिएको हो । व्यापारिक उद्देश्यका साथ ठूला भवनहरू रहने पार्क ५ बिघा १८ कट्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको धुलाबारी बिजनेस पार्कका अध्यक्ष सुवासराज काफ्लेले बताए ।

उनले भने, ‘छरिएका बजारहरू एकै ठाउँमा ल्याएर धुलाबारीलाई पुनः व्यापारिक थलो बनाउन लागिएको हो । २ वर्षभित्र बिजनेस पार्क निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य छ ।’ बिजनेस पार्कमा ७ दिनभित्र जग्गा बुकिङ गर्नेलाई १० प्रतिशत छुट दिइने बताइएको छ । बुकिङमा पनि स्थानीय लगानीकर्तालाई प्राथमिकता दिइने अध्यक्ष काफ्लेले जानकारी दिए ।

नगरपालिकाको साथ
धुलाबारीको महत्व दर्शाउने निर्माणाधीन बिजनेस पार्कलाई मेचीनगर नगरपालिकाको साथ र सहयोग रहेको मेयर विमल आचार्यले बताए । ‘कुनै समय भारतका नागरिकसमेत किनमेल गर्न धुलाबारी आउँथे,’ आचार्यले भने, ‘तर, अहिले किनमेल गर्न नेपाली नै भारततिर जान्छन्, सस्तोको बहानामा भारतमा गएर किनमेल गर्ने परिपाटी त्याग्नुपर्छ ।’

यस्तो बन्नेछ बिजनेस पार्क
बिजनेस पार्कभित्र ८ मिटर चौडाइका ४ वटा कालोपत्रे सडक हुनेछ । मेचीनगर–१० पुरानो कोलोनीअन्तर्गत पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बिजनेस पार्क पूर्वीनाका काँकडभिट्टाबाट ५ किलोमिटरको दूरीमा छ ।

धुलाबारी बिजनेस पार्कभित्र सुविधासम्पन्न मल्टिप्लेक्स (चलचित्र मन्दिर) पनि बनाइने जानकारी दिइयो । पार्किङको व्यवस्थासहितको पार्कमा विद्युत्, खानेपानी, ढलनिकासको सुविधा रहने अध्यक्ष काफ्लेले बताए ।

अध्यक्ष काफ्लेको अगुवाइमा बिजनेस पार्कमा एउटा टिमले नै लगानी गरेको छ । कुल लगानीको ५० प्रतिशत बैंकको रहेको बताइएको छ । यसअघि बैंकको नाममा रहेको उक्त जग्गा बैंकले लिलाम गरेको थियो । त्यसपछि आफूहरूले खरिद गरेको काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु