logo

bar

लगानीकर्ताको सम्पत्ति १२ अर्ब घट्यो

नयाँ पत्रिका काठमाडौं, १४ पुस | पुष १४, २०७४

साताको अन्तिम दिन नेप्से परिसूचक १० दशमलव ७३ अंक घटेको छ । नेप्से ओरालो लागेसँगै लगानीकर्ताको सम्पत्ति पनि घटेको छ । अघिल्लो दिनको तुलनामा लगानीकर्ताको सम्पत्ति १२ अर्ब ४५ करोड घटेर १६ खर्ब ४५ अर्ब रुपैयाँमा सीमित भएको छ ।

लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकहरूले ब्याजदर बढाएका कारण बजार प्रभावित भएको हो । नेप्से निरन्तर ओरालो लागेपछि केही लगानीकर्ता त्रसित भएका छन् । त्रसित लगानीकर्ताहरूले सेयर बिक्री गर्न थालेपछि बजारमा बिक्री चाप बढेको छ । साधारणसभा तथा हकप्रद र लाभांश वितरण गर्न कम्पनीहरूले गरेको बुक क्लोजका कारण पनि बजार प्रभावित भएको छ । लाभांश र हकप्रदपछि हुने मूल्य समायोजनका कारण कम्पनीहरूको सेयर मूल्य घटेको छ । फलस्वरूप नेप्से ओरालो लाग्ने क्रममा रहेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ५१ अंक घटेर २ सय ९७ दशमलव ६२ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६२ कम्पनीको ७ हजार ९ सय ४५ पटकको कारोबारमा ८१ करोड ६९ लाख ९८ हजार ६ सय २४ रुपैयाँबराबरको १८ लाख ६१ हजार ६५ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम ५ करोड १२ लाख रुपैयाँ बढेको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन २२ दशमलव ४९ स्केलमा पुगेको छ । ओभरबट जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद चापभन्दा बिक्री चाप बढी रहेको संकेत गर्छ ।

शतप्रतिशत बोनस सेयर सुरक्षित गर्ने अन्तिम दिन भएका कारण स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर यस दिन सबैभन्दा बढी किनबेच भएको छ । यस दिन सो कम्पनीको २२ करोड ८० लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको यस दिन १० करोेड ३० लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । महुली सामुदायिक लघुवित्तको सेयर मूल्य यस दिन १० प्रतिशत बढेको छ । त्यसैगरी, युनाइटेड फाइनान्सको सेयर मूल्य ७ प्रतिशत बढेको छ । नयाँ नेपाल लघुवित्तको सेयर मूल्य भने यस दिन ५ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६२ कम्पनीमध्ये यस दिन ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १७ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

बिहीबार ट्रेडिङ, होटेल र ‘अन्य’ समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक ओरालो लागेको छ । यस दिन ट्रेडिङ समूहको परिसूचक २ दशमलव ५२ प्रतिशत, होटेल समूहको शून्य दशमलव ३४ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव १४ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ३३ प्रतिशत घटेको छ । विकास बैंक समूहको परिसूचक शून्य दशमलव ७८ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ३४ प्रतिशत, माइक्रो फाइनान्स समूहको शून्य दशमलव १८ प्रतिशत, वित्त समूहको शून्य दशमलव शून्य ८ प्रतिशत, बिमा समूहको शून्य दशमलव शून्य ५ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव शून्य २ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया