logo

bar

यस्ता छन्, बिहानमा हिँड्नुका फाइदा

नयाँ पत्रिका काठमाडौं, १४ पुस | पुष १४, २०७४

दीपक नेपाल
योग प्रशिक्षक
नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पुर्‍याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ । यस्ता छन्, बिहानमा हिँड्नुका फाइदा :

-शहरी क्षेत्रका धेरै मानिस हिँड्न मन गर्दैनन् । यस्तो बानीले शरीरलाई वेफाइदा मात्र पुर्‍याउने नभई कालान्तरमा विभिन्न खालका रोगको सिकार पनि बन्नुपर्ने हुन्छ । यदि दिनको समयमा व्यस्त रहे तापनि बिहानको समयमा हिँड्दा राम्रो हुन्छ । हिँडाइले शरीरमा सन्तुलित ढंगले रक्तसञ्चार हुनुका साथै उच्च रक्तचापको जोखिम पनि न्यून हुन्छ ।

-दैनिक रूपमा हिँड्ने बानीले तनाव पनि मुक्त गर्ने काम गर्छ । नियमित हिँड्ने बानीले सकारात्मक सोचको पनि विकास गर्दै लैजान्छ ।

-दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन् । त्यस्तै, ढाड, जिउ दुख्नेजस्ता समस्या पनि बिस्तारै कम हुँदै जान्छ ।

-विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ ।

-कतिपयमा रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि उनीहरू विभिन्न अस्पताल पनि धाइरहेका हुन्छन् । तर, बिहानको समयमा दैनिक १ घण्टा हिँड्ने बानीले अनिद्राको समस्यालाई पनि दूर गर्दै लैजान्छ ।

-यति मात्र होइन, बिहान हिँड्नुका अरू पनि थुप्रै फाइदा छन् । बिहानको हिँडाइले श्वासप्रश्वास प्रणालीमा सुधार ल्याउने काम गर्छ । हिँड्दा श्वासप्रश्वासको गति बढ्छ र शरीरका नसाहरूमा राम्रोसँग अक्सिजन पुग्ने गर्छ । यसो हुँदा शरीरमा रहेका विकार तत्व सजिलै हट्नुका साथै शक्तिसमेत वृद्धि हुँदै जान्छ ।

-मानिसलाई विश्वास नलाग्न सक्छ, तर मर्निङ वाकले स्मरण शक्तिको पनि विकास गर्छ ।

ध्यान दिनुस्
जाडो मौसममा बिहान हिँड्न गाह्रो हुन सक्छ । यस्तो समयमा चिसोबाट जोगिने उपाय भने अपनाउन आवश्यक छ । यसरी हिँड्दा न्यानो र हल्का कपडा लगाउनुपर्छ । बिहान हिँड्दा लगाउने जुत्ता पनि कम्फोर्टेबल हुन जरुरी छ । दौडिँदा सहज हुने र शरीरलाई ब्यालेन्स गर्ने खालका जुत्ताको प्रयोग गर्नु राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया