logo

bar

प्याकेट दूध के हो र यसलाई कसरी प्रयोग गर्ने ?

नयाँ पत्रिका काठमाडौं, १४ पुस | पुष १४, २०७४

दूध स्वास्थ्यवद्र्धक खाद्यपदार्थ हो । यसलाई ‘कम्प्लिट फुड’का रूपमा लिइन्छ । पछिल्लो समय सहरी क्षेत्रमा प्याकेट दूधको प्रचलन अत्यधिक छ । प्याकेट दूध के हो र यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे नयाँ पत्रिकाका विश्वास खड्काथोकीले खाद्य प्राविधिक सशेन्द्र गौतमलाई सोधेका छन् :

दूध के हो ?
दूधलाई कम्प्लिट फुड भनिन्छ । किनभने यो शरीरलाई चाहिने पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । यसमा मिनरल, फ्याट, कार्बोहाइड्रेड, प्रोटिन, भिटामिनलगायत तत्व पाइन्छ । यसलाई बच्चा, बुढा, बिरामी सबैले प्रयोग गर्न मिल्छ र गरिन्छ पनि । तर, नेपालजस्तो मुलुकमा यो पेरिसएवल फुडमा पर्ने भएकाले छोटो समयमा सुक्ष्म जीवणुहरू पैदा हुने गर्छन् । त्यस्ता जीवाणु दुईदेखि चार र चारदेखि आठ हुँदै वृद्धि हुन्छन् । त्यसैले, दूधलाई कम्प्लिट फुडका रूपमा लिइए पनि यसको सुरक्षामा ध्यान नदिएमा स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँछ । जसका कारण पनि निकै संवेदनशील रूपमा दूधको सुरक्षा गर्न आवश्यक हुन्छ ।

नेपाली प्याकेट दूध
नेपालमा दूधको म्यानुफ्याक्चरिङ प्राक्टिस त्यति राम्रो छैन । नेपालका दूधमा सुक्ष्म जीवाणुहरू अत्यधिक बढी हुन्छन् । यसलाई कम गर्नका लागि ‘गोठदेखि ओठसम्म’को सावधानी हुन जरुरी हुन्छ । तर, गोठदेखि म्यानुफ्याक्चर कम्पनी, प्रशोधन प्रक्रिया र पसलसम्म पुग्ने जुन हाम्रो अभ्यास छ, त्यो त्यति स्वस्थकर छैन । जसका कारण हामीले दूध निर्यात गर्नै सकिरहेका छैनौँ । किनभने अन्तर्राष्ट्रिय गुणस्तर जाँचमा हामी सधँै असफल छौँ ।

नेपालमा दुई तरिकाले दूध प्रशोधन गरिरहिएको छ । ठूला डेरी र साना डेरी । साना डेरीले सामान्य प्लास्टिकमा दूध राखी बिक्री गरेका छन् भने ठूला डेरीले सरकारी मापदण्डअनुसर दूधको बिक्री–वितरण गर्दै आइरहेका छन् ।

खासमा प्लास्टिकमा उपलब्ध दूध घरमा नतताई यत्तिकै प्रयोग गर्दा पनि हुने हो । किनभने दूधलाई डेरीले पास्चराइज गरेर मार्केटमा पठाएको हुन्छ । ७२ देखि ७५ डिग्री सेन्टिग्रेट तामक्रममा दूध उमालेर चार डिग्री सेन्टिग्रेडमा पाँच सेकेन्ड राखी बजारमा पठाएको हुन्छ । चार डिग्री सेन्टिग्रेड तापक्रममा पाँच सेकेन्ड राख्दा त्यसका जीवाणुहरू मर्ने गर्छन् । तर, नेपालमा गोठदेखि ओठसम्मको अभ्यास त्यति राम्रो नभएकाले तताएर पुनः प्रयोग आवश्यक हुन्छ ।

सरकारी मान्यताअनुसार डेरीले दूधमा तीन प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएस कायम गर्नैपर्छ । यो मापदण्डमा तलमाथि भएमा कारबाही हुन्छ । खासगरी गाईको दूधमा चार दशमलव पाँच र भैँसीकोमा ६ प्रतिशत फ्याट हुन्छ । सरकारले भनेको छ कि दूधमा पानी समेत मिसाउन पाइँदैन । दूधमा जुनसुकै मिसावट गर्नु अपराध हो ।

यसरी प्रयोग गर्नु उत्तम
दूधमा अत्यधिक मात्रामा कोलिफम जीवाणु हुन्छन् । डेरीले यसलाई जिरो बनाउनुपर्ने सरकारी मान्यता छ । यसो गर्न सम्भव त छ, तर नेपाली सन्दर्भमा भने निकै चुनौतीपूर्ण छ । त्यसैले दूधलाई तताएरै प्रयोग गर्नु राम्रो हुन्छ ।

नेपालमा पसल वा घर जहाँ होस्, दूधलाई जहाँ पायो त्यहीँ स्टोर गर्ने चलन छ । तर, दूधलाई कहिल्यै घाममा राख्नुहुँदैन । यसरी घाममा राख्दा दूधमा एसिडिटी बढ्छ र चाँडै फाट्ने तथा बिग्रिने हुन्छ ।
दूधलाई तताइसकेपछि चार डिग्री सेन्टिग्रेट तापक्रममा स्टोर गर्नुपर्छ । यसो गर्दा दूधमा जीवाणुको संक्रमण हुँदैन । यसरी स्टोर गरेको दूध पुनः नउमालि प्रयोग गर्न सकिन्छ ।

डेरीको प्याकेट दूधमा दुई दिनको म्याद तोकिएको हुन्छ । यदि यसलाई सही ढंगले स्टोर गरेर राख्न सकेमा दुई दिनसम्म प्रयोग गर्न सकिन्छ । पटक–पटक उमाल्दा त्यति धेरै असर नपर्ने भए पनि प्रोटिनको मात्रा भने अलि कम हुँदै जान्छ ।

दूध प्याकिङ गर्नका लागि उपयुक्त प्लास्टिकको छनोट गरिएको हुन्छ । त्यसैले दूधलाई प्लास्टिकले कुनै असर गर्दैन । तर, घरमा तताइसकेको दूध भने पुनः प्लास्टिकमा राख्नुहुँदैन ।

दूधलाई स्वस्थ राख्नका लागि ‘र्‍यापिट कुलिङ’को जरुरत पर्छ । त्यो के भने दूध तताइसकेपछि र्‍यापिट कुलिङ गरेर चार डिग्री सेल्सियस तापक्रममा स्टोर गर्नुपर्छ । तर, नेपालका उपभोक्तामा यस्तो अभ्यास छैन । जसले गर्दा उमालेर सेलाइसकेको दूधमा फेरि जीवाणु सक्रिय हुन्छन् । त्यसैले पुनः उमालेर नै यसको प्रयोग गर्नु राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु