logo

bar

सुरु भयो राष्ट्रिय औद्योगिक प्रदर्शनी

नयाँ पत्रिका काठमाडौं, १४ पुस | पुष १४, २०७४

फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनको आयोजनामा राजधानीमा १४औँ संस्करणको राष्ट्रिय औद्योगिक प्रदर्शनी बिहबारदेखि सुरु भएको छ । प्रदर्शनी उद्घाटन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए ।

अन्तर्राष्ट्रिय बजार खोज्न आग्रह
कार्यक्रममा अर्थमन्त्री कार्कीले स्वदेशी ब्रान्डका जुत्ता, चप्पलले उपभोक्ताको विश्वास जितेको र बजार बढाउँदै लगेको बताए । गुणस्तरमा सुधार गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत स्वदेशी ब्रान्डको जुत्ताचप्पलको बजार खोज्नुपर्नेमा उनले जोड दिए ।

‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाई निर्यातको उद्देश्य राखेर स्वदेशी जुत्ता, चप्पल उद्योग अगाडि बढ्नुपर्छ,’ उनले भने । उपलब्ध स्रोत, साधनको उच्च प्रयोग गर्न उनले उद्योगीलाई सुझाब दिए । ‘स्वदेशी जुत्ता, चप्पलले अहिले आसलाग्दो परिस्थिति बनाएको छ, यसलाई अझ स्तरीय बनाएर अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउन लाग्नुपर्छ,’ उनले भने ।

एसोसिएसनका अध्यक्ष रविनकुमार श्रेष्ठले स्वदेशी जुत्ता, चप्पलप्रति उपभोक्ताको आकर्षण बढेको र उत्पादकले गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउन प्रयास भइरहेको बताए । प्रदर्शनीका माध्यमबाट बिक्रीको लक्ष्य मात्र नभई स्वदेशी वस्तुको ब्रान्डिङमा प्राथमिकता दिइएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया