logo

bar

क्यान्सर, मिर्गाैला र स्पाइनल इन्जुरीका बिरामीलाई आजीवन भत्ता

अर्जुन अधिकारी/नयाँ पत्रिका काठमाडौं, १४ पुस | पुष १४, २०७४

सरकारले मिर्गाैला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक रूपमा आजीवन भत्ता दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गम्भीर प्रकारका तीन रोगका बिरामीलाई मासिक ५ हजारका दरले आजीवन भत्ता दिने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री दीपक बोहराले मन्त्रिपरिषद् बैठकमा गम्भीर प्रकारका तीन रोगीलाई आजीवन भत्ता दिने प्रस्ताव गरेका थिए ।

सरकारको निर्णयले मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीमा नयाँ आयाम थपेको छ । बोहोराले ऐतिहासिक निर्णय भएको भन्दै थोरै भए पनि बिरामीलाई राहत मिल्ने बताए । सरकारले ५ हजार रुपैयाँ बिरामीको जीविकोपार्जन भत्ता स्वरूप दिएको बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले मिर्गाैला, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भएका बिरामीलाई ५ हजार जीविकोपार्जन भत्ता दिने निर्णय गरेको ट्विटमार्फत सार्वजनिक गरेका थिए ।

कति लाग्छ खर्च ?
मन्त्री बोहोराका अनुसार यस वर्ष २ अर्ब रुपैयाँ तीन रोगका बिरामीको भत्ताका लागि छुट्याइएको छ । ‘बिरामीको संख्या बढ्दै जाने भएकाले सुरुवातमा २ अर्ब रुपैयाँ छुट्याइएको हो,’ बोहोराले भने । सुर्ती तथा मदिराजन्य पदार्थमा स्वास्थ्य सुरक्षा करमार्फत प्रत्येक वर्ष ११ देखि १३ अर्ब रुपैयाँसम्म उठ्ने गरेको मन्त्रालयको भनाइ छ । यस आर्थिक वर्षमा मात्रै ११ अर्ब रुपैयाँ रकम उठको छ । जसमध्ये २५ प्रतिशत अर्थात् झन्डै चार अर्ब रुपैयाँ स्वास्थ्य सुरक्षा कोषमा जम्मा भएको छ । त्यही रकमबाट भत्ता दिइने बोहोराले बताए । बिरामीले कसरी रकम पाउने भन्ने विषयमा केही दिनभित्र मन्त्रालयले निर्णय गर्ने उनले बताए ।

कति छन् बिरामी ?
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर मिर्गाैला, क्यान्सर र स्पाइनल इन्जुरीका १७ हजार बिरामी छन् । क्यान्सरका ९ हजार, मिर्गाैलाका ५ हजार ४ सय र स्पाइनल इन्जुरीका २६ सय बिरामी छन् । मन्त्री बोहराले भने, ‘मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई औषधि खरिद गर्न मासिक पाँच हजारका दरले जीविकोपार्जन भत्ता उपलब्ध गराउन आवश्यक देखियो । भत्ताबापत राज्यलाई केही आर्थिक भार नपर्ने भएकाले हामीले यो निर्णय गरेका हौँ ।’ सुर्ती तथा मदिराजन्य पदार्थमा स्वास्थ्य सुरक्षा कर लागू गरी उठेको रकमको केही अंश बिरामीलाई दिने निर्णय गरेको उनले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु