logo

bar
logo
Advertisment
SKIP THIS

बेनजिर भुट्टो हत्या अझै रहस्यमय

एजेन्सी इस्लामबाद, १३ पुस | पुष १३, २०७४

पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोको हत्या भएको १० वर्ष बितेको छ । एक दशक बित्दा पनि भुट्टोे हत्या अझै रहस्यमय बनेको छ । भुट्टोको हत्या सन् २००७ को डिसेम्बर २७ मा बिलाल नाम गरेका एक आत्मघाती आक्रमणकारीले गरेका थिए । रावलपिन्डीमा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गरेर गाडीमा चढ्ने वेलामा भएको विस्फोटमा भुट्टोको हत्या भएको थियो । हत्यामा पाकिस्तानी तालिवानीको संलग्नता रहेको अनुमान गरिएको छ ।

राजनीतिक वंश
बेनजिर भुट्टो पाकिस्तानमा पहिलोपटक प्रजातान्त्रिक ढंगले निर्वाचित तत्कालीन प्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी छोरी हुन् । सैनिक जनरल जिया उल हकले जुल्फिकरलाई फाँसी दिएपछि बेनजिर भुट्टोले पिताको राजनीतिक विरासत थामेकी थिइन् । बेनजिर भुट्टो सन् १९९० को दशकमा दुईपटक प्रधानमन्त्री भइन् तर सेनाले भ्रष्टाचारलगायतका आरोप लगाएर शक्तिबाट च्युत गरेको थियो । तेस्रोपटक प्रधानमन्त्री बन्ने योजनामा रहेकै वेला उनको हत्या भएको थियो । उनको हत्याले पाकिस्तानमा चौतर्फी रूपमा अस्थिरता निम्त्याएको थियो । हत्यापछि भुट्टो समर्थकहरूले हप्तौँ लामो सडक प्रदर्शन गरेका थिए ।

मुसर्रफको संलग्नता ?
भुट्टोको हत्यामा पाकिस्तानका पूर्वसैनिक शासक जनरल पर्भेज मुसर्रफको संलग्नता रहेको आरोप लाग्दै आएको छ । मुसर्रफमाथि आपराधिक षड्यन्त्र गरेको र भुट्टोलाई पर्याप्त सुरक्षा प्रदान गर्न नसकेको आरोप लागेको छ । ८ वर्ष लामो निर्वासन सकिनुभन्दा तीन साताअघि मुसर्रफको भुट्टोसँग टेलिफोन वार्ता भएको थियो । फोनमा भुट्टोलाई मुसर्रफले धम्की दिएका थिए । ‘मुसर्रफले मलाई स्वदेश नफर्किन चेतावनी दिएका थिए,’ भुट्टोका सहयोगी मार्क सिगल भन्छन् । संवादमा भुट्टोमाथि अप्रिय घटना भएमा त्यसको जिम्मेवारी आफैँले लिनुपर्ने मुसर्रफले चेतावनी दिएका थिए । सोही विषयलाई लिएर मुसर्रफमाथि अदालतमा मुद्दा चलिरहेको छ । भुट्टोसँग कुनै वार्ता नभएको मुसर्रफले बताउँदै आएका छन् ।

को हुन् बेनजिर भुट्टो ?
पाकिस्तानको राजनीतिको महत्वपूर्ण पात्र भुट्टो सन् १९८८ देखि १९९० र सन् १९९३ देखि सन् १९९६ सम्म प्रधानमन्त्री बनेकी थिइन् । आकर्षक अनुहारकी धनी भुट्टोले पुरुषप्रधान पाकिस्तानी राजनीतिमा आफूलाई एक सशक्त महिलाको रूपमा उभ्याएकी थिइन् । दोस्रोपटक शक्तिबाट च्युत भएपछि उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । आरोपपछि सन् १९९९ मा निर्वासनमा रहेकी उनी २००७ मा स्वदेश फर्किएकी थिइन् । तत्कालीन राष्ट्रपति मुसर्रफले क्षमा दिएपछि उनी स्वदेश फर्किएकी थिइन् । सन् २००८ मा हुन लागेको आमनिर्वाचनमा सहभागी हुने योजनाका साथ उनी स्वदेश फर्किएकी थिइन् । तर, उनी स्वदेश फर्किएकै दिन लडाकुले गरेको विस्फोटमा एक सय ५० भन्दा बढीको मृत्यु भएको थियो । सो हमलामा बच्न सफल भए पनि दुई महिनापछि भएको अर्को आत्मघाती हमलामा भुट्टो मारिएकी थिइन् ।

जर्दारीको संगठित अपराध !
बेनजिरको भुट्टोको हत्यामा उनकै श्रीमान् तथा पाकिस्तानका पूर्वराष्ट्रपति असिफ जर्दारीको संलग्नता रहेको समेत आरोप लागेको छ । केही मानिसले जर्दारीले नै संगठित रूपमा अपराध गरेको आरोप लगाउँदै आएका छन् । भुट्टोको मृत्युपछि सबैभन्दा बढी राजनीतिक लाभ जर्दारीले प्राप्त गरेका छन् । पत्नीको हत्यामा उनले षड्यन्त्र गरेको अहिलेसम्म प्रमाण भेटिएको छैन । आफ्नो चरित्रहत्याको प्रयास भएको जर्दारीले गुनासो गर्दै आएका छन् । ‘मेरो चरित्रहत्या गर्ने षड्यन्त्रकारीले ममाथि झुटा आरोप लगाएका छन्,’ जर्दारी भन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु