logo

bar

वाम एकताबाट अब कोहि भाग्न सक्दैन : बिष्ट

टोपलाल अर्याल/नयाँ पत्रिका गुल्मी, १५ पुस | पुष १५, २०७४

नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं. २ का नवनिर्वाचित सांसद गोकर्ण बिष्टले वाम एकताबाट अब कोहि पनि भाग्न नसक्ने स्थिती आएको बताएका छन् । जनताले वाम एकतासंगै देशको विकास र समृद्धिका पक्षमा अत्यधिक मत दिएकाले वाम एकता निर्बिकल्प भएको उनले बताए ।

‘बाम एकतासंग बहुमत नेपालीको भावना जोडिएको छ,’उनले भने,‘धेरै काम अगाडी बढेकाले पार्टी एकतामा कसैले शंका नगरौ ।’ शुक्रवार गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसको ३५ औँ वार्षिक उत्सवको उद्घाटन गर्दै बिष्टले दुईपार्टीबीच बैचारीक एकतामा समस्या नभएपनि संगठनको नयाँ संरचना सहितको एकिकरण हुने भएकाले केहि समय भने लाग्ने बताए ।

उनले वाम एकताबारे बाहिर फिजाइएका हल्लाहरुमा कुनै सत्यता नभएको स्पष्ट पारे । ‘हल्लाको कुरा छैन, एकता कुनैपनि हालतमा रोकिदैन्,’ बिष्टले भने, ‘त्यसको निम्ती ओली र प्रचण्डबीच दिनहुँ छलफल भइरहेको छ ।‘

अबको शिक्षा उत्पादनमुखी

रेसुंगा बहुमुखी क्याम्पसको बार्षिक उत्सवलाई संबोधन गर्दै नेता बिष्टले नेपालको शिक्षा प्रणाली अब परिर्वतन गर्नु पर्नेमा जोड दिए । उनले शिक्षाले नै देश र जनताको स्तरमा परिवर्तन ल्याउने भएकाले अबको शिक्षा प्रणाली उत्पादन मुखि हुनुपर्ने बताए । ‘जनताका छोराछोरीलाई शैक्षिक हिसावले माथि उठाउन जनताले प्राप्त गर्ने शिक्षाको अधिकारलाई सुरक्षित गर्नु पर्नेछ,’ उनले भने,‘ अबको शिक्षा रोजगारी नपाएर विदेशमा भौतारीनुपर्ने अवस्था अन्त्य गर्ने खालको हुनेछ ।’ नेपालका दुई छिमेकी देशरुहले आर्थिक स्तर धेरै माथि पुगेकाले केही समयभित्र जनताको जीवनस्तर उठाउन नसके धेरै पछाडी परिने उनले बताए । उनले जिल्लाको पुरानो र स्थानीय समुदायबाट सञ्चालित रेसुङ्गा बहुमुखी क्याम्पसलाई अब छिट्टै आंगिक क्याम्पस बनाइने घोषणा गरे । यस क्याम्पसको स्तर उन्नतीदेखि सरकारी क्याम्पस बनाउन आफु जोडतोडका साथ लागेको बिष्टले बताए ।

पाँच नम्बर प्रदेशको राजधानी लुम्बिनी
अर्को प्रसंगमा पूर्व उर्जा मन्त्री समेत रहेका बिष्टले पाँच नम्बर प्रदेशको राजधानी गौतमबुद्धको जन्मस्थललाई सम्मान गर्दै लुम्बिनीमा हुनुपर्नेमा जोड दिए । यद्यपी राजधानी तोक्ने जिम्मा प्रदेश सभाको भएकाले राजधानीबारे प्रदेश सभाले नै फैसला गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु