logo

bar

काबुलमा शृंखलाबद्ध विस्फोट, ४१ को मृत्यु

एजेन्सी काबुल | पुष १४, २०७४

अफगानिस्तानको राजधानी काबुलनजिकै दास्त–आई–बार्चीमा रहेको सांस्कृतिक केन्द्रमा भएका शृंखलाबद्ध विस्फोटमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । दास्त–आई–बाचीस्थित तेब्यान सामाजिक तथा सांस्कृतिक केन्द्रमा बिहीबार बिहान भएको विस्फोटमा ८४ जना घाइते भएको सुरक्षा अधिकारीले जनाएका छन् । विस्फोटमा चार महिला र दुई बालबालिकाको पनि मृत्यु भएको जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले जानकारी दिए ।

विस्फोटमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । विस्फोट हुँदा सांस्कृतिक केन्द्रमा बैठक चलिरहेको थियो । अफगानिस्तानमा सोभियत हस्तक्षेप भएको ३८औँ वर्षगाँठको अवसरमा केन्द्रमा सञ्चारमाध्यमका प्रतिनिधिहरू र विद्यार्थीबीच छलफल भइरहेको थियो । आत्मघाती विस्फोटअघि त्यस क्षेत्रमा दुईवटा विस्फोटन भएका थिए । विस्फोटपछि सर्वसाधारण आतंकित बनेका थिए । ‘विस्फोट हँुदा हामी हलभित्र थियाँै । विस्फोटपछि भवनबाट धुवाँको ठूलो मुस्लो निस्किएको थियो । सबैजनाले सहयोगको याचना गरेका थिए,’ सो भवन केन्द्रका सहभागी मोहमद हसन रिजायीले भने ।

विस्फोट गराइएको भवनमा स्थानीय सञ्चारमाध्यम सादा–ए–अफगान न्युज एजेन्सीको कार्यालय रहेको जनाइएको छ । विस्फोटको जिम्मा अतिवादी मुस्लिम समूह स्लामिक स्टेट (आइएस) ले लिएको छ । करिब ५० लाख जनसंख्या रहेको काबुलमा विगत दुई वर्षयता शृंखलाबद्ध आक्रमण हुँदै आएका छन् । आक्रमणको तालिवानले पनि विरोध गरेको छ । गएको अक्टोबरमा एउटा मस्जिदमा भएको हमलामा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो ।

आक्रमणको अफगानिस्तानका राष्ट्रपति असरफ घानीले निन्दा गरेका छन् । सो विस्फोट मानवताविरोधी अक्षम्य अपराध भएको राष्ट्रपति घानीका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एम्नेस्टी इन्टरनेसनलले पनि सो विस्फोटको निन्दा गरेको छ । एम्नेस्टीका दक्षिण एसिया निर्देशक विराज पाटनैकले भने, ‘पछिल्लो विस्फोटले आमअफगानीले सामना गरेको पीडा दर्साउँछ । सशस्त्र समूहले सञ्चारकर्मी र सर्वसाधारणलाई बारम्बार निसाना बनाएका छन् ।’ उत्तर एटलान्टिक सहयोग संगठन नाटोले सो आक्रमणलाई जघन्य बताएको छ ।

तपाईको प्रतिक्रिया