logo

bar
logo
Advertisment
SKIP THIS

रोज्जा कवि

प्रकाश गुरागाईं काठमाडौं, १५ पुस | पुष १५, २०७४

म पो ढिला भएँ । उनी ठीक समयमै बेकरी क्याफे आइपुगेछन् ।
कुनातिर बसेर हट लेमन पिउँदै थिए । यसअघि मेरो भेट भएको थिएन । तर, उनलाई चिन्न समस्या परेन ।
वरिपरिका मान्छे हेरेँ । उस्तै–उस्तै ‘गेट अप’ । उनको भने फरक छ । मेक्सिकन स्टाइलको ह्याट र गम्लङ्ङ ज्याकेट । कुर्सीमा बसेकाले कम्मरमुनिको पोसाक छेलिएको छ । चस्मा खोलेर टेबलमा राखेकाले चिम्सा आँखा प्रस्ट देखिन्छन् । छेउमा मोबाइल छ । अनि हट लेमनमा चिनी घोल्दै छन् । मैले ठम्याइहालेँ– उनी विक्रम सुब्बा नै हुन् ।


विक्रम सुब्बा भन्नेबित्तिकै केही बिम्ब दिमागमा सल्बलाउँछन् । जस्तो : नांगो सगरमाथा, परेवा र चिलजस्तो अमेरिका, काठमाडौं र सक्रिय चोर औँला यस्तै–यस्तै । कवितामा विक्रम सुब्बाका बिम्ब अर्गानिक हुन्छन् । एकपटक मात्र पढेर पुग्दैन । पटक–पटक पढ्न मन लाग्छ । र, यतिवेला सहरमा फेरि उनका बिम्बहरूको चर्चा सुरु भइसकेको छ ।
उनी यसपटक नौ वर्षपछि कविताको संग्रह लिएर आउँदै छन्, रोज्जा कविता । संग्रहमा उनका नयाँ कविता छैनन् । पुराना तर छानिएका कविता छन् । म भने अहिले उनका पुराना कविताको कुरा गरिरहेको छैन ।
तर, कुरा रोज्जा कविताबाटै सुरु भयो । उनी त दार्शनिक प्रकट भए । लाग्छ, वर्षौँदेखि उकुसमुकुस भएर बसेका छन् । भन्नुपर्ने धेरै विषय छन् । समय थोरै छ । जस्तो कि उनले आफ्नो बिदाइ पनि मागिसकेका छन् कविता ‘कबुल मुन्धुम’मा ।
कविता के हो ?

कवितामा फाइन ट्युन भयो–भएन भन्नेचाहिँ उनी श्रीमतीलाई सुनाएर जाँच्छन् । श्रीमतीलाई कविता, साहित्य मन पर्दैन । साहित्य नै मन नपराउने मान्छेलाई पनि तान्न सकियो भने कविता बनेछ भन्ने लाग्छ उनलाई ।

प्रश्न भन्नु मात्र पर्छ, विक्रम सुब्बासँग जवाफ तयारै हुन्छ । उनी मानव सभ्यताको सुरुवाततिर फर्किए । उहिले भाषा नहुँदा पनि मान्छेलाई रिस उठ्थ्यो । मान्छेभित्र दया, आवेग र माया थियो । त्यसलाई संप्रेषण गर्न ढुंगा बजारेर वा उफ्रेर ध्वनि निकाल्थे । त्यो ध्वनि तरंग नै पहिलो कविता हो ।
क्रिस्टोफर कडवेलको यो कविताको उत्पत्तिको किस्सासँग उनी सहमत छन् । माक्र्सवादी साहित्यका व्याख्याता बेलायती लेखक कडवेलबाट उनी प्रभावित छन् । कविताको व्याख्या गर्दा उनी पटक–पटक कडवेलको नाम लिन्छन् ।
विक्रम सुब्बा उहिले धरानमा वैरागी काइँलाको तेस्रो आयामको दर्शन खोजी हिँड्दै थिए । त्यहीवेला कवि बम देवानले कडवेलको पुस्तक ‘इलुजन एन्ड रियालिटी’ दिएछन् । त्यसपछि पो थाहा पाएछन् कविताका पछाडि दर्शन पनि हुँदो रहेछ । नत्र त कविता भनेको मनमा आएको भाव पोख्नु मात्र हो भन्ने ठानेका थिए ।
भाषाको विकास भएपछि ढुंगा रगटेजस्तो आवाज मात्र तरंगित गरेर त कविता बन्दैन । सामान्य बोलचाल कविता होइन, कुरा मात्र हो । तर, मनका कुरा मीठो गरी भनियो भने कविता हुन्छ । जस्तो : कसैलाई गाली गर्दा पनि उसलाई चित्त बुझेर मुसुक्क हाँस्यो भने मीठो हुन्छ । विरोध पनि मन पराउनु कविता हो । विरोध गर्दा रिस उठ्यो भने गाली हो ।
उनलाई कविता नुनजस्तो लाग्छ रे । लक्ष्मीप्रसाद देवकोटाका निबन्धमा कविता निकालिदियो भने भ्वाङ पर्छ । नारायणगोपालका गीतबाट कविता निकालिदियो भने पनि भ्वाङ पर्छ । नाटकमा कवितात्मक संवाद भए दर्शक मन्त्रमुग्घ हुन्छन् । फिल्मको संवाद लेखनमा जावेद अख्तर यसकारण चल्यो कि ऊ कवितात्मक, व्यंग्यात्मक र बोल्ड लेख्छ ।
कविताले जीवनलाई मिठासपूर्ण बनाउँछ । कविता बिक्दैन, तर सबै ठाउँ चाहिन्छ । त्यसैले कविता नुुन हो ।
त्यसो त कविताको विषयवस्तु पनि महत्वपूर्ण हुन्छ । उनको विचारमा विषय कविताको जीवन हो । त्यसो त कविले भन्न खोजेको कुरा पाठकले बुझेन वा अर्कै ढंगले बुझ्यो भने कवि असफल हुन्छ । कविले आफ्नो दृष्टिकोण बुझाउन पाठकका लागि कवितामा आँखा पनि जोडिदिनुपर्छ । ताकि पाठकले कविकै आँखाले कविता हेरोस् । आँखा जोडिदिने कामलाई उनी ‘कविताको फाइन ट्युन’ भन्छन् ।


कवितामा फाइन ट्युन भयो–भएन भन्नेचाहिँ उनी श्रीमतीलाई सुनाएर जाँच्छन् । श्रीमतीलाई कविता, साहित्य मन पर्दैन । साहित्य नै मन नपराउने मान्छेलाई पनि तान्न सकियो भने कविता बनेछ भन्ने लाग्छ उनलाई ।
तर, श्रीमतीलाई जबर्जस्ती भने सुनाउँदैनन् । सुनाउनका लागि पहिला मुड बनाउँछन् । फकाउँछन् । मुड नबनाई सुनाए प्रतिक्रिया आउँदैन । सुनाइसकेपछि उनी मुखले भनेको प्रतिक्रिया मात्र हेर्दैनन् कि श्रीमतीको ‘बडी ल्यांग्वेज’ र आँखाको प्रतिक्रिया पनि हेर्छन् । ‘कविता सुनेपछि आँखा टल्किन्छ कि टल्किँदैन हेर्छु, मन परेको रहेछ भने त टिलिक्क बलिहाल्छ,’ उनी भन्छन् ।
आफ्ना कवितालाई उनी तीन भागमा बाँड्छन् : राजनीतिक, दार्शनिक र प्रेम कविता । कतिपय राजनीतिक कविता भने एन्टिकरेन्टजस्ता लाग्छन् । उनले ‘हार्मोनियम’ कवितामा नेपालको संघीयताको मोडल दिएको बताए ।
हार्मोनियममा हाई अक्टेभ, मिड अक्टेभ र लो अक्टेभ हुन्छ । त्यस्तै : नेपालमा तीन नदी छन्– सप्तकोशी, सप्तगन्डकी, सप्तकर्णाली । पहिला मान्छे नदीलाई आधार मानेर आवातजावत गर्थे । त्यसो हुँदा उनीहरू तलबाट माथि वा माथिबाट तल व्यवहार गर्थे । वरपर होइन । नदी तर्न समस्या हुँदा तलमाथि आवतजावत सजिलो हुन्थ्यो । अहिले यातायातका आधुनिक साधन विकास भए पनि बिहाबारी र व्यवहार तल–माथि नै हुन्छ । यसैलाई संघीयतामा उतार्नुपर्ने उनको मत छ । अर्थात् नदीलाई आधार मानेर तीन र राजधानीसहित गरी नेपालमा चारवटा प्रान्त हुनुपर्ने उनको मत छ । ‘मलाई यो कन्सेप्ट हर्क गुरुङको पुस्तक पढेर आएको हो,’ सुब्बाले थप स्पष्टीकरण दिए ।
तर, संघीयता पहिचानसँग जोडिनुपर्ने जनजाति नेताहरूको माग छ । उनी जब पहिचानको व्याख्या गर्न थाल्छन् विक्रम सुब्बा कुशल प्राध्यापकजस्ता लाग्छन् । उनी मान्छेको पहिचान परिवर्तन हुने बताउँछन् । बाहुनले पहिचान भन्दा आफ्नो गोत्र वा थर सम्झन्छ । उसका लागि पहिचान प्राथमिक कुरा होइन । जनजातिका लागि पहिचान भौगोलिक कुरा हो । उनीहरू जमिन, जल, जंगल आफ्नो ठानेर वर्षौँसम्म जरा गाडेर बस्छन् । क्षेत्री–बाहुन जहाँ गयो त्यहाँ फरक काम गर्छन् । उनी भन्छन्, ‘जनजातिचाहिँ भूगोललाई नै आफ्नो ठानेर आफूलाई राष्ट्रिय निकुञ्ज बनाउँछन्, जनजातिको पहिचान प्रगतिशील छैन ।’

धेरैले उनको ‘सिग्नेचर’ मानेको कविता ‘परेवा र चिल’ पनि राजनीतिक छ । यसलाई प्रस्ट्याउन उनी अमेरिकाको अर्थतन्त्रसम्म पुग्छन् । अमेरिकी अर्थतन्त्रलाई ‘वार इकोनोमी’ भन्छन् । उनीहरूको तीन वर्षको चक्र हुन्छ । बैंकबाट ऋण लिएर हतियार र युद्ध सामग्रीमा लगानी गर्छन् । तीन वर्षमा त्यो ऋण तिर्न नसके अर्थतन्त्र घाटामा जान्छ । त्यसकारण उनीहरू हरेक तीन वर्षमा कतै युद्ध भड्काएर, कतै आफैँ आक्रमण गरेर वा लडाइँ होला–होला जस्तो पारेर हतियार र युद्ध सामग्री बेच्छन् । अहिले पनि उनीहरू उत्तर कोरियालाई भड्काएर कोरियाली प्रायद्वीपमा युद्धको खतरा देखाइरहेका छन् । उनीहरूले उत्तर कोरियाको हाउगुजी देखाएर दक्षिण कोरियालाई हतियार बेच्छन् । यसैलाई व्यंग्य गरेर छोटो कविता लेखे ‘परेवा र चिल’ । यो २३ शब्दको कविताले पाठकलाई भने लामै धमाका छाड्छ ।

कतिपयले अन्त्यमा अनुप्रास मिलाएपछि कविता बन्छ भन्ने ठान्छन् । यसलाई उनी तुकबन्दी भन्छन् । त्यसरी तुकबन्दी लेख्दा एकपटक भीमदर्शन रोक्काले भूपि शेरचनलाई गाली गरेछन् । ‘तुकबन्दी जोकरलाई सुहाउँछ कविलाई होइन,’ विक्रम सुब्बा भन्छन् ।

उनी भारतीय कवि महादेवी बर्माको छोटो, तर अन्तिममा झड्का दिने कविताको शैलीबाट प्रभावित छन् । एकपटक महादेवी बर्मालाई पार्टीमा बोलाइएछ । उनी निकै ढिला पुगिछिन् । आयोजकले सोधे, ‘अरे बर्माजी, आप क्युँ लेट आए ?’ उनले कवितामै जवाफ दिइछन् :

मै लेटी थी
मै लेटी थी
मेरे उपर एक लेटा था
माफ कर्ना
ओ मेरा बेटा था
उनी बच्चालाई दुध खुवाएर ढिला गरिन् भन्ने अन्तिम वाक्यले मात्र बोल्छ । त्यसअघि मान्छेको दिमागमा अर्कै चित्र उत्रिन्छ । हो ची मिन्ह पनि जेल पर्दा यस्तै कविता लेख्थे । जस्तो : उनलाई कारागारमा एकदमै थोरै पानी दिँइदो रहेछ । अनि उनले लेखे; जेलमा एक कप पानी दिएका छन्, यसले भिजाएर दारी काटे पनि भयो, पकाएर चिया खाए पनि भयो ।

कतिपयले अन्त्यमा अनुप्रास मिलाएपछि कविता बन्छ भन्ने ठान्छन् । यसलाई उनी तुकबन्दी भन्छन् । त्यसरी तुकबन्दी लेख्दा एकपटक भीमदर्शन रोक्काले भूपि शेरचनलाई गाली गरेछन् । ‘तुकबन्दी जोकरलाई सुहाउँछ कविलाई होइन,’ विक्रम सुब्बा भन्छन् ।
एकपटक वासु शशीले काव्य गोष्ठीको आयोजना गरेका थिए । विक्रम सुब्बा पनि त्यहाँ पुगेका थिए । धर्मराज थापाले कविता पढे । उनले पोखरा शब्दमा अन्त्यानुप्रास मिलाउन ओखरलाई ओखरा लेखेछन् । अनि माधव घिमिरेको बोल्ने पालोमा उछित्तो काडे । अहिले पनि त्यो घटना विक्रम सुब्बाको दिमागमा ताजै छ ।
कुनै समय काठमाडौंमा उनका सहपाठी नारायण ढकाल, विमल निभा थिए । उनीहरूमार्फत श्यामल र राजवसँग भेट भयो । विमल कोइराला र मीनबहादुर विष्ट पनि साथी भए । विराटनगरमा कलेज पढ्दै कृष्णभूषण बल, अशेष मल्ल, महेश प्रसाईँ साथी भएका थिए ।
अशेष मल्ल साहित्यमा अरूभन्दा धेरै सक्रिय थिए । अनेक कार्यक्रम आयोजना गर्थे । एकपटक तलाउ किनारमा कवि गोष्ठी गरे । अनि कार्यक्रमको अध्यक्षचाहिँ गुरुप्रसाद मैनालीलाई बनाए । मैनाली स्वर्गे भइसकेका थिए । उनको पुस्तकलाई अध्यक्षको कुर्सीमा राखे । अध्यक्ष भनेको त सभामा बोल्नुपर्ने, सभालाई नियन्त्रण गर्नुपर्ने मान्छे । विक्रम सुब्बाले ‘खोइ कार्यक्रमको अध्यक्ष त बोल्दैन त ?’ भनेछन् । अशेष मल्लले जवाफ दिएछन्, ‘नयाँ प्रयोग भनेको यही हो ।’
विक्रम सुब्बा त्यसअघि धरान पनि पुगेका थिए । ०२८ सालमा एसएलसी पास गरेर काठमाडौं आए । त्रिचन्द्रमा साइन्समा भर्ना भए । तर, जन्डिसले सतायो । त्यसपछि धरान पुगे । त्यहाँ बम देवान र गोविन्द विकल साथी भए । उनीहरूले गुट बनाए । कविता सुन्दै सुनाउँदै गर्न थाले । त्यही धरानले उनलाई कवि बनायो ।
फेरि काठमाडौं आए । काठमाडौंंमा बाँच्न सहज थिएन । हन्डर–ठक्कर खाएपछि ‘मामपाका सहर’ कविता लेखे । श्यामललाई खुब मन परेछ । त्यतिवेला नयनराज पाण्डे रूपरेखामा काम गर्थे । श्यामलले त्यो कविता नयनराजलाई दिएछन् । रूपरेखामा छापियो । कविता पढेपछि नेवारी भाषा नबुझेको भनेर आनन्ददेव भट्ट खुब रिसाएछन् । उनले त्यो कविताविरुद्ध सात पेजजति लेखेर छपाएछन् । तर, उनले पढेनन् । ‘गाली भनेपछि बुझिहालियो नि, दुई अक्षर नै काफी छ, किन सात पेज पढ्नु ?’ उनी भन्छन् । विक्रम सुब्बाले त्यो लेख अझै पनि पढेका छैनन् ।
त्यसैले विक्रम सुब्बा आजसम्म पनि विचारमा दृढ छन् । दृढ विचारकै कारण उनी धेरै पाठकका रोज्जा कवि हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु