logo

bar
logo
Advertisment
SKIP THIS

सत्यवतीबाट सिक

नयाँ पत्रिका काठमाडौं, १४ पुस | पुष १४, २०७४

यसै पनि नेपाल समस्याको थुप्रोमा बसेको देश जस्तो देखिन्छ । समाज जेजे अवयवले बनेको हुन्छ, त्यहाँ जताततै समस्याको चाङ मात्र देखिन्छ । यस्ता समस्या धेरैजसो चाहिँ सरोकारवाला निकाय या समुदाय आफैँले गर्नुपर्ने काम नगरेर या गलत ढंगले गरेर सिर्जिएका छन् । कतिपय चाहिँ समयको चापसँग तालमेल मिलाएर नहिँड्दा उब्जेका छन् । पछिल्लो समय देशमा देखिने समस्यामध्येको ठूलो समस्या चाहिँ शिक्षा क्षेत्रमा छ । यसको अर्थ अरू क्षेत्रमा कम छन् भनेको होइन, तर शिक्षा क्षेत्रको समस्याले प्रत्येक परिवारको वर्तमान र भविष्य प्रभावित हुने भएकाले ठूलो भनिएको हो । प्रत्येक नागरिकसँग सरोकार राख्ने समस्या भएकाले स्वतः यो देशको पनि समस्या भयो । देशको भविष्यलाई पनि प्रभावित गर्ने यस क्षेत्रको समस्याको जडमा सामुदायिक विद्यालयको गुणस्तर रहेको छ ।

देशका सामुदायिक विद्यालयको भविष्य राम्रो बनाउन कसरी सम्भव छ भन्ने उदाहरण खोज्दै गयो भने एउटा गतिलो पाठ तनहुँको दमौलीस्थित सत्यवती माविले पढाउनेछ

पछिल्लो समय यसको गुणस्तरलाई प्रभावित गर्ने गरी गाउँगाउँको जनसांख्यिक बनोटमा परिवर्तन आएको छ । पहिले धेरै जनसंख्या हुने गाउँ बसाइ सराइका कारण पातलिँदै गएका छन् । पारिवारिक संरचनासम्बन्धी दृष्टिकोण बदलिँदै गई कम सन्तान जन्माउने उपाय अवलम्बन गरिँदा पनि विद्यालयलाई असर परेको छ । तर, धेरैजसो सहरोन्मुख गाउँ र सबैजसो सहरबजारमा रहेका सामुदायिक विद्यालयमा भने वरपर बग्रेल्ती खुलेका निजी विद्यालयको प्रभावका कारण पनि विद्यार्थी संख्या घट्दै गएर प्रभाव परेको छ । गाउँमा जनसांख्यिक बनोटमा आएको परिवर्तन र गाउँबाट निजी विद्यालयमा आफ्ना सन्तान पढाउन मात्र सहरबजार झर्ने प्रवृत्तिले विद्यार्थी संख्या कम हुँदै जाँदा विद्यालय धान्न मुस्किल परेको र कतिपय विद्यालयमा विद्यार्थी संख्याभन्दा शिक्षकको दरबन्दी र संख्या बढी भएको अवस्था पनि बनेको छ । तर, विडम्बना के छ भने ती शिक्षकले ती थोरै विद्यार्थीलाई त एकदम गुणस्तरीय पढाइ दिएर अब्बल बनाउनुपर्ने हो तर त्यस्तो हुँदैन । यसले देशभरको सामुदायिक विद्यालयको शिक्षालाई कसरी प्रभावकारी बनाउने र गुणस्तरमा प्रतिस्पर्धामार्फत निःशुल्क शिक्षा उपलब्ध गराइरहेका सामुदायिक विद्यालयको भविष्य राम्रो बनाउँदै सामाजिक न्याय स्थापनामा सहयोग गर्ने भन्ने प्रश्न उठाइदिएको छ । यस्तो गर्नु सम्भव छ भन्ने उदाहरण खोज्दै गयो भने एउटा गतिलो पाठचाहिँ तनहुँको दमौलीस्थित सत्यवती माविले पढाउनेछ ।

सत्यवती मावि दमौली बजारमा छ । वरपर कैयन् निजी विद्यालय छन् । तर, त्यहाँका अभिभावक भने सत्यवतीमा भर्ना नपाए मात्र अरू विद्यालयमा बालबालिका पढाउन बाध्य हुने अवस्थामा छन् । यो देशकै नमुना विद्यालय हो । यहाँका सबै शिक्षक कर्मचारी आफ्ना सन्तान यही विद्यालयमा पढाउँछन् । विद्यार्थीको संख्या यहाँको भौतिक संरचनाले धान्नेसम्म अधिकतम छ । देशभरका अरू निजी तथा सामुदायिक विद्यालयसँग यसले परीक्षाको नतिजामा प्रतिस्पर्धा गर्न सकेको छ । गुणस्तरका दृष्टिले उच्च छ । यो सामुदायिक विद्यालयले बताउने कुरा के हो भने जुन–जुन विद्यालय निजी स्कुलसँग प्रतिस्पर्धा गर्न सकिएन भनेर थोरै विद्यार्थी लिएर बसेका या बन्द हुने अवस्थामा पुगेका छन्, त्यहाँका अभिभावक र शिक्षक नै यसमा दोषी छन् । राम्रो गर्ने हो भने विद्यार्थीको खाँचो हुँदैन भन्ने पाठ यसबाट सिक्न सकियो भने देशले गुणस्तरीय शिक्षा हरेक बालबालिकाको अधिकारका रूपमा लागू गर्न र कक्षा १२ सम्मको शिक्षा निःशुल्क उपलब्ध गराउन सक्छ । सत्यवतीबाट सिक । सामुदायिक विद्यालयबाट दिइने शिक्षामा रहेको समस्या आफैँ हल भएर जान्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु