logo

bar

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

नयाँ पत्रिका काठमाडौं, १४ पुस | पुष १४, २०७४

सांसदको नाम सिफारिस हुने निर्वाचनको समीक्षा भने नहुने –

सातवटै प्रदेशमा पार्टीले पाएका समानुपातिकतर्फका सांसदको लागि मापदण्डअनुरूप नाम सिफारिस गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । शुक्रबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बैठक बोलाइएको कार्यसम्पादन समिति सदस्य एनपी साउदले जानकारी दिए ।

‘पार्टीले ७ वटै प्रदेशमा समानुपातिकतर्फ पाएको सिटमा सांसदको नाम सिफारिस गर्न कार्यसम्पादन समिति बैठक आह्वान गरिएको हो,’ साउदले नयाँ पत्रिकासँग भने, ‘निर्वाचनको समीक्षा गर्न केही दिनमा केन्द्रीय कार्यसमिति बैठक आह्वान हुन्छ । कार्यसम्पादन समितिमा निर्वाचनको समीक्षा गर्ने ऐजेन्डा छैन।’

कांग्रेस विधानमा महत्वपूर्ण निर्णय केन्द्रीय समिति बैठक तत्काल बस्न नसक्ने अवस्था रहे कार्यसम्पादन समितिले गर्ने र पछि केन्द्रीय समितिबाट पारित गराउने व्यवस्था छ । निर्वाचन आयोगले पनि पार्टीको केन्द्रीय समिति वा सो सरहको निकायको बैठकबाट निर्णय गराई मापदण्ड पुर्‍याएर नाम पठाउन दललाई पत्राचार गरेको छ ।

१० र २१ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको कांग्रेसको बैठक निर्वाचनपछि पहिलोपटक बस्दै छ । सभापति देउवासँग १३औँ महाधिवेशनमा पराजित नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, गुरुराज घिमिरेलयायतले निर्वाचनको समीक्षा र समानुपातिकतर्फका सांसदको नाम सिफारिस गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका थिए । तर, देउवाले प्रदेशमा समानुपातिकतर्फ पार्टीले पाएको सिट संख्यामा सांसद सिफारिसका लागि भन्दै कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।

निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार कांग्रेसले समानुपातिकतर्फ प्रदेश नं. १ मा १३, प्रदेश नं २ मा ११, प्रदेश नं ३ मा १४, प्रदेश नं ४ मा ९, प्रदेश नं ५ मा १२, प्रदेश नं ६ मा ५, र प्रदेश नं ७ मा ८ सांसद पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु