logo

bar

जुत्ता उद्योगको सम्भावना र चुनौती

नयाँ पत्रिका काठमाडौं, १४ पुस | पुष १४, २०७४

कुनै पनि उत्पादनमा सबैभन्दा ठूलो महत्व जनशक्तिको हुन्छ । जनशक्तिका कारण ठाउँअनुसार उत्पादन लागत कम र बढी पर्ने हुन्छ । अहिले जुत्ता उत्पादनमा पनि भारत र चीनमा जनशक्ति महँगो भएकाले उत्पादन लागत बढी छ । नेपालमा जनशक्ति सस्तो छ । त्यसका कारण पनि यहाँ उत्पादन लागत कम पर्छ । भोलिका दिनमा हामीले सस्तो र राम्रो उत्पादन दिन सक्छौँ ।

रविनकुमार श्रेष्ठ
अध्यक्ष, फुटवेयर म्यानुफ्याक्चर्स
एसोसिएसन अफ नेपाल

त्यस्तै स्वदेशी बजारमा पनि यसको खपत र निर्यातको सम्भावना पनि राम्रो भएकाले हामी राम्रोसँग अघि बढ्दा हामीले जुत्ता, चप्पल ठूलो मात्रामा निर्यात गर्न सक्ने सम्भावना छ । त्यसैले नेपालका उद्योगहरूमा यसले अग्रणी भूमिका खेल्न सक्ने हुन्छ । निर्यात गर्ने हुन सक्नु भनेको आयात प्रतिस्थापन हुनु पनि हो । अहिले पनि यहाँ उत्पादन भएका गुणस्तरको जुत्ता विदेशबाट आयात नभएको खण्डमा हामी पूरा त भन्दैनौँ, तर नेपालको बजार हिस्सा ९५ प्रतिशत पु¥याउन सक्छौँ ।

त्यस्तै यहाँ जति तयारी वस्तुको बजार बढ्दै जान्छ, कच्चा पदार्थको उत्पादन पनि यहाँ हुन थाल्छ । अहिले पनि धरै भएको छ । कच्चा पदार्थको उद्योग केही महँगो प्रविधि भएकाले अहिले कम मात्र उत्पादन भएको छ । विगतमा सबै सोल आयात हुन्थ्यो भने अहिले नेपालमै उत्पादन भइरहेको छ । अबको दुई वर्षमा जुत्ताको सोल आयात गर्नु नपर्ने अवस्थामा पुगिन्छ । त्यस्तै रबडका कच्चा पदार्थ पनि अहिले ३५ देखि ४० प्रतिशतसम्म स्वदेशी उत्पादनले थेगेको छ । गुणात्मक हिसाबले यसको उत्पादन पनि बढ्दै गएको छ ।

चुनौती
दक्ष जनशक्ति नभई मजदुरले मात्र जुत्ता उत्पादन हुँदैन । अहिले निश्चित तालिम केन्द्र नभएकाले हामीले दक्ष जनशक्ति उत्पादन सन्तोषजनक ढंगले गर्न सकेका छैनौँ । हामीले विगत ६–७ वर्षदेखि तालिम दिँदै आएका छौँ । विभिन्न गैरसरकारी संस्था तथा सरकारले पनि तालिम सञ्चालनको लागि रकम दिएका छन् । तर, तालिम दिने ठाउँ नभएर उद्योगीलाई बिन्ती गरेर उद्योगहरूमा तालिम दिनु परिरहेको छ । हाम्रो चाहना भनेको एउटा छुट्टै तालिमकेन्द्र भएको खण्डमा त्यहाँ दक्ष जनशक्ति तयार गरेर उनीहरूलाई शतप्रतिशत रोजगारीको व्यवस्था गर्न सक्छौँ । सरकारले पनि एनटिआइएस सूचीमा राखेकाले यो दीर्घकालीन योजनामा परेको छ । अहिले हामीले जसरी छुट्टै फुटवेयर जोन बनाउने अवधारणा अघि सारेका छौँ, त्योअनुरूप हामीले त्यही फुटवेयर जोनमा तालिमकेन्द्र सञ्चालन गरेर पछाडि पारिएका, हेपिएका नागरिकका साथै बेरोजगार महिलालाई तालिम दिएर रोजगारी प्रदान गर्ने र उत्पादन पनि बढाउने योजना छ । तर, फुटवेयर जोन स्थापनामै चुनौती छ । अबको तीन वर्षभित्रमा यसको धेरै प्रारूप तयार हुन्छ भन्ने लाग्छ ।

त्यस्तै कच्चा पदार्थ उत्पादनका लागि सबैभन्दा आवश्यक रबड नै यहाँ पर्याप्त छैन । अहिले पूर्वका केही स्थानमा रबर खेती भइरहेको छ । उहाँहरूले बजार पाउनुभएको छैन । हामीले त्यही उत्पादन भारतका विभिन्न राज्यबाट मगाउनुपरेको छ । भोलिका दिनमा त्यो उत्पादनलाई कसरी यहाँ खपत गर्ने र कच्चा पदार्थ बनाउने भन्ने विषयमा लागेका छौँ । यो प्रदर्शनीमा हामीले त्यो कुरो पनि समावेश गरेका छौँ । रबरलाई टाँस्ने वस्तु बनाउन र सोल बनाउन पनि सकिन्छ ।

यहाँ छाला उत्पादन नै कम हुने र त्यो पनि पहिलो चरणको प्रशोधन गर्नेबित्तिकै विदेश निर्यात हुने हुनाले हामीले बाहिरबाट नै झिकाउनुपर्ने बाध्यता छ । छालामा हामी आत्मनिर्भर हुनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो । यहाँ मानिसहरू छालासहितको मासु खान्छन् । त्यसैले पनि छाला कम उत्पादन हुन्छ । यहाँ विद्यालय पोसाक, सेना, प्रहरीले लगाउने जुत्ताको छाला यहीँ प्रशोधन हुन्छ । तर, मानिसले खाएर बाँकी रहेको केही छालाबाट यस्तो जुत्ता बने पनि यसका लागि पनि पर्याप्त भने छैन । विश्वमै कुनै पनि देशबाट वेट ब्लु छाला अर्थात् एक चरण मात्र प्रशोधन गरेको छाला निर्यात गर्न पाइँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु