logo

bar

कुकको पाँचौँ दोहोरो शतक

एजेन्सी गावा, १३ पुस | पुष १४, २०७४

इंग्ल्यान्ड १ सय ६४ रनले अगाडि-

ओपनर एलेस्टर कुकले पाँचौँ दोहोरो टेस्ट शतक प्रहार गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा १ सय ६४ रनको अग्रता लिएको छ । २ सय ४४ रनमा अविजित रहेका कुकलाई ११औँ क्रमका ब्याट्सम्यान जेम्स एन्डरसनले साथ दिइरहेका छन् । तेस्रो दिनको खेल समाप्तिसम्म इंग्ल्यान्डले नौ विकेटको नोक्सानीमा ४ सय ९१ रन जोडेको छ । अस्ट्रेलियाले पहिलो इनिङमा ३ सय २ रन बनाएको थियो ।

लगातार १ सय ५१ टेस्ट
कुकले दोहोरो शतकीय योगदान दिँदै आलोचकलाई गतिलो जवाफ दिएका छन् । कुकले लगातार दश घन्टा ब्याटिङ गरी २७ चौका प्रहार गर्दा ४ सय ९ बल सामना गरेका छन् । सन् २०१० को गावा टेस्टमा कुकले २ सय ३५ रनको इनिङ खेलेका थिए । कुकले दोहोरो शतक ३ सय ६० बलमा सामना गर्दै पार गरेका हुन् । उनले यो सफलता अस्ट्रेलियन बलर ज्याक्सन बर्डविरुद्धको ओभरमा हात पारे।

कुक छैटौँ स्थानमा
टेस्ट क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने सूचीमा कुक छैटौँ स्थानमा उभिएका छन् । कुक वेस्ट इन्डिजका ब्रायन लाराको रेकर्ड तोड्दै छैटौँ स्थानमा उक्लेका हुन् । कुकले २ सय ७३ इनिङमा ११ हजार ९ सय ५६ रन बनाए । यसक्रममा उनले ३२ शतक तथा ५५ अर्धशतक बनाएका छन् । टेस्ट क्रिकेटमा भारतका सचिन तेन्दुलकर १५ हजार ९ सय २१ रनका साथ शीर्ष स्थानमा छन् । यसैगरी अस्ट्रेलियाका रिकी पोन्टिङ १ सय ६८ टेस्टमा १३ हजार ३ सय ७८ रन जोडी दोस्रो स्थानमा छन् ।

ब्रोडको रेकर्ड
ओपनर कुक जमेका दिन इंग्लिसका दशौँ क्रमका ब्याट्सम्यान स्टुवार्ट ब्रोडले पनि आफ्नो नाममा एक रकेर्ड लेखाए । उनले दशौँ क्रममा ब्याटिङ गरी ५६ रनको अर्धशतकीय इनिङ खेले । सन् १९९१ मा क्रिस लुइसपछि इंग्ल्यान्डका लागि दशौँ क्रममा ब्याटिङ गरी अर्धशतक बनाउने उनी दोस्रो ब्याट्सम्यान बने । उनले ६३ बलमा आठ चौका र एक छकका प्रहार गरे । कुकले ब्रोडसँग नवौँ विकेटका लागि सय रनको साझेदारी गरेका थिए ।

पहिलोदेखि दशौँसम्म साझेदारी
चौथो टेस्टमा कुकले उत्कृष्ट ब्याटिङ गर्दा पहिलोदेखि दशौँक्रमका ब्याट्सम्यानसम्म साझेदारी गरेका छन् । कुकले जोए रुटसँग तेस्रो विकेटका लागि १ सय ३८ रनको साझेदारी गरे । रुटले ६१ रन बनाए । यसैगरी कुकले सातौँ विकेटका लागि ओक्ससँग ५९ रनको साझेदारी गरे । ओक्सले ५२ बलमा २६ रनको योगदान दिए । बलिङमा जोस हेजलउड, नाथन लियोन र कुमिन्सले समान तीन विकेट लिए ।

तपाईको प्रतिक्रिया