logo

bar

हेलिकोप्टरबाट हुम्लामा एस्काभेटर पुर्‍याइयाे

नरजन तामाङ/नयाँ पत्रिका हुम्ला, १४ पुस | पुष १४, २०७४

सल्लीसल्ला–छारे सडक निर्माणका लागि नेपाली सेनाको हेलिकोप्टरबाट एस्काभेटर हुम्ला सदरमुकाम सिमकोट पुर्‍याइएको छ । सेनाको हेलिकोप्टरले मंगलबार एस्काभेटरलाई सडक निर्माणस्थलमा पुर्‍याएको हो । एस्काभेटर पुगेसँगै सडक निर्माण सुरु भएको छ । नेपाली सेनाको हेलिकोप्टरले मुगुबाट एस्काभेटर सिमकोट लगेको हो ।

एस्काभेटर सल्लीसल्ला पुगेसँगै सडक निर्माण सुरु गरेको सडक निर्माणको जिम्मा लिएको सपना निर्माण कम्पनी धुलिखेल जेबीका प्रतिनिधि तेजबहादुर महतले जानकारी दिए । सल्लीसल्लादेखि सिमकोटसम्म ४६ दशमलव ९ किलोमिटर सडक निर्माणका लागि ३५ करोड बजेट विनियोजित भएको र १५ महिनाभित्रै सडकमा सवारी साधन गुडाउन सकिने महतले बताए ।

एस्काभेटर निर्माणस्थलमा पुगेसँगै सडक निर्माण सुरु गरेको हिल्सा सडक आयोजनाका सबइन्जिनियर वीरेन्द्र शाहीले बताए । ‘अब जतिसक्यो कामलाई चाँडो सम्पन्न गर्नेछौँ,’ उनले भने । सर्केगाड खोला र छारे पुल निर्माण सम्पन्न भए निर्धारित समयमै सडक निर्माण सकिने शाहीले बताए ।

११ किलोमिटरमा गाडी गुड्छ
सिमकोट–खार्पुुखण्डअन्तर्गत ११ किलोमिटर सडकमा सवारीसाधन चल्न थालिसकेको छ । खार्पुुनाथ–सुनखाडा खण्डको सडक निर्माणका लागि पनि टेन्डर आह्वान भइसकेको छ । उक्त सडक खण्डमा झोलुुंगे पुुल परेकाले त्यसलाई कसरी बचाएर अगाडि बढाउने छलफल भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु